कोहलपुरमा दैनिक १० टन फोहोर उत्पादन, व्यवस्थापनका लागि साझेदारीमा जोड

    • स्वास्थ्य पेज

  • ९ बैशाख २०८२, मंगलवार

कोहलपुरः कोहलपुर नगरपालिका क्षेत्रमा दैनिक ८ देखि १० टन फोहोर उत्पादन हुने गरेको छ । सार्वजनिक नीजि साझेदारी कार्यक्रम अनुसार कोहलपुर नगर क्षेत्रभित्रको फोहोर जटायु रिसाइकल्र्स प्रा.लि.ले संकलन र व्यवस्थापन गर्दै आएको छ ।

कोहलपुर नगरपालिकामा मंगलवार आयोजित फोहोर मैला व्यवस्थापनका लागि कानूनी दस्तावेज तर्जुमा सम्वन्धी कार्यक्रममा घर, संस्थागत तथा व्यवसायिक क्षेत्रबाट उक्त फोहोर संकलन हुने गरेको जानकारी दिइएको हो । घरबाट ६३ प्रतिशत, संस्थागतबाट ९ प्रतिशत र व्यवसायबाट २८ प्रतिशत फोहोर उत्पादन हुने गरेको तथ्यांक छ । जटायु रिसाइकल्र्स प्रा.लि.का अध्यक्ष हरि केसीका अनुसार स्थानीय नगरबासीहरुले साथ नहुँदा कोहलपुरमा फोहोर संकलन गर्न समस्या भइरहेको छ ।

‘हाम्रो उद्देश्य कोहलपुर क्षेत्रभित्रको सम्पूर्ण फोहोर संकलन गरेर नगरलाई सरसफाईयुक्त सहर बनाउने नै हो उनले भने–‘यसमा नगरबासीले पूर्णरुपमा साथ दिनुभएको छैन ।’ कोहलपुरमा एक लाख बढी जनसंख्या छ । २४ हजार बढी घरधुरी छन् । ती मध्ये ३ हजार ५ सयको हाराहारी घरधुरीमात्र जटायुका सदस्य छन् । सदस्य भएकाहरुको मात्रै जटायुले फोहोर उठाउने गरेको छ । त्यसका लागि नगरवासीले सय रुपैयाँ देखि पाँच सय रुपैयाँ मासिक शुल्क तिर्नुपर्छ ।

नीजि घरले एक सय रुपैयाँ, संस्थागत (कार्यालय)को हकमा एक सय ५० देखि दुई सय ५० रुपैयाँसम्म र उच्च फोहोर उत्पादन गर्ने व्यवसायीहरुबाट मासिक पाँच सय रुपैयाँ शुल्क बुझाउनु पर्छ । ‘अहिलेसम्मको अवस्था हेर्दा केवल १० प्रतिशतमात्रै फोहोर व्यवस्थापन गर्ने गरिएको छ केसी भन्छन्–‘बाँकी फोहोर बजारमै यत्रतत्र छरिन्छ ।’

फोहोर संकलनका लागि ६ वटा ट्याक्टर, एउटा टिपर, एउटा जेसीभी, एउटा बोलेरो परिचालन गर्ने गरिएको उनले बताए । उनले कोहलपुरलाई फोहोरमुक्त सहर बनाउनका लागि नागरिकहरुलाई सचेत बनाउन आवश्यक रहेको बताउँछन् । जटायुले फोहोर संकलन र व्यवस्थापनका लागि कोहलपुर नगरपालिकासँग १५ वर्षको सम्झौता गरेको छ ।

फोहोर संकलनका लागि सम्झौताअनुसार घाटा व्यहोर्नु परेको उनको भनाइ छ । मासिक ८ लाख ९५ हजार खर्च भइरहेको बताउँदै आम्दानी भने ५ लाख ९४ हजार मात्रै भइरहेको उनले बताए । दीर्घकालीन फोहोर व्यवस्थापनका लागि केही नीतिगत सुधारहरु आवश्यक रहेकोमा उनको जोडछ । उनी सार्वजनिक नीजि साझेदारी कार्यक्रम भइरहेकोले दररेट हेरफेर गर्नुपर्ने आवश्यकता औल्याउँछन् ।

बढ्दो सहरीकरण र फोहोर उत्पादनमा भइरहेको वृद्धिका कारण व्यवस्थापनमा चुनौति भइरहेको कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगिता सुवेदी बताउँछिन् । उनी भएका नीतिहरुको प्रभावकारी कार्यान्वयन गरेर फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने गरी पालिका लागि परेको बताइन् ।

कोहलपुर नगरपालिकाले संस्थागत खानेपानी, सरसफाई तथा स्वच्छता सुधार कार्यसञ्चालन निर्देशिका २०७९, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र सार्वजनिक क्षेत्रको सरसफाई सम्वन्धी कार्यविधि २०७६ जारी गरेर कोहलपुर नगरपालिकाभित्रको फोहोर व्यवस्थापनमा काम गर्दै आएको छ । तर सहभागिहरुले फोहोरको दीर्घकालीन समाधानका लागि फोहोर फाल्नेलाई कानूनअनुसार जरिवाना आवश्यक रहेकोमा जोड दिए ।

जनप्रतिनिधिहरुले भएका नीतिहरुलाई कार्यान्वयन गर्ने र आमसर्वसाधरणले आफ्नो वानिवेहोरा सुधार गर्ने हो भने फोहोर व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने क्रियसिन नेपालका अध्यक्ष आनन्द मिश्र बताउँछन् । कार्यक्रममा फोहोर व्यवस्थापनमा भइरहेको प्रयास, कानूनी सुधार लगायतका विषयमा विन पाउर नेपालका कार्यक्रम संयोजक ज्योति मुक्तान र कार्यक्रम अधिकृत सौरभी सुवेदीले सहजीकरण गरेका थिए । कार्यक्रममा कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, फोहोर व्यवस्थापनमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरु, सरोकारवाला निकाय लगायतको उपस्थिति रहेको थियो ।

  • ९ बैशाख २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech