सञ्जिवनी कलेजमा मस्तिष्कघातका बिरामीलाई विशिष्टिकृत उपचार सेवाको सुभारम्भ

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०८२, शनिबार

नेपालगन्जः सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिले मस्तिष्कघात भएका बिरामीको उपचारलाई ध्यानमा राखेर विशिष्टिकृत सेवा दिन सुरु गरेको छ । मस्तिष्कघात भएर गम्भीर अवस्थामा पुगेका बिरामी अस्पतालमा पुगे लगत्तै तत्कालल नै उपचार गर्ने गरि सुविधा सम्पन्न कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर सुरु गरिएको अस्पतालका न्युरोसाइन्सेस विभाग प्रमुख कन्सल्टेन्ट न्युरोसर्जन डा.मनिष कोलाक्षपतीले जानकारी दिए ।

सञ्जिवनी कलेजमा कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा प्राइमेरी स्ट्रोक केयर सेन्टरको नेपालगन्जमा आयोजित एक कार्यक्रमका बीच शुक्रबार साँझ अस्पतालका फाउण्डर डा.सुरेश कुमार कनोडिया र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा.एम किदवाईले सुभारम्भ भएको घोषणा गरेका थिए ।

कार्यक्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सिइओ डा.सन्तोष विएन, डा.केदार अग्रवाल, सञ्जिवनी कलेजका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रोमन किदवाई, भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी, बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुभाष पाण्डे लगाएतको उपस्थिति रहेको थियो । मस्तिष्कघात भएका गम्भीर बिरामीको उपचार सञ्जिवनी कलेजमा रहेको कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर हुनेछ भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा प्रारम्भिक मस्तिष्क घातको केयर र उपचार हुनेछ ।

कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टरमा १६ वेडको छुट्टै आइसीयू वार्ड रहनेछ । कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टरमा कन्सल्टेन्ट न्युरो सर्जन डा.मनिष कोलाक्षपतीको नेतृत्वमा एमसिएच न्युरो सर्जन डा.निरज घिमिरे, एमडी/डीएम कार्डियोलोजिष्ट डा. कृष्णचन्द्र अधिकारी, कन्सल्टेन्ट रेडियोलोजिस्ट डा लेखनाथ बराल, न्युरो क्रिटिकल केयर, एनेथेसियोलोजिष्ट, इर्मजेन्सी तथा न्युरो रिहाबिलिटेसनको समूह तैनाथ रहनेछ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्राइमेरी स्ट्रोक केयर सेन्टरमा एमए/ एमसिएच न्युरो सर्जन डा.सुवोध गौतमको नेतृत्वको टिम बिरामीको उपचारमा खटिनेछ । मस्तिष्कघातका कारण मानिसहरुको अकालमा ज्यान गुमाउने अनुपात अस्वभाविक रुपमा बढ्दै जानु र कतिपय मानिसहरु आजिवन अपांगता भएर जीवनभर अरुकै भरमा बाँच्नुपर्ने अवस्थालाई ध्यानमा राखेर डेडिकेटेड स्ट्रोक सेन्टर सञ्चालनमा ल्याइएको सिइओ डा.नितेश कुमार कनोडियाले जानकारी दिए ।

मस्तिष्कघात भएका बिरामी ४-५ घण्टाभित्रै अस्पताल पुगे उनीहरुको ज्यान जोगिनेमात्र नभएर आजीवन अरुकै भरमा बाँच्नु पर्ने अवस्थाको समेत अन्त्य हुने चिकित्सकहरु बताउँछन् ।

  • ४ जेष्ठ २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech