भेरी अस्पतालमा १७९ जनशक्ति थप्ने गरी स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढायो

    • स्वास्थ्य पेज

  • २७ जेष्ठ २०८२, मंगलवार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भेरी अस्पतालमा स्वास्थ्य जनशक्ति थप्ने प्रक्रिया अगाडि बढाएका छन् ।

संघीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएको मन्त्रालयले भेरी अस्पतालमा १७९ जनशक्ति थप हुनेछन् ।

बिरामीको चापअनुसार जनशक्ति नभएको गुनासो लामो समयदेखि हुँदै आएको थियो । यही गुनासोलाई सम्बोधन गर्ने गरी मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा स्वास्थ्य जनशक्तिका थप गर्ने प्रक्रिया अघि बढाएका थिए ।

त्ययसका लागि उनले प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा गठन गरेको आन्तरिक कार्यदलले २१०२ जनशक्ति थप गर्न सकिने गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिएको छ । यसमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको संख्या अधिक छ ।

मन्त्री पौडेलले सरकारी स्वास्थ्य बिरामीको चापअनुसार जनशक्ति नहुँदा सेवा दिन भइरहेको कठिनाइ केही हदसम्म हल हुने विश्वास व्यक्त गरे ।

‘सरकारी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि यो प्रतिवेदनले महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छु’ मन्त्री पौडेलले भने, सम्बद्ध मन्त्रालयहरूसँग आवश्यक समन्वय गरेर यसको कार्यान्वयन गरिनेछ।

मन्त्री पौडेलले यो वर्ष मात्र नभएर हरेक वर्ष सर्भेक्षण गरिने भएकाले दूरगामी रुपमा जनशक्ति अभावको समस्या सम्बोधन हुने विश्वास गरे ।

मन्त्री पौडेलले अधिकतम स्वास्थ्य प्राविधिक जनशक्तिको अभाव पूर्ति गर्ने गरी संरचना गर्न भने पछि प्रतिवेदनमा अधिकांश स्वास्थ्य जनशक्ति थप गर्ने गरी प्रतिवेदन तयार पारिएको छ ।

यसले विभिन्न अस्पतालहरुमा रहँदै आएका अस्थायी र करारको दरबन्दी घटेर स्थायित्व प्राप्त गर्न मद्दत पुग्ने ठानिएको छ । २०६६ मा केही जनशक्ति थप भए पनि त्यसयता विस्तृत रुपमा संगठन तथा व्यवस्थापन सर्भेक्षण हुन सकेको थिएन ।

  • २७ जेष्ठ २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech