कोहलपुरः कोहलपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण वडाका अपाङ्गता भएका नागरिकहरुलाई कृत्रिम अङ्ग (हात, खुट्टा र क्यालिफर लगायतका सहायक सामग्री) जोडिदिनका लागि भारत लगेर गएको छ । नगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण उपशाखाले नगरका सबै वडाहरुबाट छनोट गरेर कृत्रिम अङ्ग हाल्नुपर्ने शारीरिक अपाङ्ग भएका नागरिकलाई बुधबार भारत लगेर गएको हो ।
महिला विकास निरीक्षक तथा अपाङ्ग नागरिकलाई कृत्रिम अङ्ग जोड्ने कार्यक्रमकी संयोजक तारा भण्डारीले बुधबार चार जना कर्मचारी तथा समन्वयकर्ता र १९ जना अपाङ्गता भएका नागरिकलाई कृत्रिम अङ्ग जोड्नका लागि भारतको जयपुर लगिएको बताइन् । उनले हात र खुट्टामा कृत्रिम अङ्ग हालिने र हिँड्न नमिल्ने कमजोर खुट्टालाई सपोर्ट दिएर हिँड्न मिल्ने गराउनका लागि क्यालिफर हालिने गरेको बताइन् ।
उनका अनुसार यसपटक कृत्रिम खुट्टा पाँच जना, कृत्रिम हात चार जना, क्यालीफर सात जना, ह्वीलचियर एक जना र एएओ (पैताला नभएकालाई जुत्ता जस्तो अङ्ग) दुई जना गरी १९ जना शारीरिक अपाङ्गता नागरिकलाई भारत लगेर जान थालेको बताइन् । कोहलपुर नगरपालिकाकी उपप्रमुख एवम् स्थानीय अपाङ्गता समन्वय समिति संयोजक संगिता सुवेदीले विगत तीन वर्षदेखि नगरपालिकाले नगरभित्रका सबै वडाहरुमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गर्नका शिविर सञ्चालन गरेर व्यक्ति छनोट गर्दै आएको जानकारी दिइन् ।
“हामीले गत तीन वर्षदेखि अपाङ्गता भएका नगरभित्रका नागरिकहरुलाई भारतको जयपुर लगेर आवश्यकता अनुसार कृत्रिम हात, खुट्टा तथा क्यालिफर जडान गरिदिने गरेका छौँ, हरेक वडामा पुगेर अपाङ्गता व्यक्तिको पहिचान गर्ने, आवश्यकता हेर्न र छनोट गरेर लैजाने गरेका छौँ ।” उपप्रमुख सुवेदीले भनिन् “सबैभन्दा पहिलो वर्ष १९–२० जना र गत वर्ष १८ जनालाई भारत लगेर कृत्रिम अङ्ग जोडिदियौँ र यस वर्ष १९ जना व्यक्तिलाई पठाएका छौँ ।”
उनले बाँकेमै पहिलोपटक कोहलपुर नगरपालिकाले तीन वर्ष अघिदेखि यो कार्यक्रम सुरु गरेको जानकारी दिए । दीर्घकालीन रुपमा टिकाउ हुने भएका कारण पछिल्लो समय कृत्रिम अङ्गको माग बढिरहेको उनले बताइन् । कोहलपुरको सिको गर्दै अहिले बाँकेका अन्य पालिकाले पनि अपाङ्गता भएका व्यक्तिको पहिचान गरी भारतमा लगेर कृत्रिम अङ्ग हाल्ने काम गर्दै आएको पनि उनले जानकारी दिइन् । उपप्रमुख सुवेदीले नगरपालिकाकै खर्चमा उहाँहरुलाई भारत लैजाने, बसाल्ने, खुवाउने लगायतका आवश्यक सहायक सामग्री प्रदान गरिँदै आएको बताइन् ।
उनले अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गका नागरिकलाई राज्यले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गरेको र ‘ग’ र ‘घ’ वर्गका अपाङ्ग नागरिकलाई सामाजिक सुरक्षा प्रदान नगर्ने भएका कारण ‘ग’ र ‘घ’ वर्गका अपाङ्ग नागरिक आफ्नो छनोटमा पर्ने गरेको बताइन् । उनले ‘ग’ र ‘घ’ वर्गका अपाङ्ग नागरिकका लागि सहायक सामग्री प्रदान गर्ने मात्रै नभएर नगरपालिकाले आत्मनिर्भर तथा स्वरोजगार बनाउनका लागि बेकरी बनाउने तालिमदेखि विभिन्न आयमूलक तथा सीपमूलक तालिम प्रदान गरिँदै आएको बताइन् । कृत्रिम अङ्ग जोड्नका लाग भारत जान लागेका अपाङ्ग नागरिकहरुलाई आर्थिक विकास समिति संयोजक अनिताकुमारी बुढाक्षेत्री तथा महिला, बालबालिका तथा समावेशीकरण उपशाखा प्रमुख घटना शाह लगायतले विदाइ गरेकी थिइन् ।