नेपालगन्जः अपाङ्गता भएका किशोरकिशोरी तथा युवाहरुको वृह्त यौनिकता र यौन तथा प्रजनन स्वास्थ्य पहुँच सम्वन्धी नेपालगन्जमा अन्तरक्रिया गरिएको छ । नेत्रहिन युवा संघ नेपालको आयोजना तथा एम्लिवाई चेन्जको साझोदारीमा सोमवार आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागिहरुले अपाङ्गता भएका किशोरकिशोरी तथा युवाहरुको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि बनेका ऐन कानूनहरुको कार्यान्वयन जरुरी रहेको बताए ।
‘अपाङ्गता भएका किशोरकिशोरी तथा युवाहरुका लागि नीतिगत कुराहरु पर्याप्त छन् सहजीकरण गर्दै संघका निर्देशक निर श्रेष्ठले भने–‘तर कार्यान्वयनको पाटो अत्यन्तै कम छ ।’ अहिले तीन तहको सरकार छ । संघले अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा तथा स्वास्थ्यमा सहज पहुँचका लागि बनाउनु पर्ने अधिकांश कानून बनाएको छ । तर प्रदेश र स्थानीय सरकारले त्यसको पूर्णरुपमा कार्यान्वयन नगरेको श्रेष्ठ बताउँछन् ।
२०७८ सालको जनगणना अनुसार कूल जनसंख्याको २.२ प्रतिशत अर्थात साढे ६ लाख अपाङ्गता भएका व्यक्तिहरु छन् । त्यसमा युवाको संख्या एक लाख ६७ हजारको हाराहारीमा छ । तर उनीहरुको शिक्षा र स्वास्थ्यको पहुँच हेर्दा दयनिय अवस्था रहेको अपाङ्गता अधिकारकर्मी भावुकजंग थापा बताउँछन् ।
उनले अपाङ्गता भएका व्यक्ति अनुकूलको वातावरण नहुँदासम्म स्वास्थ्यमा उनीहरुको पहुँच नहुने बताए । नेपाल परिवार नियोजन संघका प्रमुख रेश्मी श्रेष्ठ अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्यकाबारेमा सचेतना फैलाउन आवश्यक रहेको बताउँछिन् । खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी वलीले अपाङ्गता भएका किशोरकिशोरीहरुको प्रजनन स्वास्थ्यलाई प्राथमिकता दिइएको बताइन् ।
कार्यक्रममा विभिन्न पालिकाका शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिका शाखाका प्रमुखहरु, अपाङ्गताका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । नेपाल नेत्रहिन संघ बाँकेका अध्यक्ष समेत रहेकी केन्द्रीय सदस्य रिता खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अर्जुन रावलले गरेका थिए ।