नेपालगन्जः सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि नेपालगन्ज र नेपालगन्ज मेडिल कलेज कोहलपुरले मस्तिष्कघातको जोखिम बढ्न थालेपछि यसको प्रभाव, रोकथाम र उपचारकाबारेमा सचेतना फैलाउन सुरु गरेका छन् । शुक्रबार बाँकेका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई नेपालगन्जमा बोलाएर मस्तिष्कघातको प्रभाव, रोकथाम र उपचारका बारेमा जानकारी प्रदान गरिएको न्युरोसर्जन डा.निरज घिमिरेले जानकारी दिए ।
स्ट्रोक दुई प्रकारका हुन्छन् । एउटा शरीरमा रगत सञ्चालन नपुगेर हुने गर्दछ भने अर्को नशा फुटेर हुने गर्दछ। नशा फुटेर हुने स्ट्रोकलाई ब्रेन हेमरेज स्ट्रोक पनि भन्ने गरिन्छ । पछिल्लो समय ह्दयघात भन्दा पनि मानिसहरुको मृत्यु स्ट्रोकबाट हुन थालेपछि यसको रोकथामका लागि सुरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत हुन आवश्यक ठानेर कार्यक्रम गरिएको डा.घिमिरे बताउँछन् ।
‘सबैभन्दा पहिले त स्वास्थ्यकर्मी र चिकित्सक नै सचेत हुन आवश्यक छ उनले भने-‘स्ट्रोकका प्रारम्भिक लक्षण चिन्ह देखिएका बिरामीलाई तत्काल विज्ञ चिकित्सककहाँ प्रेषित गरिदिनुपर्छ । ताकी बिरामीको छिटो डाइग्नोस होस् र तत्काल उपचार पावस् ।’ उनले अव यस्ता कार्यक्रमहरु लुम्विनी र सुदूरपश्चिम प्रदेशका अन्य स्थानहरुमा पनि अभियानकै रुपमा आयोजना गरिने पनि बताए ।
स्थानीय पालिकाहरुसँगको सहकार्यमा ग्रामीण क्षेत्रमा पनि सचेतनामुलक कार्यक्रमलाई लैजाने गरी योजना बनाइएको उनले सुनाए । ‘हामी स्थानीय पालिकाहरुसँग मिलेर गाउँगाउँमा मस्तिष्कघातको बारेमा जानकारी गराउने गरी योजना अगाडि बढाएका छौं उनले भने-‘प्रारम्भिक उपचार र स्वस्थ बानीबाट यसलाई रोक्न सकिन्छ ।’
उक्त कार्यक्रममा एमसीएच न्युरोसर्जन डा. घिमिरेसहित कन्सल्टेन्ट न्युरोसर्जन डा.मनिष कोलाक्षपती, कन्सल्टेन्ट फिजिसियन डा. आसिम किदवाई, कन्सल्टेन्ट रेडियोलोजिष्ट डा.लेखनाथ बराल, एमडी डीएम कार्डियोलोजिष्ट डा.कृष्ण चन्द्र अधिकारी र एमएस एमसीएच न्युरोसर्जन डा सुवोध गौतमले स्ट्रोकको हालको अवस्था, पहिचान, यसले निम्त्याएका जोखिम, भइरहेका उपचार पद्धति, स्ट्रोकपछिको उपचार व्यवस्थापन लगायतका विषयमा छुटाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अस्पतालका फाउण्डर डा.सुरेश कुमार कनोडिया र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. एम किदवाई, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सिइओ डा.सन्तोष विएन, डा.केदार अग्रवाल, सञ्जिवनी कलेजका मेडिकल सुपरिन्टेन्डेन्ट डा।रोमन किदवाई, भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदी, बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुभाष पाण्डे लगाएत चिकित्सक, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।