लुम्बिनी प्रादेशिक अस्पतालमा आकस्मिक कक्षको सेवा विस्तार गरिँदै

    • स्वास्थ्य पेज

  • २७ असार २०८२, शुक्रबार

बुटवलः लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आकस्मिक कक्षको सेवा विस्तार गरिने भएको छ । मेडिसिन वेडको संख्या बढाएर आकस्मिक सेवाको क्षमता दोब्बरले वृद्धि गर्ने तयारी भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए।

आकस्मिक सेवाका लागि आउने सेवाग्राहीको संख्या अत्यधिक भएकाले त्यसको चाप व्यवस्थापन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए। आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी थप ४५ वटा मेडिसिन बेडका लागि ट्रस्ट निर्माण, पाटेसन, शौचालय, रङ्गरोगनलगायत संरचनागत सुधार तीव्र गतिमा भइरहेको डा ढकालले जानकारी दिए। आकस्मिक कक्ष रहेको भवनमा अहिले इन्टेरियरको काम भइरहेको छ।

हाल अस्पतालमा ६० वटा आकस्मिक बेड र ४५ वटा मेडिसिन बेड छन्। आकस्मिक विभाग प्रमुख डा सुनिलकुमार सुनारका अनुसार दैनिक १५० देखि २ सय जना बिरामी आकस्मिक सेवाका लागि अस्पतालमा आउने गर्दछन्। तीमध्ये ७० प्रतिशतभन्दा बढी बिरामीलाई मेडिसिन वार्डमा राखेर उपचार गर्नु पर्ने खालका हुने गरेको उनले बताए।

मेडिसिन वार्डमा बेडको संख्या थोरै भएकाले आकस्मिक कक्षमै एउटा बेडमा दुईदेखि तीनजनासम्म राखेर सेवा दिनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे। मेडिसिन बेड थपिएपछि बिरामीले भूँईमा बसेर उपचार लिनुपर्ने अवस्था अन्त्य हुने आशा गरिएको छ।

अस्पतालमा आकस्मिक सेवा तीन रंगमा वर्गीकृत गरिएको छ। तत्काल उपचार आवश्यक पर्ने बिरामीलाई ‘रेड जोन’ मा, मध्यम खालका बिरामीलाई ‘ग्रीन जोन’ मा र सामान्य अवस्था भएका बिरामीलाई ‘एल्लो जोन’ मा राखिने गरिएको छ। केही दिनको उपचार आवश्यक पर्ने बिरामीलाई भने मेडिसिन वार्डमा सारिने गरिन्छ।

  • २७ असार २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech