नेपालगन्जः स्वास्थ्य कार्यालय बाँकेले खोपबाट बचाउन सकिने रोग पहिचान, निदान र उपचारका लागि बालरोग विशेषज्ञ र फिजिसियन चिकित्सकहरुसँग अभिमुखीकरण कार्यक्रम गरेको छ ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत् खोपहरुबाट बचाउन सकिने रोगहरुको खोजपड्ताल, नमुना संकलन र ढुवानीलाई प्रभावकारी गराउन पनि अभिमुखीकरण गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।
‘खोपको अवस्था थाहा हुन खोजपड्ताल अत्यन्तै महत्वपूर्ण छ उनले भने–‘यसले रोगको पहिचान, निदान र उपचारमा पनि सहजता मिल्ने विश्वास छ ।’ विश्व स्वास्थ्य संगठनका डा.प्रस्तुती शर्माले विषयवस्तु सम्वन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले खोपसँग सम्बन्धित रोगहरुको पहिचान गर्नु अत्यन्तै जरुरी रहेको बताइन् । उनले त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने विश्वास दिलाइन् । भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्डेन्डेन्ट डा.निराजन सुवेदीले खोपप्रतिको अविश्वास र गलत सूचनाका कारण खोप अभियान प्रभावकारी हुन नसकेको बताए ।
उनले खोपबाट बचाउन सकिने रोगहरु निवारणका लागि खोपको विकल्प नभएको बताए । भेरी अस्पतालकै प्रमुख कन्सल्टेन्ट फिजिसियन समेत रहेका मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डेले चिकित्सकहरुलाई क्लिनिकल र जनस्वास्थ्यका बारेमा ज्ञान हुन जरुरी रहेको बताए । उनले चिकित्सकहरुलाई खोप सम्वन्धी रोगका बारेमा ज्ञान हुनुपर्ने बताए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पाण्डेको अध्यक्षतामा भएको अभिमुखीकरणमा भेरी अस्पताल, मेडिकल कलेज र प्राइभेट सेक्टरका ८ अस्पतालको ३० जना बालरोग बिषेशज्ञ र कन्सल्टेन्ट फिजिसियन चिकित्सकहरुको सहभागितामा रहेको थियो ।