नेपालगन्ज: यस वर्षको ‘ सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२’गोरखापत्र दैनिकमा कार्यरत सरोज ढुङ्गेललाई प्रदान गरिएको छ ।
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी, सुदर्शन देवकोटा फाउण्डेशनकी डाक्टर सुधा देवकोटालगायतले ढुङ्गेललाई ३३ हजार ३३३ राशीको नगदसहित सम्मान गरे । स्वर्गीय सुदर्शन देवकोटाको १८औँ पुण्यतिथिको अवसरमा पारेर आयोजित पुरस्कार हस्तान्तरण गरिएको हो ।
सारदा सुदर्शन देवकोटा फाउण्डेशनले पाँच वर्षदेखि स्वास्थ्य पत्रकार मञ्चको सहकार्यमा उक्त पुरस्कार प्रदान गर्दै आइरहेको छ । पुरस्कार वितरण कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री तथा नेकपा (एमाले)का नेता पदम गिरीले स्वास्थ्य पत्रकारिताको ठूलो भेग रहेको भन्दै स्वास्थ्य पत्रकारहरुले आफ्नो विषयमा पोख्त भएर कलम चलाउनुपर्ने बताए ।
उनले स्वास्थ्य क्षेत्रमा बेथितिविरुद्ध कलम चलाउन आग्रह गर्दै नेपालमा स्वास्थ्य क्षेत्रमा अझै थुप्रै समस्या रहेको र आधारभुत स्वास्थ्य सेवा समेत प्रभावकारी बन्न नसकेको समेत स्विकार गरे ।
स्वर्गीय पत्रकार देवकोटाकी छोरी तथा फाउण्डेशनकी अध्यक्ष डा.शुधा देवकोटाले आफ्नो बुबाले पत्रकारितामा व्यतित गरेको स्मरण गर्दै पत्रकारितालाई थप जिम्मेवार र प्रभावकारी बनाउन यस पुरस्कार स्थापना गरेको बताइन्।
उनले पत्रकारहरूले सत्यतथ्य छुट्याएर जिम्मेवार भएर तथा विस्तृत अध्ययन गरेर समाचार लेख्न आवश्यक रहेको बताउदै अझै कैयौ विषयमा राज्यलाई घच्घच्याउनुपर्नेमा जोड दिइन्।