महिनावारीको दुखाइ : कारण, लक्षण र राहतका उपाय

    • पुस्कर राज जोशी/ हेल्थ असिस्टेन्ट

  • १२ असार २०८२, बिहीबार

महिनावारी महिलाको जीवनमा हुने प्राकृतिक र नियमित प्रक्रिया हो । जुन, सामान्यतया स्वस्थ प्रजनन् प्रणालीको संकेत मानिन्छ। तर कतिपय महिलाका लागि यो प्रक्रिया अत्यन्त पीडादायक हुन सक्छ ।

महिनावारीसँग सम्बन्धित पेट दुख्ने समस्यालाई चिकित्सकीय भाषामा ‘डिस्मेनोरिया’ भनिन्छ । यो समस्या विशेषगरी किशोरावस्थामा सुरु हुन्छ । र, उमेरसँगै कतिपय महिलामा कम हुँदै जान्छ । तर केहीका लागि यो असह्य पीडादायी हुन सक्छ, जसले दैनिक क्रियाकलाप नै प्रभावित पार्दछ ।

डिस्मेनोरियाका दुई प्रकार

१. प्राथमिक डिस्मेनोरिया

-कुनै स्पष्ट रोगको कारण बिना हुने सामान्य महिनावारी पीडा हो ।

-मुख्य कारण हो, प्रोस्टाग्ल्यान्डिन नामक हर्मोनको स्रावका कारणले पाठेघर संकुचन हुन्छ, जसले तल्लो पेटमा दुखाइ उत्पन्न गर्छ ।

-यो किशोरावस्थामा सुरु हुन्छ र उमेरसँगै सामान्य हुने सम्भावना हुन्छ ।

२. सेकेन्डरी डिस्मेनोरिया

पाठेघरसम्बन्धी समस्याहरूका कारण हुने पीडा (जस्तैः एन्डोमेट्रिओसिस, फाइब्रोइड, पेल्भिक इन्फ्लेमेटरी डिजिज आदि)।
यस्तो दुखाइ गम्भीर हुन्छ, र नियमित परीक्षण तथा उपचार आवश्यक हुन्छ।

महिनावारी पीडाका प्रमुख लक्षणहरू

-तल्लो पेटको तीव्र दुखाइ

-कम्मरमा तानिने वा दुख्ने अनुभव

-वाकवाकी लाग्नु वा बान्ता आउनु

-अत्यधिक थकान, कमजोरी वा चक्कर

-टाउको दुखाइ

-मनोभावमा परिवर्तन (मूड स्विङ)

-चिडचिडापन र तनाव

-हातखुट्टा दुख्ने वा सुन्निने महसुस

-अत्यधिक रक्तस्राव

-दैनिक कार्यमा असहजता वा बाधा

महिनावारीको दुखाइ कम गर्न अपनाउन सकिने उपायहरू

१. तातोपानी सेवन गर्नुहोस्

तातोपानीले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ, जसले पेट फुल्ने, अपच र मांसपेशीको कडापन घटाउँछ। यसले शरीरको तापमान सन्तुलनमा राख्छ र संकुचित मासपेशीहरूलाई आराम दिन्छ।

२. हट ब्याग वा तातो सेक प्रयोग गर्नुहोस्

-पेट र कम्मरमा हट ब्याग राख्दा रक्तसञ्चार सुधार हुन्छ ।

-तातोपानीले स्नायुहरूलाई आराम दिँदा दुखाइ कम हुन्छ।

-आवश्यकता अनुसार मनतातो पानीमा खुट्टा डुबाएर बस्न सकिन्छ।

३. दुग्ध पदार्थको सेवन

-दूध, दही, पनीर जस्ता क्याल्सियमयुक्त पदार्थले मासपेशीहरूको संकुचनलाई नियन्त्रणमा राख्छ ।

-क्याल्सियमको नियमित सेवनले क्र्याम्प्स घटाउन सहयोग गर्छ ।

४. सन्तुलित र पौष्टिक आहार लिनुहोस्

-उच्च फाइबरयुक्त र कम बोसोयुक्त खाना खाँदा पाचन राम्रो हुन्छ ।

-सलाद, केरा, ड्राइ फ्रुट्स, डार्क चकलेट, ग्रीन टी फाइदाजनक छन् ।

-डार्क चकलेटमा पाइने म्याग्नेसियमले तनाव घटाउँछ ।

५. हानिकारक पेय तथा पदार्थबाट टाढा रहनुहोस्

-चिसो पेय, चिया, कफी, धूम्रपान, मदिरा र जंक फुडले क्र्याम्प बढाउँछ ।

-यी चीजहरूले एसिडिटी, ग्यास र रक्तचाप बढाउने सम्भावना हुन्छ ।

६. हल्का व्यायाम वा योग गर्नुहोस्

-रक्त प्रवाह बढाउन बालासन, शवासन, भुजंगासन जस्ता योगासन उपयोगी हुन्छन् ।

-दैनिक हिँडडुलले पनि राहत दिन सक्छ ।

-गम्भीर अवस्था भएमा चिकित्सकको सल्लाहअनुसार मात्र व्यायाम गर्नुपर्छ ।

७. पर्याप्त निद्रा लिनुहोस्

-निद्राले शारीरिक पुनःसन्तुलनमा सहयोग गर्छ ।

-राम्रो निद्राले हर्मोन सन्तुलन र मानसिक स्वास्थ्य सुधार गर्छ ।

८. मालिस गर्नुहोस्

-तल्लो पेट वा ढाडमा नरम तेलले हल्का मालिस गर्दा रक्तसञ्चार बढ्छ ।

-मालिसले स्नायुलाई शिथिल बनाउँछ र आरामदायी महसुस गराउँछ ।

औषधिको प्रयोगबारे सावधानी

धेरै महिलाहरू दुखाइ कम गर्न औषधि प्रयोग गर्छन्, तर जथाभावी औषधि सेवन स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।

पेनकिलर वा अन्य औषधि प्रयोग गर्नु परेमा स्त्रीरोग विशेषज्ञको सल्लाह अनिवार्य लिनुहोस् ।

दीर्घकालीन वा अत्यधिक दुखाइ हुनु गम्भीर समस्या संकेत हुन सक्छ ।

कहिले डाक्टरलाई देखाउने  ?

महिनावारीको दुखाइले दैनिक गतिविधिमा बाधा पुर्‍याउन थालेको छ भने

अत्यधिक रक्तस्राव वा नियमित भन्दा फरक लक्षण देखा परेको छ भने

औषधिले पनि आराम नदिएको खण्डमा

यस्ता अवस्थामा स्त्रीरोग विशेषज्ञको परामर्श लिनु अति आवश्यक हुन्छ।

महिनावारी एक प्राकृतिक प्रक्रिया हो । यससँग सम्बन्धित हल्का असुविधा सामान्य मानिए पनि अत्यधिक पीडालाई नजरअन्दाज गर्नु हुँदैन ।

स्वस्थ जीवनशैली, सन्तुलित आहार, व्यायाम, पर्याप्त आराम र आवश्यक परेमा चिकित्सकको सहयोग लिँदा महिनावारीको पीडाबाट सहज राहत लिन सकिन्छ ।

  • १२ असार २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech