के हो ? प्रि–मेन्सुरल सिन्ड्रोम ?

    • डा. बालकृष्ण साह

  • २५ असार २०८२, बुधबार

महिनावारी सुरु हुनुभन्दा केही दिन अगाडिदेखि नै केही किशोरीहरूलाई रिस उठ्ने, पेट दुख्ने, निद्रा नलाग्ने वा मन शान्त नहुनेजस्ता समस्याहरू आउँछन् । धेरैजसो यस्ता अवस्था सामान्य रूपमा ‘मुड अफ छ’ भनेर बेवास्ता गरिन्छ । वा अब महिनावारी हुनका लागि यस्तो भएको हो भनेर लिने गरिन्छ । यसलाई प्रि–मेन्सुरल सिन्ड्रोम (पीएमएस) भन्ने गरिन्छ । यसलाई शारीरिक परिवर्तन वा प्रक्रियासँग जोडिएको शारीरिक–मनोवैज्ञानिक समस्याका रूपमा लिन सकिन्छ । सामान्यतया महिनावारी सुरु हुनुभन्दा ५–६ दिन अगाडिदेखि केही शारीरिक, मानसिक र व्यावहारिक लक्षणहरू देखिन्छन्, जुन महिनावारी सुरु भएसँगै हराउन थाल्छ । यो विशेषगरी प्रजनन उमेरका महिला तथा किशोरीहरूमा देखिने समस्या हो, जुन हार्मोनका उतारचढावसँग जोडिएको हुन्छ ।

सामान्यता एकाग्रता हुन नसक्ने, रिस उठ्ने, चिडचिडापन हुने जस्ता मानसिक परिवर्तन हुने हुन्छ । यस अवस्थामा चिन्ता, तनाव, आत्मग्लानी हुने तथा एक्लोपन महसुसजस्ता परिवर्तन आउने हुन्छ । त्यस्तै स्तन दुख्ने, पेट दुख्ने, कब्जियत हुने, पेट फुलेको जस्तो हुने, खान मन नलाग्ने समस्याहरू देखिन सक्छ । कसैकसैलाई टाउको वा कम्मर दुख्ने, थकान महसुस हुने, निद्रा नलाग्नेजस्ता समस्या पनि देखा पर्न सक्छ ।

यस्ता समस्याहरूबाट अधिकांश किशोरीहरू पीडित रहेको अध्ययनहरूले देखाएको छ । काठमाडौंका केही विद्यालयहरूमा अध्ययनरत ११ वर्षदेखि १६ वर्षसम्मका छात्राहरूमा प्रतिमा मानन्धर र लिजना न्यौपानेले गरिएको यससम्बन्धी एक अध्ययन गरेका थिए । सन् २०२२ मा १ सय ५० जना किशोरीमा गरिएको सो अध्ययनले १ सय ५० मध्ये ८४ प्रतिशतले प्रि–मेन्सुरल सिन्ड्रोम (पीएमएस) का लक्षणहरू अनुभव गरेको बताएका थिए । तीमध्ये झन्डै २४ प्रतिशतमा गम्भीर, र ५ प्रतिशतभन्दा बढीमा अत्यन्त गम्भीर लक्षण देखिएको थियो । त्यस्तै, मोरङ जिल्लामा १३–१९ वर्षका किशोरीमाथि गरिएको अर्को अध्ययनले ५७.७ प्रतिशतमा प्रि–मेन्सुरल सिन्ड्रोम (पीएमएस) को लक्षण देखिएको पाइएको देखायो । यस अध्ययनले अनुसार ९० प्रतिशतभन्दा बढी किशोरीलाई पीएमएस के हो भन्नेसमेत थाहा नभएको देखायो ।

स्वास्थ्यका विद्यार्थीहरू समेतले पीएमएसको समस्याबाट पीडित रहेको अध्ययनहरूले देखाएको छ । सन् २०१९ को अप्रिलदेखि जुनसम्ममा तीन महिना लगाएर कलेज अफ मेडिसिन एन्ड कलेज अफ नर्सिङ अफ नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्समा गरिएको एक अध्ययनले ७२ दशमलव ३ प्रतिशत छात्राहरूले पीएमएस महसुस गरेको पुष्टि गरेको छ । समाजले अझै पनि महिनावारीजस्ता विषयहरू लाज मान्ने र लुकाउने विषय ठानिरहँदा, यसले किशोरीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गहिरो असर पारिरहेको अध्ययनहरूबाट स्पष्ट भएको छ ।

अहिलेसम्मको अध्ययनले पीएमएस किन हुन्छ भन्नेमा एक मत छैन । तर केही तथ्यहरू चाहिँ छन् । यसमा मुख्यतया हर्मोनहरूको उतारचढाव वा असन्तुलन नै प्रमुख मानिन्छ । महिनावारी चक्रको दोस्रो चरणमा इस्ट्रोजेन र प्रोजेस्टेरोन नामका दुई प्रमुख हार्मोनहरूमा ठूलो उतारचढाव हुन्छ । यी हार्मोनहरू शरीरको मात्र होइन, मस्तिष्कमा हुने न्युरो–केमिकल परिवर्तनहरूमा पनि प्रभाव पार्छन् । विशेष गरेर सेरोटोनिननामक न्युरोट्रान्समिटरमा असर गर्दा मुड, निद्रा, भोक, रिस आदि नियन्त्रित हुन गाह्रो हुन्छ । सेरोटोनिन कम हुँदा मानिसहरूमा उदासीनता तथा चिडचिडापन बढ्ने, थकान महसुस हुने, निद्रा नलाग्ने वा अत्यधिक लाग्ने हुन्छ । यो पीएमएसको प्रमुख लक्षण हो ।

त्यस्तै, कतिपय व्यक्तिहरूमा यो वंशानुगत पनि हुने गरेको पाइएको छ । यदि आमा वा दिदीबहिनीमा पीएमएस थियो भने अर्को पुस्तामा पनि हुने सम्भावना बढी हुन्छ । अध्ययनहरूले पीएमएस हुनुमा जीवनशैली र खानपानको भूमिका पनि औंल्याएका छन् । अत्यधिक नुन, चिनी, क्याफिन, वा जंक फुड सेवनले लक्षणहरू झन तीव्र बनाएको देखाएको छ । नियमित व्यायामको अभाव, अस्वस्थ निद्रा चक्र वा तनावपूर्ण जीवनशैलीले पनि हार्मोन असन्तुलन पनि बढाउँछ । पहिलेदेखि नै मानसिक समस्यामा रहेका किशोरीहरूमा यसले अझ बढी पिरोल्ने हुन्छ ।

पीएमएस हुँदैमा आत्तिनु पर्दैन । सामान्यतयाः दैनिक १५ देखि ३० मिनेट नियमित व्यायाम गर्ने तथा खानपिनमा ध्यान पुर्‍याउन सके समस्या कम हुने देखिएको छ । फलफूल तथा फाइबरयुक्त खानेकुरा बढी खाने, चिनी तथा नुन कम खाने, क्याफिन तथा जंक फुड नखाने गर्नाले पीएमएसको जोखिम घट्ने हुन्छ । त्यस्तै आराम तथा सुत्ने समय नियमित बनाउनु पर्छ । यस्तो समस्या भएमा अभिभावक, शिक्षक तथा साथीहरूसँग सेयर गर्ने र सहयोगको वातावरण बनाउनु जरुरी हुन्छ । यो ‘लाज वा डरको कुरा’ होइन, स्वाभाविक र सामान्य अवस्था हो भन्ने बुझाउनु पर्छ । दुखाइ धेरै भए तातो रबर ब्यागले सेक्ने, झोल कुरा बढी सेवन गर्ने तथा केही दुखाइ कम गर्ने औषधिहरू पनि खान सकिन्छ । तर यसैको कारण विद्यालय जान नसक्ने, गम्भीर मानसिक असन्तुलन भए वा डिप्रेसन भए, चिकित्सकको परामर्श लिन आवश्यक हुन्छ । अझै पनि ‘१० किशोरीमध्ये ८ जना पीएमएसबाट प्रभावित छन् । बोल्न नसकेर होइन, बुझ्न नसकेर चुप छन् ।’ उनीहरूका लागि खुल्ला संवाद, सहज वातावरण र सचेतना संवाहक हुन सक्छ ।

  • २५ असार २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech