नेपालगन्जः नेपालगन्जमा चिकित्सक र स्वास्थ्यकर्मीले नै हात्तिपाइले रोग विरुद्धको औंषधी सेवन नगरिदिएका कारण हात्तिपाइले रोग निवारण चुनौतिपूर्ण बनेको छ । ठूला अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक लगायतका पढेलेखेकै वर्ग समुदायले हात्तिपाइले रोग विरुद्धको औंषधी सेवन नगरिदिएका कारण नेपालमै हात्तिपाइले रोग निवारण चुनौतिपूर्ण बनेको हो ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले सोमवार राष्ट्रिय हात्तिपाइले रोग विरुद्धको आम औंषधी सेवन अभियान सम्वन्धी गैर सरकारी संघसंस्थासँगको अन्तरक्रियामा महाशाखा प्रमुख रामबहादुर चन्दले जानेबुझेका व्यक्तिबाटै अभियानमा असहयोग भइरहेको गुनासो सुनाए । बाँकेमा विगत १३ वर्षदेखि हात्तिपाइले रोग विरुद्धको औंषधी सेवन अभियान चलिरहेको छ ।
६ वर्षमै अभियान सकिने भएपनि सबै मानिसहरुले औंषधी नखाइदिएका कारण निवारण अभियान प्रभावित छ । बाँकेमा समुदायस्तरमै हात्तिपाइले रोगको संक्रमण रहेको परीक्षणका क्रममा पुष्टि भइसकेको छ । औंषधी सेवन गर्नेले सेवन गरिरहने र नगर्नेले गर्दै नगर्ने गरेका कारण अभियान निष्कर्षमा पुग्न सकेको छैन ।
कतिपयलाई औंषधीबारे जानकारी नै नभएर, कतिपयलाई औंषधीको असरको डर र कतिपय अफवाहको पछि लाग्दा खानै पर्ने औंषधी नखाइदिएका कारण निवारण चुनौतिपूर्ण देखिएको चन्द बताउँछन् । नेपालगन्जमा गएको फागुन ५ गतेदेखि १४ औं चरणको औंषधी सेवन अभियान चलिरहेको छ । सबैलाई औंषधी खुवाउने गरी समुदायस्तरमा अभियानलाई प्रभावकारी गराउने नीतिका साथ अगाडि बढिएको उनले बताए ।
अहिलेसम्म ५३ प्रतिशतले मात्रै औंषधी सेवन गरेको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका वडा नंं.३, ४, ५, ७, ८, ९, १३, १६, २१, २२ र २३ मा ५० प्रतिशत भन्दा कमले औंषधी खाएका छन् । हात्तिपाइले रोग निवारणका औंषधी सेवनको विकल्प नभएको वरिष्ठ जनस्वास्थ्य प्रशासक रामकुमार महत्तोले बताए ।
कार्यक्रममा नेपालगन्ज उमपहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, लुम्विनी प्रदेशका स्वास्थ्य निर्देशक डा.रोशनलाल चौधरी, मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासन प्रमुख नोदनारायण चौधरी लगायतले हात्तिपाइले रोग विरुद्धको औंषधी सेवनका लागि सामुहिक अभियान थाल्न निर्देशन दिए । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक विनोद विकले गरेका थिए ।