नेपालगन्जः बाँकेमा नवशिशु मृत्युदर उच्च छ । बढ्दो शिशु मृत्युदर रोक्नका लागि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तालिम दिन थालिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ तथा प्यारामेडिक्सहरुलाई नेपालगन्जमा बोलाएर तालिम दिन सुरु गरेको कार्यालयका जनस्वास्थ्य निरीक्षक देवनारायण उपाध्यायले जानकारी दिए ।
उनले भने–‘नवजात शिशु मृत्युदर घटाउने उद्देश्यका साथ बुधवारदेखि नवजात शिशु बालरोग एकिकृत व्यवस्थापन तालिम दिन सुरु गरिएको हो ।’
सहभागिहरुलाई नवजात शिशुको उपचार व्यवस्थापनका विभिन्न सीप तथा ज्ञानहरु सिकाइने स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले बताइन् ।
यो तालिमले स्वास्थ्य क्षेत्रमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई रोगको दर कसरी कम गर्न सकिन्छ भन्नेबारेमा समेत जानकारी प्रदान गरिने छ ।
२४ जना सहभागि तालिममा उपाध्याय, श्रेष्ठसँगै भेरी अस्पतालका बालरोग विशेषज्ञ डा.प्रतिमा खड्का, अस्पताल नर्सिङ निरीक्षक सञ्जु रिजाल, तारा आचार्य र जनस्वास्थ्य निरीक्षक नवीन बुढाक्षेत्रीले सहजीकरण गर्नेछन् ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख नरेश श्रेष्ठले उद्घाटन गरेको उक्त तालिम ६ दिनसम्म चल्ने छ ।