दही–मही : स्वाद, स्वास्थ्य र संस्कृति

बट्टाको जुसमा ७० प्रतिशतभन्दा बढी चिनी हुन्छ, फलफूलको नाममा रसायन राखिएको हुन्छ । त्यसैले धेरै दिनसम्म पनि यो बट्टामा राखिएको जुस विग्रिदैन तर यो खाँदा बच्चाको स्वास्थ्यचाहिँ बिग्रन्छ, त्यसैले पाँच अमृतमध्येको एक दही खाऔं, मोही खाऔं ।


    • अरुणा उप्रेती / जनस्वास्थ्यविद्

  • १० बैशाख २०८२, बुधबार

पाँच अमृतमध्ये दही एक ‘अमृत’ मानिन्छ । असार १५ त कृषकहरूको विशेष दिन नै हो दही खाने । हिन्दु संस्कारअनुसार कुनै शुभकार्यमा जानुपर्‍यो भने दही खुवाउने चलन छ । दसैँमा चामल र दही मुछेर टीका लगाउने चलन छ । दही नेपाली हिन्दु संस्कृतिको अभिन्न अंग मानिन्छ ।

दक्षिण भारतमा पनि दहीका विशेष परिकार खानाको अन्त्यमा खाने गरिन्छ । नेपालमा भक्तपुरको ‘जुजु धौको स्वादका बारेमा नजान्ने कोही छैनन् होला ।

अहिले विभिन्न रेडियो, पत्रपत्रिका, टीभीमा पेट ठिक पार्न ‘ल्याक्टो ब्यासीलाई’ खानूस् अनि बट्टामा राखेको झोल पदार्थ कलाकारले खाएर ठिक भएको प्रचार गरिन्छ । तर पेट ठिक पार्न, खाना पचाउन दही–मोहीको सेवन उत्तम हुन्छ किनभने यसैमा छ– ‘ल्याक्टो ब्यासीलाई’ ।

उमेर बढ्दै गएपछि कतिपयलाई दूध खाएपछि पेट गडबड हुन सक्छ, तर दूधबाट बनेको दही, मोही खाँदा उनीहरूलाई केही समस्या हुँदैन । किनभने दूधमा भएको ‘ल्याक्टोज’ नामक तत्त्व नपच्नेहरूलाई दही सजिलै पच्छ ।

विभिन्न वैज्ञानिक अनुसन्धानले देखाएका छन् कि दहीले पेटमा भएका असल कीटाणुलाई बढाउँछ । दहीले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ । एन्टिबायोटिक खाएपछि कसै–कसैलाई पेट गडबड हुँदा दही, मोही खाने सल्लाह दिइन्छ । दहीमा भएको क्याल्सियमले हड्डी बलियो राख्छ, त्यसैले बालबालिका, वृद्ध र महिनावारी सुकिसकेका महिलाका लागि यसको विशेष महत्त्व छ

दहीमा भएको भिटामिन ‘बी १२’ ले स्वास्थ्यलाई फाइदा गर्छ । गर्मीको मौसमसँगै बट्टाको फलफूलको जुस, चिसो पेय पदार्थ आदिको प्रयोग धेरै गरिन्छ । अभिभावकले आफ्ना कलिला सन्तानलाई यस्तो जुस र चिसो पेय पदार्थ दिँदा खुसी महसुस गर्छन् । तर यस्तो पेय पदार्थले बच्चाको कलेजो, पेट, मुटु, मस्तिष्कमा खराबी पैदा गर्छ, बच्चाहरू जीवनभरिका लागि रोगी हुन्छन्  ।

तर अपशोच ! अहिलेको बजारमा आउने विज्ञापनमा अनेक कलाकारले यस्तो बट्टाको रस, चिसो पेय पदार्थको विज्ञापन गर्छन् । अनि सबैले यो त ठिक हो भन्ने ठान्छन् । सरकारको ‘जनस्वास्थ्य’ मा काम गर्ने स्वास्थ्य मन्त्रालयले यस्ता गलत विज्ञापनलाई वास्ता गर्दैन अनि नसर्ने रोग बढ्छन् ।

दहीबाट बन्ने पनिर, सिकनी आदि तत्त्वले स्वाद र स्वास्थ्य दुवै दिन्छ । कब्जियत हुने व्यक्तिहरूका लागि त दही र मोहीले धेरै फाइदा गर्छ । उपवास बस्दा दही, मोही खाँदा शरीरमा पानी पनि पुग्छ, अनेक सूक्ष्म पौष्टिक तत्त्व पनि पाइन्छ ।

दहीलाई पानीमा घोलेर मही बनाइन्छ । यसलाई मधेशतिर ‘छाछ’ वा ‘गोरस’ पनि भनिन्छ । दही मथेर नौनी निस्कन्छ, यसबाट घिउ बनाइन्छ । यी सबै वस्तु स्वास्थ्यका लागि फलदायक छन् । तराईको गर्मीमा त महीले शरीरमा पानीको कमी पनि पूर्ति गर्छ । पहिले किसानहरू खेतमा काम गर्न जाँदा ‘छाछ’ लिएर जान्थे किनभने ‘उनीहरूको काम गर्दाको प्यास र थकान छाछले कम गर्छ’ भन्ने जानकारी थियो । अपशोच अहिले किसानले मोही होइन, घटघट ‘कोल्ड डि्रंक’ पिउँछन् अनि आफ्नो हड्डी, मस्तिष्क खराब पार्छन् ।

पहिले–पहिले हजुरआमाहरूले बालबालिकालाई दही–भात मुछेर खुवाउने चलन थियो । यसले गर्दा बालबालिकाको ‘पेट ठिक रहन्थ्यो’ । हजुरआमालाई दही र मोहीबारे वैज्ञानिक ज्ञान थिएन, तर फाइदा गर्छ भन्ने थाहा थियो । पहिले कब्जियत हुँदा दही र केरा मुछेर खुवाउने चलन थियो । दही र केराले कुपोषित व्यक्तिको स्वास्थ्य राम्रो पार्छ, बिरामीबाट तंग्रिन पनि मद्दत गर्छ भन्ने भनाइ छ । त्यसैले नै होला गाउँघरमा ठेकीमा दही, मोही बनाएर पाहुनालाई स्वागत गरिन्थ्यो । दही, मोहीले खाना पच्न मद्दत गर्छ । त्यसैले होला नेवार समुदायको भोजमा दही र मूला राखिएकै हुन्छ । अचेल त आधुनिक तरिकाले गरिने ‘बुफे’ भोजमा पनि मिठाई र दही राख्ने चलन छ । यदि त्यो दही जुजु धौ भयो भने त पाहुनाले झन् मिठो मानेर खान्छन् । सबैले दही र मोहीको प्रयोगबारे बुझ्ने र प्रयोग गरे कति राम्रो हुने थियो किनभने यस्तो परम्पराको वैज्ञानिक र सांस्कृतिक दुवै महत्त्व छ ।

म त बेलाबेला विभिन्न आरोप पनि खेपिरहेकी हुन्छु । ‘तपाईंले बाहेक अरू कुनै पनि स्वास्थ्यकर्मीले यस्तो विज्ञापन गलत र यस्ता पेय पदार्थले खराब गर्छन् भन्दैनन् । के तपाईं मात्र कसैले नजानेको कुरा सिकेर आएको मान्छे हो ?’ भनेर पनि लाञ्छना लगाउँछन् । त्यस्तो बेला म चुप लाग्छु । अनि कति जनाले भन्छन्– ‘गर्मीमा प्यास लागे के खाने त ?’

यस्तालाई मेरो सुझाव हुन्छ– ‘मोही, कागती पानी आदि पनि छन् नि त ! गर्मीका बेला शरीरमा पानीको कमी नहोस् भनेर वीरेनुन र कालो मरीच हालेर मही पिउँदा स्वाद र स्वास्थ्य दुवै ठिक हुन्छ ।’

कोल्ड ड्रिंक महँगो र स्वास्थ्यमा हानि गर्छ, मोही सस्तो र स्वस्थकर हुन्छ । मही वा छाछको प्रयोग बालबालिकालाई दिँदा पैसाको सदुपयोग र स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । विभिन्न प्रकारका चिसो, गुलियो पेय पदार्थ वा बट्टामा राखेका फलफूलका जुसले बालबालिकालाई मोटो बनाउनुका साथै उनीहरूको हड्डी कमजोर गराउँछ, विभिन्न सूक्ष्म पोषक तत्त्वको कमी गराउँछ । जबकि, दही–महीले बालबालिकालाई स्वस्थ बनाउँछ, रोगसँग लड्ने शक्ति दिन्छ र पेट ठिक राख्छ ।

बट्टाको जुसमा ७० प्रतिशतभन्दा बढी चिनी हुन्छ, फलफूलको नाममा रसायन राखिएको हुन्छ । त्यसैले धेरै दिनसम्म पनि यो बट्टामा राखिएको जुस बिग्रिँदैन तर यो खाँदा बच्चाको स्वास्थ्यचाहिँ बिग्रन्छ । त्यसैले पाँच अमृतमध्येको एक दही खाऔं । मोही खाऔं । ‘चिसो’ पेय पदार्थको प्रयोगले बालबालिकालाई सानोमा नै मधुमेह हुने सम्भावना बढ्छ, यसका बारे धेरै वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेको छ ।

पिउनका लागि मात्र होइन, दही–मही मुछेर अनेक थरीका परिकार बनाउन सकिन्छ । सुदूरपश्चिममा दहीमा चामलको पिठो मुछेर पकाइने ‘निसौस्या’ एक विशेष परिकार हो । यो मिठो त हुन्छ नै, लामो यात्रामा लैजाँदा पनि छिट्टै बिग्रँदैन ।

त्यसैगरी अमिलो मही र बेसन हालेर पकाएको ‘कढी’ पनि भारत र नेपालको तराईतिर खुब प्रचलित छ । गर्मीका बेलामा दही र भान्टा वा काँक्राको रायताले शीतलता र स्वाद दुवै दिन्छ । पाल्पाको विशेष दही र उसिनेको आलु मोलेर झानेको चुकौनी भात, चिउरा, रोटी जेसँग पनि खान मिल्छ ।

दहीको पानी निकालेर बनाइएको सिकर्नीमा दालचिनी, स्वादअनुसार मह, सक्खर वा चिनी अनि काजु, किसमिस हाल्दा एक विशेष परिकार बन्छ । पश्चिम बंगालमा दहीमा केसर हालेर बनाएको श्रीखण्ड भन्ने विशेष प्रकारको दहीको स्वाद एकचोटि खाएपछि बिर्सन सकिन्न ।

रसियनहरू बन्दाकोपी र चुकन्दर हालेर पकाएको विशेष प्रकारको सुपमा दही हाल्छन् । यसलार्ई ‘स्मिताना’ भनिन्छ । यो युरोपभरि प्रसिद्ध छ । दही खानका लागि मात्र होइन, छाला र कपालमा लगाएर छाला स्वस्थ पार्न पनि प्रयोग गरिन्छ ।

दही, बेसन र बेसार मिलाएर अनुहार सफा गर्ने पुरानो चलन हो । चाया परेको कपालमा अमिलो दही र तोरीको तेल लगाएर कपाल नुहाउने चलन पनि छ । घामको किरणले छाला डढ्यो भने दही लगाएर शीतल गराउने चलन छ । दही, मह, कागती अनुहारमा लगाउने सल्लाह त हजुरआमाहरूले पनि दिने गर्थे, अहिले विभिन्न पार्लरमा काम गर्ने व्यक्तिहरूले त्यही सल्लाह दिन्छन् ।

हुन त दूध र दहीको प्रयोग गर्नु हुँदैन भन्ने केही व्यक्ति पनि छन् । माछा, मासु, मह, दूध र दूधजन्य वस्तुहरू केही नखाने उनीहरूले के तर्क गर्छन् भने ‘मानिसले जनावरको दूध वा दुग्धजन्य पदार्थ खानु ठिक छैन । यसले शरीरलाई हानि गर्छ ।’ यस्ता व्यक्तिलाई ‘भेगान’ भनिन्छ । उनीहरूको तर्कसँग सहमत हुने मानिसले दूध–दही खाँदैनन् । तर विभिन्न वैज्ञानिक अनुसन्धानले दही स्वास्थ्यका लागि उपयुक्त छ भनेर देखाएकाले ५ अमृतमध्ये एक दही, मोही प्रयोग गर्ने होइन त ?

  • १० बैशाख २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech