क्यान्सर र मृत्युदण्डबीचको समानताले जीवनको कठोर यथार्थ छर्लङ्ग पार्छ । अन्तिम दिनको पर्खाइमा छट्पटाउनु, सारा सपना र इच्छाहरूलाई थाती राखेर मृत्युको घडी गन्नु कति पीडादायी होला ! यो त एउटा अनन्त मुद्दा लडेजस्तै हो, जहाँ हार-जितको पत्तो नभए पनि लडिरहनुपर्छ । जब अदालतले मृत्युदण्ड सुनाउँछ, तब वकीलहरूले पनि साथ छोडेझैँ क्यान्सरको यात्रामा पनि एक्लोपनले घेर्दै जाँदोरहेछ ।
जीवन आफैँमा एउटा नाटक रहेछ, जहाँ सुख, दुःख, हाँसो, आँसु र अनगिन्ती दृश्यहरू समय र परिस्थितिले बिस्तारै बदलिँदै जाँदारहेछन् । हरेक पात्रले आफ्नो भूमिका निभाउँदै जानुपर्ने रहेछ, र नियतिले पहिले नै लेखिदिएको आफ्नो भाग खेल्नुबाहेक अरू कुनै विकल्प नरहने रहेछ ।
देशका लागि बाँच्न चाहने, तर मृत्यु कुरिरहेका हामी
देशका लागि रगत बगाउने इच्छा नभएको होइन, तर के गर्नु… मलाई ब्लड क्यान्सर जो छ ! जसको रगत नै कम छ, उसले कति नै रगत बगाउन सक्ला र ? म त यो देशका लागि बाँच्न चाहन्छु, तर विडम्बना ! यो देशलाई हामी मरेकोमा फाइदा छ ! आखिर, मर्न त सबैलाई पर्छ । फरक यत्ति हो, मलाई मेरो मृत्युको ज्ञान छ, तपाईंलाई छैन । म त मेरो मृत्युलाई गोजीमा बोकेर पनि समाजका लागि लडिरहेको छु, तर तपाईंको गोजीमा सपनाहरू छन् र तिनै सपना पूरा गर्न तपाईं लडिरहनुभएको छ ।
केही वर्षअघि पण्डित राजमनीले भनेको कुरा आज पनि झल्झली याद आउँछ- ‘जीवनको रहस्य मृत्युको ज्ञानमा निहित छ ।’ आज आएर मैले यसको गहिरो अर्थ बुझ्ने मौका पाएँ । जब मलाई मृत्युको ज्ञान भयो, तबदेखि नै मैले जीवनलाई बुझ्न थालेको छु ।
मेरो परिवारको पीडा
एकातिर मेरो डाक्टरले मलाई तरकारी र फलफूल धेरै खानु भन्छन्, तर अर्कोतिर बिखले भरिएको मेरो शरीरलाई विदेशबाट आएका विषादीयुक्त खाद्य पदार्थ खान बाध्य बनाएको छु । कहिलेकाहीँ लाग्छ, यदि फलामले फलामलाई काट्छ भने, विषले नै विषलाई हटाउने त होइन ? यहाँभन्दा बढी कसरी म सकारात्मक सोचूँ ? मेरो स्वास्थ्यमन्त्रीले रोग लागेपछि उपचार सित्तैमा गरिदिन्छु भन्छन्, तर रोग नलाग्ने वातावरण सृजना गर्न कहिल्यै प्रतिज्ञा गरेको सुनेको छैन ।
मैले बाँकी जीवन जिउनको लागि सास फेर्न आवश्यक पर्ने हावा प्रदूषित छ, मैले औषधि खान प्रयोग गर्ने पानी शुद्ध छैन, कमजोर म हिँड्ने बाटोहरू खाडलै खाडलले भरिएका छन् । तैपनि, मैले बाँच्न भुलेको छैन । तर यो समाज र सरकार हाम्रो अस्तित्व स्वीकार गर्न तयार छैनन् ।
उनीहरूलाई हामी बाँच्नुभन्दा मर्नुमा फाइदा छ ।
यस्तो लाग्छ म मारिनकै लागि बाँचिरहेको छु ।
तर मेरी आमा, जसको माया मबाट कहिल्यै टाढिएको छैन । ओरल कीमोथेरेपी लिँदा मलाई बान्ता आउँछ, र आमाले आफ्नै पीडाभन्दा बढी मेरो पीडालाई महत्त्व दिनुहुन्छ । म खोकेकै भरमा, ‘तैँले बान्ता गरिस् ?’ भन्दै चिन्ताले दौडँदै कोठामा आउनुहुन्छ । उहाँको आँखा सधैं मेरो अनुहारमा गाडिएको हुन्छ- शायद उहाँको मनभित्र अनगिन्ती प्रश्नहरूले उहाँको हृदय भारी बनाइरहेको छ होला ।
बुवाको मायामा पनि कमी छैन होला । तर उहाँ त्यो माया, त्यो चिन्ता बाहिर देखाउन चाहनुहुन्न । उहाँको मौन व्यवहारमै त्यो चिन्ताको गहिराइ लुकेको हुन्छ । व्यवहारले नै त्यो कुरा प्रस्ट देखिन्छ ।
राज्यको निर्मम उपेक्षा : रोगले भन्दा सरकारले मार्दैछ
तर, सबैभन्दा ठूलो पीडा त तब हुन्छ, जब मैले खाने औषधि र म जाने अस्पतालको नाममा समेत कमिसन खाइन्छ यहाँ ! मैले आवाज नउठाएको होइन, तर के गर्ने…, मेरो आवाज यो चर्को समाजमा मधुरो भयो, कसैले सुनेनन् । म र म जस्ता थुप्रै बिरामीहरू रोगले भन्दा पनि सरकारको गैरजिम्मेवार रवैयाले मरेका छन् । सरकारले महिनाको ४ हजार बिरामी भत्ता दिन्छु भनेको आशामा पौष्टिक आहार र फलफूल खाएर तन्दुरुस्त हुने सपना देखेका ती बिरामीहरू मैले देखेको छु । उनीहरू त्यो भत्ता आउने आशा गर्दागर्दै संसारबाट बिदा लिन बाध्य भएका छन् । मजस्ता थुप्रै बिरामीको आशा र भरोसा बेचेर खाएको छ मेरो सरकारले । सोच्नुहोस् त, यदि तपाईं वा तपाईंको परिवारको सदस्य क्यान्सर रोगबाट पीडित हुनुहुन्छ र उहाँ केही समयमात्र बाँच्न सक्नुहुन्छ भने, तपाईंलाई कस्तो महसूस हुन्छ ? के तपाईं उहाँ बाँचेको जति समय खुसी देख्न चाहनुहुन्न ? के तपाईं उहाँलाई केही महिना वा केही वर्ष बढी बचाउन चाहनुहुन्न ? तर, हाम्रो सरकारले क्यान्सर बिरामीलाई सुखको अनुभूति दिन पनि सकेको छैन ।
अमेरिकी संस्था म्याक्स फाउन्डेसनले निःशुल्क क्यान्सरको औषधि उपलब्ध गराउँछ । तर, विडम्बना ! स्वास्थ्य मन्त्रालयले निःशुल्क औषधि लिने प्रक्रियालाई पनि सहज बनाएको छैन । यी औषधि पाटन र भरतपुर क्यान्सर अस्पतालमा मात्र पाइन्छन् । कर्णालीको अनकन्टार ठाउँबाट कोही बिरामी औषधि लिन त्यहाँसम्म कसरी आउन सक्छ ? औषधि लिनका लागि आवश्यक रगत जाँच (जसको खर्च वर्षमा ५० हजारसम्म पुग्छ) समेत सरकारले निःशुल्क गरेको छैन । CML भएका बिरामीले वर्षको एक चोटि ७,००० लाग्ने BCR-ABL टेस्ट गर्नुपर्छ, जुन सबै ठाउँमा उपलब्ध पनि छैन । एउटा गरिबले यत्रो रकम कसरी तिर्छ ? केही हदसम्म पनि स्वास्थ्य बीमाले सहयोग गरे पनि स्वास्थ्य बीमा प्रयोग गर्ने प्रक्रिया यति झन्झटिलो छ कि एउटा कमजोर बिरामी झन् कमजोर हुन्छ । तन्दुरुस्त नेपाली नागरिकलाई गैर-नागरिक बनाई अमेरिका बेच्ने हरू, भिजिट भिसामा पैसा खाएर देश छोड्न बाध्य बनाउनेहरूलाई हामी जस्तो दुई दिनको पाहुनाको सपना बेच्न के नै गाह्रो होला र ?
अस्पतालको रवैया
चार महिनामा एकचोटि औषधि लिनुअघि अनिवार्य ब्लड टेस्ट गर्नुपर्ने नियम छ । तर बीमा कम्पनीको नियमले वर्षमा केवल दुईपटक मात्र ती परीक्षणहरूमा बीमा प्रयोग गर्न मिल्छ । बिरामीले स्वास्थ्यको चिन्ताभन्दा बढी प्रशासनिक झन्झटको पीडा भोग्नुपर्छ । यस्तो सास्ती खेपेर अस्पताल जानुपर्ने बाध्यता आउँदा कहिलेकाहीँ त लाग्छ म उपचार खोज्न होइन, सजाय भोग्न प्रहरी चौकीमा पुगेजस्तो महसूस हुन्छ । कर्मचारीहरूको व्यवहार पनि त्यस्तै कठोर र संवेदनाहीन लाग्छ, जस्तो मैले कुनै अपराध गरेको छु ।
चितवनको गर्मीमा जब अस्पताल प्रवेश गर्छु, सास फेर्नै गाह्रो लाग्छ । आधाभन्दा बढी पंखा चल्दैनन् । जुन पंखा चलेका छन्, तिनको मुनि बस्नको लागि मानौं युद्ध नै गर्नुपर्छ । कहिलेकाहीँ त ती पंखाबाट आएको अलिकति हावामै आश लागेर बस्छु, तर केहीबेरमै बत्ती जान्छ, अनि फेरि त्यो पंखा पनि बन्द । घडी हेर्दै बस्छु, कहिले फर्किन्छ बत्ती भनेर । तर आश रहिरहन्छ तर बत्ती आउँदैन । अस्पताल प्रशासनको अफिसमा भने ठण्डा एसी चलिरहेको देख्दा मन कुँढिन्छ । लाग्छ- मेरो समाजमा बिरामीको सास सस्तो र अस्पतालमा काम गर्ने कर्मचारीको सास महँगो छ ।
अस्पतालभित्र जताततै नाङ्गा तार, खुला प्लग, फुटेका झ्यालका सिसाहरू । हरेक कुनामा बेवास्ताहरु मात्र भेटिन्छन् । अस्पतालको ट्वाइलेटको अबस्था हेर्दा दिशापिसाब नलागोस् भनेर भगवानसँग प्रार्थना गर्न मन लाग्छ ।
यी सबै कुरा मैले सुनेको भरमा लेखेको होइन, मैले आफैँले देखेको, भोगेको, भित्रभित्रै सहेर सहन नसकेको यथार्थ हो । म क्यान्सरको बिरामी हुँ । र, यो सबै पीडा मेरो जीवनको हिस्सा बनिसकेको छ ।
बिरामीहरूसँग बस्न कुर्सी छैन । कतिपय भुइँमा लम्पसार परेका छन्, कतै शिथिल शरीर, कतै आशाका भाँचिएका टुक्रा । यी दृश्य हेर्दा कहिलेकाहीँ लाग्छ- शायद हामी सबै बीमारीहरूले अघिल्लो जन्ममा कुनै ठूलो पाप गरेको हुनुपर्छ, त्यसैले आज हामी पीडाको यस्तो कठघरामा उभिइन बाध्य भएका छौँ ।
न पिउने पानीको व्यवस्था छ न त मोबाइल चार्ज गर्ने ठाउँ । अस्पताल भन्नाले त जहाँको वातावरण, सेवा, र व्यवहारले बिरामीको आधा पीडा नै हराओस् भन्ने लाग्थ्यो । तर जसरी हामीलाई शासनसँगै सास्ती पनि छ । यहाँ उपचारसँगै अपमान, पीडासँगै अनाचारको प्याकेज पाइन्छ । बिरामीहरूलाई लाचार बनाउने एक किसिमको सस्तो चक्र चलिरहेको छ ।
भोकै बिरामी बसिरहेका हुन्छन् । तर अस्पतालका कर्मचारीहरू भने लन्च ब्रेकलाई विशेषाधिकारसरह प्रयोग गर्छन् । लन्च १ बजे सुरु हुन्छ, तर १२ः५० मै हराउँछन् र २ः१० मा फर्किन्छन् । यो लन्च होइन, बिरामीका छायामाथि परिरहेको अर्को छायाँ हो जो सहनुपरेको छ, चुपचाप । हरेक दिन मैले अस्पतालमा क्यान्सरले भन्दा पनि सरकारले दिएको यातना र दुःखले बिरामी मरेको देखेको छु ।
अन्धकारमा डुबेको समाज, टुट्दै गरेका सपना
यो कलियुग हो । यहाँ राम्रा मान्छे धेरै समय टिक्न सक्दैनन् । यो अस्थिर समाज असल व्यक्ति सुहाउँदो छैन । तर पनि, यो समाज र राज्यलाई गति दिन असल व्यक्तिको आवश्यकता छ । कहिलेकाहीँ त लाग्छ, म जस्तो व्यक्ति यो समाजका लागि बनेकै होइन, किनकि यो समाज इमानदारितामैत्री छैन । र पनि, मलाई आफ्नो इमानदारिताप्रति खेद छैन र हुँदैन पनि । विकृति र विसंगतिले भित्रभित्र फाटेको समाजमा नफाट्नका लागि ‘ब्रान्ड’को ट्याग भएकै जुत्ता लगाउनुपर्छ, चाहे त्यो बलियो होस् या कमसल । यहाँ उचाल्ने र पछार्नेको भीड छ । मेरो मात्रै कथा कहाँ हो र ? यहाँ हरेक नेपालीका आफ्ना आफ्नै कथाहरू छन् ।
श्रीमानको कमाइले नयाँ फरिया, चोलो र सिन्दूर लगाएर माइत जाने आशामा बसेकी श्रीमतीको सिन्दूर अहिले पनि पुछिएकै छ । छोराले कमाएको पैसाले एउटा बुलाकी लगाएर राम्री बुहारी भित्र्याउँदा आँगनमा धुलो उडाउँदै रत्यौली खेलुँला भन्ने आमाहरू छोराको लास हेरेर कुनामा भक्कानो छोडी रोइरहेका छन् । छोराले पैसा कमाएर ल्याएपछि फाटेको इस्टकोटको सट्टा नयाँ कोट लगाएर कान्छो छोराको बिहे धूमधामसँग गर्ने रहर पूरा नहुँदै कयौँ बुढा बा छोराको मलामी गइरहेका छन् ।
दाइले जुत्ता ल्याएपछि चप्पल लगाउनुपर्दैन भन्ने आशामा बसेको भाइ, तिहारमा टीका लगाएर उपहारको प्रतीक्षामा बसेकी बहिनी, साथी फर्केर आएपछि घुम्न जाने आशामा बसेका बालसखाहरूको सपना बाकसभरि उपहारको सट्टा बाकसभित्र रहेको आफन्तको लास लिन एयरपोर्ट जान बाध्य भइरहेका छन् । म जस्ता बिरामीहरू सधैँ यस्तै प्रश्नमा अल्झिरहेका छौँ- ‘हामी बाँच्न खोजेको हो कि, मर्न तयार पारिएको हो ?’ मलाई थाहा छ- म र मसँगै औषधि खाएर लड्नेहरूका लागि यो समय निकै कठिन बनेको छ । म जस्तै सबैले शून्यलाई अँगाल्नुपर्नेछ । आशा छ, समाज एक दिन शून्यबाट उठ्ने छ मेरो अनुपस्थितिमा ।
संसारमा सबैथोक चलाखीले चल्न सक्छ, न्यायप्रणाली झुकाउन सकिन्छ, कानून पैसा र पहुँचले किन्न सकिन्छ, दोषीहरू निर्दोष बनाइएका उदाहरण असंख्य छन् । तर एक शक्ति यस्तो छ, जहाँ कुनै चलाखी चल्दैन, कुनै पहुँच काम लाग्दैन, र कुनै पैसा चल्दैन । त्यो हो- विष्णु पञ्चायत !
सबैले कर्महरूको लेखाजोखा भगवान् विष्णुको अदालतमा दिनुपर्छ । त्यो अदालतमा न त वकिल हुन्छ, न साक्षी झूठ बोल्न सक्छन्, न त पेशी सर्न नै मिल्छ ! कज लिस्ट निस्केपछि न पार्टीको कोटामा परेका न्यायाधीशलाई फोन गर्न मिल्छ न त मुद्दा हेर्दाहेर्दैमा राख्न मिल्छ, न आदेशविरुद्ध अपिल गर्न नै पाइन्छ । त्यहाँ त केवल कर्मको तराजु हुन्छ । सत्य, धर्म र निष्ठा हारेको मेरो समाजमा मानव अदालतले नदिएको न्याय एक दिन अवश्य ईश्वरको अदालत विष्णु पञ्चायतले दिनेछ । म त्यही आशाको पर्खाइमा छु ।