मस्तिष्क मृत्यु पश्चात अंगदान गरेर अर्को व्यक्तीको ज्यान जोगाऔं

    • स्वास्थ्य पेज

  • १० बैशाख २०८२, बुधबार

नेपालगन्जः मानव अगं प्रत्यारोपण विज्ञ डा.पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु पश्चात अंगदान गर्न सकिने कुरालाई आमसर्वसाधरण नागरिकमाझ बुझाउन जरुरी रहेको बताएका छन् । भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा प्रारम्भ गरेपछि आयोजित मस्तिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपण कार्यक्रममा उनले यसबारे आमसर्वसाधरणलाई बुझाउन जरुरी रहेको बताए ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र भक्तपुरका निर्देशक समेत रहेका उनले भने-‘अंगदान जो सुकैले पनि गर्न सक्छ । मृत्युपछि गरिने अंगदानले अरुको जीवन बाँच्न सक्छ भने किन नगर्ने ?’ डा.श्रेष्ठ थप्छन् -‘जलेर खरानी भएर जाने शरीरका केही अंगहरु दान गरेर अरुको जीवन जोगाउन सकिन्छ ।’
नेपालगन्जको भेरी अस्पतालमै मस्तिष्क मृत्यु पश्चात अंगदान र प्रत्यारोपन गर्न सम्भव हुने उनले प्रष्ट्याए। जिवित रहँदा कसैले आफ्नो मृत्यु पश्चात अंगदान गर्न सहमती जनाएमा यस्तो सुविधा भेरी अस्पतालले दिन सक्ने उनले बताए । भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भइसकेको छ उनले भने -‘अंगदान पनि भेरीमै गर्न सकिन्छ । त्यो सेवा प्रवाह गर्नका निमित्त हामी उत्साहित छौं ।’

डा.श्रेष्ठले मस्तिष्क मृत्यु पश्चात पनि कतिपय अंग काम लाग्ने भएकाले अंगदान गर्न सकिने बताए । ‘कसैले आफ्नो अंग दान गर्ने सहमती जनाउनु भयो भने मस्तिष्क मृत्यु पश्चात हामीले मृतकको अंग निकालेर अर्को ब्यक्तीलाई दिन सक्छौं, जसले अंग पाएपछि पुर्नजन्म पाउनेछ,’ उनले भने । एउटा व्यक्तिले अंगदान गरे ८ जना व्यक्तिको ज्यान जोगाउन सकिने उनको भनाइ छ । मानिसले ज्यूँदैमा पनि र मृत्यु पश्चात पनि अंग दान दिन सक्छन् । मिर्गौला, कलेजो लगायतका अंग दान ज्यूँदैमा पनि दिने गरिएको छ ।

अंग लिने भन्दा दिने व्यक्ती स्वभाविकरुपमै जोखिममा हुन्छ । तर अध्ययनहरुले अंग दिने व्यक्ती सबैभन्दा बढी स्वस्थ देखिएको डा.श्रेष्ठ अनुभूव सुनाउँछन् । उनी भन्छन् -‘अंग दान गरेपछि उनले आफ्नो शरीरबारे सजगता अपनाउन छ । बढी केयर गर्छ यसकारण अंग लिने भन्दा पनि दिने व्यक्तीको आयु बढी देखिएको छ । ‘मस्तिष्क मृत्यु पश्चात मिर्गौला, मुटु, सानो आन्द्रा, प्याङुक्रियाज, फोक्सो र कलेजो लगायतका अंग मृत व्यक्तीबाट निकालेर अर्को व्यक्तीलाई दिन सकिने उनले बताए ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदी

अंगदान गर्ने प्रचलन पछिल्लो समयमा क्रमशः बढ्दै गएको निर्देशक श्रेष्ठ बताउँछन् । मस्तिष्क मत्यु पश्चात दान गरेको अंग अर्को ब्यक्तीमा प्रत्यारोप गरेर केन्द्रले धेरैको ज्यान बचाएको उनले सुनाए । ‘जिवित अवस्थामा पनि कसैले मृगौला, कलेजो जस्ता अंग दान गर्न सक्छन्, तर जिवित अवस्थामा सबैले जो कोहीका लागि दान गर्दैनन्,’ श्रेष्ठले भने- ‘मस्तिष्क मृत्यु पश्चात अंग दान गर्ने कसैले सहमती दिन्छ भने भेरी अस्पतालमै अंग प्रत्यारोपन गर्न सकिन्छ ।’ तर, अंगदान र प्रत्यारोपको काम निश्चित समयभित्र गरिसक्नुपर्ने उनको भनाइ छ ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्रमा १२ वर्षको अवधिमा १ हजार ४ जनाको मिर्गौला प्रत्यारोपण गरिएको उनले बताए । मिर्गौला प्रत्यरोपण सेवा पोखरा, सुर्खेत, धनगढी लगायतमा जिल्लामा पनि विस्तार गरिएको उनले बताए । अहिले एक सय केन्द्रबाट करिव ३० हजारले डायलाइसिस सेवा लिइरहेका छन् । पछिल्लो समय डायलाइसिस सेवा र प्रत्यारोपण सेवा विस्तार गरिएसँगै मिर्गौला समस्याबाट हुने मृत्युवरण धेरै रोखिएको उनको भनाइ छ ।

केन्द्रसँगको सहकार्यमा भेरी अस्पतालले मंगलवारदुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेको थियो। केन्द्रले नेपालगन्जमा मंगलबार बेलुका गरेको मस्तिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर अंगदान गरेर अरुको जीवन जोगाउन सकिने भएकाले त्यसबारे सचेतना फैलाउन आग्रह गरेको थियो ।

चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, खेलाडी तथा संचारकर्मी सम्मिलत उक्त कार्यक्रममा मस्तिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपण लगायतका विषयमा कार्यक्रममा सहभागिहरुले विभिन्न जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ केन्द्रका निर्देशक डा. श्रेष्ठले दिएका थिए ।कार्यक्रमको सहजीकरण भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदीले गरेका थिए ।

  • १० बैशाख २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech