अनुदान कटौती हुँदा नयाँ एचआईभी सङ्क्रमित बढ्ने जोखिम

    • स्वास्थ्य पेज

  • १३ असार २०८२, शुक्रबार

काठमाडौंः नेपालमा सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती थपिँदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। जनस्वास्थ्यको चुनौतीका रुपमा रहेको एड्स इपिडेमिकलाई सन् २०३० सम्ममा अन्त्य गर्ने सरकारको लक्ष्य छ। दातृ निकायले एचआईभी नियन्त्रणमा दिँदै आएको सहयोग कटौती गरेसँगै एचआईभी नियन्त्रण गर्ने लक्ष्य पूरा गर्ने चुनौती थपिएको हो।

‘हाम्रो समान पहुँच संस्था’की एचआईभी सङ्क्रमित तथा अधिकारकर्मी ज्योति थापाले एचआईभी सङ्क्रमित नियन्त्रणका लागि आवश्यक साधान कन्डम र प्री एक्सपोजर (एचआईबाट बच्ने औषधी) को अभावले नयाँ सङ्क्रमितकको जोखिम बढ्दै गएको बताइन् ।

स्वास्थ्य पैरवी समाज काठमाडौंमा आयोजित ‘नेपालमा एचआईभी कार्यक्रमको वर्तमान अवस्था’ विषयक कार्यक्रममामा उहाँले दातृ निकायले दिँदै आएको सहयोग कटौती हुँदा जोखिम समूह मारमा परेको उनको भनाइ छ।

सङक्रमित व्यक्तिले प्रेभ खान नपाएपछि स्वस्थ पार्टनर सङ्क्रमित हुने जोखिम बढ्दै गएको उनले बताइन्। उनी भन्छिन्, “कन्डम पनि छैन, प्रेभ पनि खान पाइएको छैन यो अवस्थामा भविष्यमा एचआईभीको सङ्क्रमण बढ्ने जोखिम बढ्दै गएको छ। यसले सरकारको लक्ष्य पूरा गर्न चुनौती थपिने देखिएको छ।”

उनले कन्डमजस्ता निःशुल्क सामग्रीले सङ्क्रमण दर घटाउन भूमिका खेलेको तर बजेट कटौतीपछि यस्तो सेवा रोकिँदा पुनः जोखिम बढेको बताइन्। नीति बनाउनेले यस्तो सूक्ष्म क्षेत्रमा ध्यान नदिँदा नयाँ सङ्क्रमित थपिने जोखिम बढेको उनको भनाइ छ।

राष्ट्रिय एचआईभी तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्बेश शर्माले दातृ निकायले सहयोग कटौती गरेपनि हालसम्म केन्द्रका कुनै पनि कार्यक्रम नरोकिएको स्पष्ट पारे ।

उनी भन्छन्, “दातृ निकायको सहयोग कटौती भए पनि सरकारले सञ्चालन गरेका कुनै पनि कार्यक्रम रोकिएका छैनन्। कुन क्षेत्रमा कस्तो असर परेको छ भनेर अध्ययन पनि भएको छैन। यसको प्रभाव देखिए पनि दुई तीन वर्षपछि मात्र देखिन्छ होला।” उनले विदेशी सहयोगमै भर पर्नु दीर्घकालीन समाधान नभएको बताउँदै सरकारले सेवा सञ्चालन गर्न सक्ने संरचना बनाउनु आवश्यक रहेको जीकिर गरे ।

केन्द्रका निर्देशक डा.शर्माले नेपालमा एक वर्षमा ६१४ जना नयाँ एचआईभी सङ्क्रमित थपिनुका साथै ५६९ जनाको मृत्यु हुने अनुमान गरेको जानकारी दिए।

उनका अनुसार नेपालमा ३४ हजार ३३७ जना एचआईभी सङ्क्रमित भएको अनुमान गरिएको हो। सङ्क्रमित मध्ये ५८ प्रतिशत अर्थात् १९ हजार ८२१ पुरुष र ४२ प्रतिशत अर्थात १४ हजार ५१६ महिला छन्। त्यसैगरी, एक हजार ५८ अर्थात ३.१ प्रतिशत सङ्क्रमित बालबालिकाको सङ्ख्या छ। मातृ–शिशु सरेर सङ्क्रमण भएकाको सङ्ख्या २२७ छ।

जनस्वास्थ्य प्रशासक अश्मिता ओझाका अनुसार कारागारमा रहेका व्यक्ति, सुइ प्रयोग गर्ने लागुऔषध प्रयोगकर्ता, यौन व्यवसायमा संलग्न, ट्रान्सजेन्डर र यौनसम्पर्क गर्ने पुरुष एचआईभीको उच्च जोखिममा छन्।

  • १३ असार २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech