नेपालगन्जः बर्दियाको बासगढी नगरपालिका वडा नं. ८ स्थित त्रिभुवन सामुदायिक पुस्तकालयमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । त्रिभुवन सामुदायिक पुस्तकालय ककौराको आयोजना, वडा कार्यालयको व्यवस्थापन तथा नेपालगन्जस्थित केयर सिटीको प्राविधिक सहयोगमा सोमवार शिविर गरिएको हो ।
वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.उज्ज्वल अर्यालको नेतृत्वमा प्रदान गरिएको स्वास्थ्य शिविरमा २२५ जनाले सेवा लिएको पुस्तकालयका कर्मचारी मिना पौडेलले जानकारी दिइन् । उनका अनुसार शिविरमा आएका अधिकांशमा सुगर, प्रेसर, ग्याष्ट्रिक, दम, हातखट्टा दुख्ने लगायत समस्या देखिएको थियो ।
६७ जनाको भिडियो एक्स रे सेवा समेत प्रदान गरिएको डा.अर्यालले बताए । जटिल खालका समस्या देखिएका बीमामा आवद्ध भएका बिरामीहरुलाई थप उपचारका लागि भेरी अस्पताल रेफर गरिएको छ । अन्य बिरामीहरुको हकमा भने आवश्यक परामर्श गरेर औषधि उपलब्ध गराइएको छ । शिविरमा आएका बिरामीको पहिचान गर्दा नसर्ने रोगको प्रभाव बढी देखिएको डा.अर्याल बताउँछन् ।
बदलिदो जीवनशैली र खानपानका कारण नसर्ने रोगको प्रभाव समुदायस्तरमा विकराल बन्दै गएको छ । यसबाट जोगिन नियमित व्यायम गर्न र खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । शिविरमा केयर सिटीबाट डा. अर्यालसँगै डा.सुशान्त कार्की, ल्यावबाट उत्सव बुढा र फार्मेसीबाट दुर्गा वर्मा खटिएका थिए ।