समिरमान श्रेष्ठ ।
नेपालगन्ज: नेपालगन्जमा भोलि एक दिने निःशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका आयुर्वेद शाखाको आयोजनामा वडा नम्बर ४ गणेशपुरस्थित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा शिविर आयोजना गरिनेछ ।
आयुर्वेद शाखा प्रमुख डा. सुरेश पुनले विहान ८ बजेदेखि सुरु हुने शिविर अपरान्ह ३ बजेसम्म सञ्चालन हुने जानकारी दिए । उनले शिविरमा ५०० जनाको स्वास्थ्य जाँच गर्ने लक्ष्य रहेको बताए । डा. पुनका अनुसार शिविरमा पाचन प्रणाली सम्बन्धि समस्याहरु, अस्थिपञ्जर प्रणाली सम्बन्धि समस्या, स्नायु तथा मांशपेशी समस्या, मूत्र प्रणाली, श्वासप्रश्वास, छाला लगायत समस्या भएका विरामीहरुलाई सेवा दिइनेछ ।
शिविरमा डा. पुन लगायत डा. सरोजमणि पोख्रेल, डा. प्रवेश श्रीवास्तव, डा. आलोक पाण्डे, डा. गिता रेग्मी, डा. कृष्ण चापागाई, डा. अकबर अली, डा. मनोज कुमार यादवले विरामीको स्वास्थ्य चेकजाँच गर्ने जनाइएको छ । उनीहरुलाई औषधि समेत उपलब्ध गराइनेछ । पछिल्लो समय आयुर्वेदप्रति सर्वसाधारणको विश्वास बढ्दै गएकाले शिविरमा लक्ष्य भन्दा बढीले सेवा लिने अपेक्षा गरिएको डा. पुनले बताए । आयुर्वेद शाखाका अनुसार नेपालगञ्जको जयसपुर, परसपुर र भवानियापुर आयुर्वेद औषधालयले कार्यालय समयमा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण सेवा निरन्तर उपलब्ध गराइरहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबहाक मेयर कमरुद्दिन राईले आयुर्वेद स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तत्पर रहेको बताए । पत्रकार सम्मेलनमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखा अध्यक्ष नवीन गिरी लगायत पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन प्रशासन अधिकृत इन्द्र केसीले गरेका थिए ।