हिजोआजको व्यस्त जीवनशैलीका कारण राम्रोसँग सुत्ने वा आराम गर्ने समय कमैसँग मात्रै हुन्छ । दिनभरिको व्यस्तता र कामको दबाब पछि, जब शरीर र मन दुवै थकित महसुस गर्न थाल्छ, तब काम गर्न मन लाग्दैन र ऊर्जा सकिएको जस्तो लाग्न थाल्छ । कि त धेरै निद्रा लाग्न थाल्छ कि जतिबेला पनि आलस्य महसुस हुन्छ । तर सही बानीहरू अपनाउने हो भने तुरुन्तै ऊर्जावान् महसुस गर्न सकिन्छ र आफ्नो काममा ध्यान केन्द्रित गर्न सकिन्छ ।
लामो सास लिनुहोस् र शरीर तन्काउनुहोस्
जब तपाईँ धेरै थकित महसुस गर्नुहुन्छ, सबैभन्दा पहिले आफ्नो श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्नुहोस् । लामो सास फेर्दाले शरीरमा अक्सिजनको आपूर्ति बढ्छ र ताजा महसुस गराउँछ । ५–१० मिनेटसम्म गहिरो सास लिनुहोस् । केही स्ट्रेचिङ पनि गर्नुहोस्, विशेष गरी घाँटी, ढाड र काँधको । यसले तपाईँलाई तुरुन्तै ताजा महसुस गराउनेछ ।
पानी पिउने अनि हल्का खाजा खाने
शरीरमा पानीको कमी (डिहाइड्रेसन) थकानको प्रमुख कारण हुन सक्छ । यदि तपाईँ थकित महसुस गर्दै हुनुहुन्छ भने, तुरुन्तै एक गिलास पानी पिउनुहोस् र केही हल्का तर स्वास्थ्यकर खाजा खानुहोस् । नरिवल पानी वा कागती पानी पिउनु राम्रो हुन्छ । बदाम, ओखर वा डार्क चकलेट खाँदा पर्नि तुरुन्तै ऊर्जा मिल्छ ।
चिसो पानीले आफ्नो अनुहार धुने वा खल्ल नुहाउने
चिसो पानीले अनुहार धुँदा ताजापनको अनुभूति हुन्छ र निद्रा वा आलस्य हट्छ । सम्भव भएमा खललल नुहाउन पनि सकिन्छ । चिसो पानीले अनुहार धुँदा तुरुन्तै ताजा महसुस गर्न सकिन्छ । नुहाउँदा शरीरलाई आराम मिल्छ र नयाँ ऊर्जाको अनुभूति हुन्छ ।
गीत सुन्ने
कहिलेकाहीँ मानसिक थकान गम्भीर हुन्छ र दिमागलाई विश्राम चाहिन्छ । यसका लागि, आफूलाई मनपर्ने गीत सुन्नुहोस् वा ५–१० मिनेटको लागि कुनै रमाइलो कुरामा आफूलाई व्यस्त राख्नुहोस् । कुनै प्रेरक वा ऊर्जावान् गीत सुन्नुहोस् । कमेडी भिडियोहरू हेर्नुहोस् । नभएर कुनै राम्रो किताब पढ्न पनि सकिन्छ ।