मानव शरीरमा ढाड भन्नाले गर्दनको पछाडिदेखि कम्मरसम्मको भाग हो। मान्छेको कम्मरमा दुखाइ हुन सक्छ। कम्मर दुख्नु भनेको ढाडको तल्लो भाग दुख्नु हो।
कम्मर दुखाइका कारण धेरै हुन सक्छन्।
पहिलो कारण आसन (बसाइ) को तरिका हो। कम्मरको दुखाइ हाम्रो आसनसँग सम्बन्धित हुन्छ। बसाइसँगै सुताइ र काम गर्ने तरिकाको पनि प्रभाव हुन्छ। भुइँको सामान टिप्ने तरिकाको पनि प्रभाव पर्छ।
कतिपयको पेसा दैनिक ६–७ घण्टा एउटै कुर्सीमा बसेर काम गर्नुपर्ने खालको हुन्छ। यस्तो बसाइले कम्मर दुख्ने समस्या हुन सक्छ।
आसनपछिको दोस्रो कारण हो उमेर। उमेर ढल्किँदै जाँदा कपाल फुल्ने, आँखा र कान कमजोर हुने भएजस्तै मेरूदण्ड (ढाड) मा पनि परिवर्तन आउँछ। मेरूदण्ड कमजोर हुँदै जान्छ।
शरीरको मोटोपन पनि कम्मर दुखाइको कारण बन्छ। बढी मोटोपनले कम्मर दुख्छ। पेट ठूलो पेट छ भने त्यसले अगाडितिर तान्ने भएकाले कम्मर दुख्छ।
कम्मर दुख्ने अर्को कारण धूमपान हो। अत्यधिक धुमपान गर्ने व्यक्तिको फोक्सोमा हानि पुग्छ। शरीरका तन्तुमा असर पर्छ। भित्रभित्र अक्सिजन कम हुन्छ र कम्मर दुख्न थाल्छ।
तनावपूर्ण जीवनशैली पनि कम्मर दुख्नुको एउटा कारण हो। यसमा कम्मरको तल्लो भाग दुख्ने हुन्छ।
जथाभावी शारीरिक व्यायाम गर्दा, योगासन र बढी तौल उठाउँदा तरिका नमिल्दा पनि कम्मर दुख्ने समस्या हुन्छ। कसैलाई व्यायाम नगरेर त कसैलाई बढी व्यायाम गरेर दुख्छ।
नशा च्यापिएर पनि कम्मर दुख्छ। टिबी (क्षयरोग), कुनै संक्रमण, मिर्गौला र मूत्र नलीमा हुने कुनै समस्याका कारणले पनि कम्मर दुख्छ।
महिलाहरूलाई पाठेघरको समस्याले कम्मर दुख्न सक्छ।
सामान्यतया कम्मर दुखेको अनुभव नगर्नेहरू कोही पनि हुँदैन। कम्मर दुखाइबाट जोगिन विभिन्न उपायहरू अपनाउनुपर्छ।
लगातार ४५ मिनेटभन्दा बढी एकै ठाउँमा बसेर काम गर्नु हुँदैन। यति समय बसेपछि एकछिन हिँड्नुपर्छ। यति मात्र गर्दा पनि कम्मर दुखाइबाट धेरै हदसम्म जोगिन सकिन्छ।
कम्मर दुखेको समस्या लिएर अस्पताल आउने बिरामीको संख्या निकै ठूलो हुन्छ। त्यसपछि गर्दन दुखेर आउनेहरू हुन्छन्। छाती पछाडिको भाग दुखेर पनि आउँछन्।
ढाडको जुनसुकै भाग दुखेको भए पनि डाक्टरलाई भेट्नुपर्छ। दुखाइ अवधि लामो छ भने त झन् भेट्नैपर्छ। कुनै कारणले ढाडमा चोट लागेको छ भने तत्कालै भेट्नुपर्छ।
कुनै किसिमको संक्रमण भएर कम्मर दुखेको छ भने दुखाइ खुट्टातिर सर्ने, खुट्टा झमझमाउने र लाटो भएको जस्तो हुने लक्षण हुन्छ। हिँड्दा टेढो पर्नुपर्ने हुन सक्छ। यस्तो अवस्थामा जतिसक्दो चाँडो डाक्टरलाई भेट्नुपर्छ।
ढाड दुखेको त हो, दुखाइ कम गर्ने औषधि खान्छु, मसाज (मालिस) गर्छु, तातो पानीले सेक्छु भनेर भर पर्दा ठूलो असर पर्न सक्छ।
कम्मर वा ढाडको कुनै भाग दुखेर असजिलो भएको छ भने अलमल नगरी डाक्टरलाई भेट्नुपर्छ। डाक्टरको परामर्शबिना जथाभावी औषधि खानु हुँदैन। घरेलु उपचारको मात्र भर पर्नु हुँदैन।