भारतमा कोरोना फैलिएसँगै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

देशभरका २५ वटा हब हस्पिटल,२ हजारभन्दा बढी सेटलाइट हस्पिटललाई तयारी अवस्थामा राखिएको बताउँदै उनले भने, 'सातै प्रदेशका रहेका हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरलाई पनि एक्टिभेट गरिसकेका छौं ।


    • स्वास्थ्य पेज

  • २५ जेष्ठ २०८२, आईतवार

नेपालगन्जः भारतमा कोरोनाको संक्रमण दर तीव्र रुपमा बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी थालेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय फैलिएको संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर दुई सातादेखि पूर्वतयारी गरिरहेको बताए ।

उनले भारतसँग जोडिएका १७ वटा स्थल नाका र तीन हवाई नाका तथा त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको बताए ।

कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका मानिस देशभित्र वा देश बाहिर जहाँ भए पनि एक सातासम्म सेल्फ आइसोलेसनमा बस्न र कुनै कारणवश श्वासप्रश्वासमा समस्या भए वा थप जटिलता देखिए नजिकका स्वास्थ्य संस्थामा तुरुन्त जान आग्रह गरिरहेको प्रवक्ता बुढाथोकीले बताए ।

‘भारतमा भएको संक्रमण १०/१५ दिनमा नेपालमा आउँछ भन्ने विगतका अनुभवले देखाएको हुनाले हामी त्यसको पूर्वतयारीमा लगभग २ सातादेखि नै लागिरहेका छौं,’ उनले भने ।

देशभरका २५ वटा हब हस्पिटल,२ हजारभन्दा बढी सेटलाइट हस्पिटललाई तयारी अवस्थामा राखिएको बताउँदै उनले भने, ‘सातै प्रदेशका रहेका हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरलाई पनि एक्टिभेट गरिसकेका छौं । देशभरिका ६ सयभन्दा बढी प्रयोगशालाको रिपोर्टलाई केन्द्र र प्रदेशले मनिटरिङ गरिरहेका छन् । संक्रमण फैलिइहाल्यो भने नियन्त्रण गर्न र धनजनको क्षति नहोस् भन्नका लागि अस्पतालहरुलाई पनि तयारी अवस्थामा राखेका छौं ।’

उनले संक्रमण बढ्दै गए उपलब्ध स्रोत, साधन र पूर्वाधारले ९० हजारदेखि एक लाखसम्मको जनसंख्यालाई धान्न सक्ने गरी तयारी गरिएको पनि बताए ।

  • २५ जेष्ठ २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech