मानसिक स्वास्थ्यको बहस : आफ्नो जीवन बचाऊ र अरूलाई प्रेरित गर

    • अनिशा पराजुली / मास्टर्स इन साइकिएट्री नर्सिङ

  • १० असार २०८२, मंगलवार

हालै एक डाक्टर जसले फेसबुकमा पीडा पोखेर आत्महत्या प्रयाससमेत गर्नुभयो । यस्तो संवेदनशील घटना हुँदा पनि मिडियाले जिम्मेवार दृष्टिकोण नअपनाई sensational reporting गर्ने प्रवृत्ति देखाएको छ, जसले परिवार र समाजमा थप पीडा बढाएको छ ।

यसका साथै, सुरक्षाकर्मीहरू- जसले मानसिक स्वास्थ्य समस्यामा परेका मानिसहरूसँग पहिलो सम्पर्कमा हुन्छन्- उनीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण नदिइएपछि सहीरूपमा समस्या बुझ्न र व्यवस्थापन गर्न असमर्थ छन् । मानसिक स्वास्थ्य विषयलाई अझै पनि हाम्रो समाजमा हल्का र बेवास्ता गरिन्छ, जसले गर्दा धेरै जटिल समस्या समाधान हुन सक्दैनन् । अब समय आएको छ-खुला रुपमा कुरा गरौं, कलंक हटाऔं र जीवन बचाऔं । आत्महत्या रोकथाम सम्भव छ, र प्रत्येक व्यक्तिको सुरक्षा र समर्थन हाम्रो साझा जिम्मेवारी हो ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार, सन् २०२३-२४ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन्, जसको अर्थ दैनिक औसत २० आत्महत्या हुन्छ !
विश्व स्वास्थ्य संगठन (WHO) अनुसार, आत्महत्या भनेको व्यक्तिले आफ्नो जीवनलाई स्वेच्छाले, जानकारीपूर्वक र आफ्नो क्रियाकलापमार्फत जानबुझेर अन्त्य गर्ने कार्य हो जुन अस्थायी वा स्थायी रुपमा जीवनको समाप्ति निम्त्याउँछ।

आत्महत्या हुनुका कारणहरू धेरै जटिल र बहुआयामिक हुन्छन् । मानसिक स्वास्थ्य समस्याहरू जस्तै डिप्रेसन, चिन्ता र अन्य मानसिक रोगहरू आत्महत्याको प्रमुख कारण हुन् । त्यस्तै, परिवारिक कलह, घरेलु हिंसा र सम्बन्ध विग्रहले पनि मानिसहरूलाई आत्महत्या गर्न प्रेरित गर्न सक्छ । आर्थिक समस्या, जस्तै बेरोजगारी, ऋण र गरिबीले मानसिक तनाव बढाएर आत्महत्या गर्ने जोखिम बढाउँछ ।

शिक्षा र रोजगारसम्बन्धी दबाब, परीक्षा तनाव र करिअर असफलताले पनि मानिसलाई यस्तो कदम चाल्न बाध्य पार्न सक्छ । सामाजिक अलगाव, एकान्तता र समर्थनको अभावले मानिसमा निराशा बढाउँछ भने मादक पदार्थको सेवनले निर्णय क्षमतामा असर पुर्याएर आत्महत्या गर्ने सम्भावना बढाउँछ ।

साथै, दीर्घकालीन शारीरिक रोग, अपमान, सामाजिक कलंक र अघोषित मानसिक पीडाले पनि आत्महत्या गराउने महत्वपूर्ण कारण बन्न सक्छन् । यी सबै कारणहरू आपसमा जोडिएका र प्रभाव पार्ने भएकाले आत्महत्या रोकथामका लागि व्यापक समझ र उपचार आवश्यक हुन्छ ।

आत्महत्या रोकथामका लागि सबैभन्दा पहिला मनको पीडा र भावनालाई स्वीकार्नुपर्छ । समस्यालाई एक्लै झेल्ने होइन, परिवार, साथी वा विशेषज्ञसँग साझा गर्नुपर्छ । मानसिक स्वास्थ्यको उपचार र सकारात्मक सोचले जीवन पुनः उज्यालो बनाउन सक्छ । सानातिना कदमले पनि ठूलो परिवर्तन आउँछ- सहायता खोज्न डर नमान्नुहोस्, किनकि जीवन सधैँ नयाँ अवसर र आशा लिएर आउँछ ।

जब आत्महत्या गर्ने मन लाग्छ, मर्न मन लाग्छ वा आफूमाथि कुनै काम गर्न नसक्ने जस्तो लाग्छ भने आफूभित्रै यो भावना राख्नुभन्दा कसैसँग कुरा गरेर, आफ्नो मनको पीडा र अनुभवलाई खुलाएर बाँड्न आवश्यक छ । यसो गर्दा मन हलुका हुन्छ र समाधान खोज्न सजिलो हुन्छ । एक्लै सबै कुरा सहनु हुँदैन, सहयोग लिन कहिल्यै ढिलाइ नगर्नुहोस् ।

राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन (११६६) यो हेल्पलाइन २४ घण्टा, ७ दिन उपलब्ध छ र जसलाई आत्महत्याको सोच वा मानसिक तनाव छ, उनीहरूलाई सहयोग प्रदान गर्छ ।

“अँध्यारोबाट डर नमान,
आफूलाई पीडा दिने मौका नदेऊ ।
साहस राख र आवाज उठाऊ,
आफ्नो जीवन बचाऊ र अरूलाई प्रेरित गर ।”

  • १० असार २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech