नेपालगन्जः बाँकेको डुडुवा गाउँपालिका ६ स्थित आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा रहेका अधिकांश बालबिज्याइँकर्ता (बालक)हरुमा छाला सम्बन्धी रोगको सङ्क्रमण छ ।
एडभोकेसी फोरम नेपालद्वारा आयोजना गरिएको एकदिने निःशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार शिविरमा छाला रोगको संक्रमण देखिएको हो ।
२१७ जना बालकमध्ये १२० जनालाई स्वास्थ्य जाँच र औषधी उपचार सेवा प्रदान गरियो । अन्य बालकहरुलाई स्वास्थ्य परामर्श प्रदान गरिएको र तीन जनालाई थप उपचारका लागि भेरी अस्पताल रिफर गरिएको छ ।
अधिकांश बालकहरुमा लुतो, फङ्गल इन्फेक्सन, डण्डिफोर, घमौरा, स्कोरटल एक्जीमा, पिलो, दुबीको समस्या देखिएको उपचारमा संलग्न भेरी अस्पतालमा कार्यरत छालारोग विशेषज्ञ डा. अस्मिता गौतमले जानकारी दिइन् ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले भेरी अस्पतालले बीमामार्फत बालकहरुको निःशुल्क उपचार गर्न सकिने बताउँदै आगामी दिनमा उपचारमा आवश्यक सहयोग गर्ने बताए ।
सुधार गृहका इन्चार्ज बिमला काउचा मगरले बालकहरुमा छालारोग सङ्क्रमण रहेको उल्लेख गर्दै यसको रोकथामका लागि निरन्तर उपचारको आवश्यकता रहेको बताइन् ।
शिविरमा भेरी अस्पतालमा कार्यरत वरिष्ठ छाला रोग विशेषज्ञ डा. अस्मिता गौतम, डा.जनक देवकोटा र अस्पताल नर्सिङ्ग निरीक्षक बसुन्धरा ज्ञवालीले स्वास्थ्य सेवा प्रदान गरेको अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।