‘आठौँ तह बराबरको भत्ता नदिँदासम्म आन्दोलन रोकिन्न’

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०८२, आईतवार

काठमाडौंः आइतबार पनि निजी मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलन जारी छ । चिकित्सा शिक्षा आयोगको १६ औँ पूर्ण बैठकले गरेको निर्णय कार्यान्वयनको माग गर्दै एक महिनादेखि आवासीय चिकित्सक आन्दोलनमा छन् ।

आज पनि आवासीय चिकित्सकले बिजुलीबजार पुलबाट र्‍याली निकाल्दै माइतीघर पुगेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डा शेषराज घिमिरेले जानकारी दिए । निजी मेडिकल कलेजले आवासीय चिकित्सलाई आठौँ तह बराबरको भत्ता नदिदासम्म आन्दोलन नरोकिने डा घिमिरेको भनाइ छ ।

चिकित्सा शिक्षा आयोगको १६ औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौं तह बराबरको निर्वाह भत्ता दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजका सञ्चालनकले आठौँ तह सरह भत्ता दिन नसक्ने बताउँदै आएका छन् । शुक्रबार नेपाल चिकित्सक सङ्घले इमर्जेन्सी र सघन उपचार सेवा बाहेकका सबै सेवा ठप्प पार्न देशैभरका चिकित्सकलाई आह्वान गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घका सम्पूर्ण कार्यक्रम फिर्ता गर्न अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वास्थ्य सेवालाई अवरुद्ध हुने गरी कुनै पनि कार्य नगर्न तथा नागरिकले निर्वाध रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चताका लागि सक्रियता पूर्वक लाग्न अपिल गरेका छन् ।

साथै मन्त्रालयले आवासीय चिकित्सकको मनोवल वृद्धि तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई सेवा प्रवाहका लागि कार्यस्थलमा सुरक्षित र सहज वातावरण निर्माण गर्न चिकित्सक संघ, निजी मेडिकल कलेज तथा प्रतिष्ठान लगायतसम्बन्धी सबैलाई अनुरोध गरेको छ ।

  • १४ बैशाख २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech