भेरी अस्पताललाई बीमा बोर्डको पत्रः असोजसम्म बिमितलाई प्रथम र रिफरल सेवा दिनु

    • स्वास्थ्य पेज

  • ३२ असार २०८२, बुधबार

नेपालगन्जः नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले भेरी अस्पताल नेपालगन्ज प्रथम सेवा विन्दु र रिफरल सेन्टर दुवै सेवा दिन भनेको छ । यसअघि बोर्डले भेरी अस्पताललाई बीमा कार्यक्रममा आवद्ध भएका बिरामीलाई रिफरल सेन्टरको रुपमा सेवा दिन सूचि जारी गरेको थियो ।

भेरी अस्पतालसँगै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, फत्तेवाल आँखा अस्पताल फुलटेक्रा र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई बीमा बोर्डले प्रेषण अस्पतालका रुपमा कायम गरेको थियो । बोर्डको यो निर्णयसँगै बुधवार भेरी अस्पतालले सूचना जारी गर्दै प्रथम सेवा विन्दुबाट पूर्जा लिएर आएका बिरामीहरुलाई मात्रै उपचार सेवा प्रवाह गर्ने जनाएको थियो ।

तर बीमा बोर्डको यो निर्णयले बिमित बिरामीहरुले उपचार लिन सकस खेप्नु पर्ने अवस्था आएपछि बोर्डले तत्कालका लागि निर्णय सच्याउँदै असोज महिनासम्म पुर्ववतः अवस्थामै सेवा प्रवाह गर्न भनेको हो । बीमा बोर्डले बाँकेमा प्रथम सेवा विन्दुका रुपमा नगर अस्पताल कोहलपुर, लक्ष्मणपुर प्राथमिकता स्वास्थ्य केन्द्र नरैनापुर, खजुरा प्राथमिकता स्वास्थ्य केन्द्र र बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रलाई तोकेको छ ।

बिमित बिरामीहरुले पहिलो चरणमा प्रथम सेवा विन्दुबाटै सेवा लिनु पर्ने गरि सूचि बोर्डले सार्वजनिक गरेको थियो । वोर्डको यो निर्णयले नेपालगन्जका बिमित नागरिकहरुले प्रथम सेवा विन्दुबाट सेवा लिन कोहलपुर, खजुरा कि त नरैनापुर जानुपर्ने अवस्था देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रपछि बीमा बोर्डको प्रथम सेवा विन्दुको बैकल्पिक व्यवस्था नभएसम्म असोज महिनाको मसान्तसम्म भेरीबाटै प्रथम सेवा विन्दु र रिफरल सेन्टर दुवै सेवा दिन पत्र पठाएको भेरी अस्पतालले जनाएको छ ।

  • ३२ असार २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech