यसपटक सरदरभन्दा बढी बर्षा हुने भएपछि डेंगु सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण

    • स्वास्थ्य पेज

  • ११ जेष्ठ २०८२, आईतवार

काठमाडौंः यसपटक सरदरभन्दा बढी बर्षा हुने भएपछि डेंगु सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेंगु सङ्क्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले भने “गत वर्षको तुलनामा हाल कम सङ्क्रमण देखिएको छ तर यस वर्ष मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ । त्यसले सङ्क्रमणको जोखिम बढाउने छ ।”

पानी धेरै पर्दा जम्मा हुने पानीमा डेंगु सार्ने लामखुट्टे फस्टाउने भन्दै उनले सतर्कता अपनाउन सबैलाई आग्रह गरे । दाहालले पानी सङ्कलन हुने टायर, गमला जस्ता ठाउँ हालैदेखि व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेंगु रोग लाग्ने गरेको छ ।

शाखा प्रमुख डा.दाहालले पुस १७ देखि हालसम्म ७१ जिल्लामा एक हजार ८१ जनामा सङ्क्रमण देखिएको र पाँच जनाभन्दा बढी सङ्क्रमण भएका ३० स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिएको जानकारी दिए ।

सन् २०२४ मा डेंगु सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने १५ जनाको मृत्यु र ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए ।

  • ११ जेष्ठ २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech