पाठेघरको मुखको क्यान्सरको नि:शुल्क स्क्रिनिङ शिविर सुरु

    • स्वास्थ्य पेज

  • २७ बैशाख २०८२, शनिबार

कोहलपुर: बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर-४ स्थित रझेना स्वास्थ्य चौकीमा महिलाको पाठेघरको मुखको क्यान्सरको नि:शुल्क स्क्रिनिङ शिविर सुरु भएको छ । शिविरको कोहलपुर नगरपालिकाकी नगर उपप्रमुख संगिता सुवेदीले उद्घाटन गरिन् । त्यसक्रममा उनले कोहलपुर नगरपालिका गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्राथमिकताका साथ काम गर्दै आएको बताइन् ।

पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखको क्यान्सर समस्या विकराल बनेको भन्दै समयमै पहिचान गरेर त्यसको न्यूनीकरणका लागि शिविर उपयोगी भएको बताइन् । उनले स्वास्थ्यमा सबैको पहुँच स्थापित गर्न वडामा आधारभूत तथा स्वास्थ्य स्वास्थ्य चौकी र नगरमा नगर अस्पतालले सेवा प्रवाह गर्दै आएको पनि जानकारी दिइन् ।

यस्तै सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद बिकले समयमै रोगको पहिचान गरेर निरोगी जीवनयापनका लागि शिविर महत्त्वपूर्ण रहेको बताए । कोहलपुरस्थित आर.एम. हस्पिटलको आयोजना तथा कोहलपुर नगरपालिका महिला बालबालिका शाखाको सहयोगमा सुरु भएको शिविरको उद्घाटन कार्यबहाक अध्यक्ष निर्मला थापाको अध्यक्षतामा भएको महिला तथा बालबालिका शाखाकी तारा भण्डारीले जानकारी दिइन् ।

वडा नम्बर ३ र ४ लाई लक्षित गरेर आयोजना गरिएको शिविरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कविता सिन्हाको नेतृत्वको विशेषज्ञ टोलिले सेवा दिरहेको छ ।

यसअघि कोहलपुर नगरपालिका वडा नम्बर १५ स्थित नगर प्रबर्द्धन केन्द्रमा गएको बैशाख १८ गते भएको शिविरमा ६० जना महिलाले सेवा लिएका थिए । ती मध्ये १० जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ देखिएको थियो ।

  • २७ बैशाख २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech