कोहलपुरः बाँकेको कोहलपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । नगरपालिकाका सबै बालबालिकाले पूर्ण खोप लगाएपछि कोहलपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको हो ।
वार्षिक रुपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम अन्तर्गत् यसवर्ष पनि घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
मंगलवार एक कार्यक्रमका बीच नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकालाई पूर्ण खोप घोषणा गरे । उनले बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने बताए ।
उनले त्यसका लागि समुदायस्तरमा स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्न निर्देशन समेत दिएका छन् । कोहलपुर नगरपालिकाले स्वास्थ्य सेवाको गुणस्तरियता तथा प्रभावकारीतालाई विशेष ध्यान दिएको भन्दै कुनैपनि नागरिकले स्वास्थ्य सेवाबाट बञ्चितीकरणमा पर्न नहुने नगर प्रमुख आचार्यले बताए ।
जिल्ला समन्वय समिति बाँकेका उप प्रमुख सीता कार्कीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि स्वास्थ्यकर्मीहरुले उल्लेख्य भूमिका निर्वाह गरेको बताइन् । उनले संक्रामक रोगबाट बालबालिकालाई सुरक्षित राख्न खोप अनिवार्य रहेको बताइन् ।
कोहलपुर नगरपालिका-११ की वडा अध्यक्ष कल्पना शर्मा अधिकारीले बालबालिकालाई विभिन्न रोगहरुबाट जोगाउन खोपको विकल्प नभएको बताइन् ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले कुनैपनि बालबालिका खोपबाट बन्चित हुन नहुनेमा आफुहरु सजग रहेको बताए । कार्यक्रममा महिला स्वास्थ्य स्वमसेविकाको तर्फबाट बोल्दै बिना चालिसेले बालबालिकालाई नियमित खोप प्राप्तिका लागि अझै पनि अभिभावकलाई सचेत पार्न जरुरी रहेको बताइन् ।
कोहलपुर नगरपालिका अन्तर्गत जन्मेदेखि ११ महिनाका एक हजार नौं सय १२ जना बालबालिकाले नियमित रुपमा पूर्ण खोप लगाएपछि सतप्रतिशत पूर्ण खोप सुनिश्चितता भएको स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले बताए ।
पूर्ण खोप सुनिश्चिताका लागि गरिएको घरधुरी सर्वेक्षणमा १६ महिनादेखि ५९ महिनासम्मका तीन हजार नौं सय ९१ जनाले समेत सबै खोप लगाएको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत अमृत रानाले जानकारी दिए ।
सर्वेक्षणका क्रममा १६ देखि ५९ महिनासम्मका ३९ जनाले खोप लगाउन छुटेका पाइएपछि उनीहरुलाईलाई पनि खोप लगाइएको रानाले बताए ।
उक्त कार्यक्रममा जिल्ला खोप समन्वय समितिले कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले सन्चालन गरेको उक्त कार्यक्रममा सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विकले स्वागत मन्तव्य दिएका थिए । घोषणा कार्यक्रममा वडा अध्यक्षहरु, स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु, संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।
(फोटो फिचर)