नेपालगन्जः छिमेकी देश भारतमा कोरोनाका बिरामीहरु बढ्दै गएपछि नेपालगन्जस्थित नेपाल–भारत नाका जमुनाहामा परीक्षण सुरु गरिएको छ । भारतबाट फर्किनेहरुमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामा शङ्कास्पदहरुको कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख नरेश श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी समेत रहेका श्रेष्ठले नाकामा भारतबाट फर्किने नेपाली र नेपाल आउने भारतीयमाथि निगरानी बढाइएको जनाउँदै शङ्का लागेकाहरुको कोरोना परीक्षण सुरु गरिएको हो । सोही क्रममा शङ्का लागेर परीक्षण गर्दा भारतबाट फर्केका एकजना नेपालीमा कोरोना भेटिएको छ ।
भारतको देहरादुनबाट आएका बर्दियाका २६ वर्षीय वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको उनले बताए । भारतबाट आएका थारुको आरडीटी जाँच गर्दा कोरोना देखिएको बताए । कोरोना देखिए पनि उनीमा त्यसको कुनै लक्षण नदेखिएको श्रेष्ठले बताए । उनका अनुसार लक्षण देखिएमा भेरी अस्पतालमा लगेर पिसिआर गर्ने गरिन्छ ।
संक्रमण पुष्टि भएका ती पुरुषलाई मास्क दिएर घर पठाइएको छ । भारतमा कोरोना देखिएपछि नेपालगन्ज नाकामा भारतबाट आएका शङ्कास्पद व्यक्तिको कोरोना जाँच सुरु गरिएकाले थारुमा कोरोना पुष्टि भएको हो ।