तुलसीपुरः साविकको राप्ती अञ्चलभित्रका जिल्लाहरूमा आँखा स्वास्थ्य उपचार सेवा दिँदै आएको राप्ती आँखा अस्पतालमा विशिष्टकृत सेवा थपिएको छ । राप्ती आँखा अस्पतालमा अन्य विशिष्टकृत सेवासँगै आँखाका बिरामीहरूका लागि विशेषज्ञ ग्लोकमा (जलविन्दु) को सेवा सुरु गरिएको हो ।
अस्पतालका सूचना अधिकारी बालाराम खड्काका अनुसार सोमबारदेखि जलविन्दुको विशिष्टकृत सेवा सुरु गरिएको हो । अस्पतालमा ग्लोकमा र फेको सर्जरीमा विशेषज्ञता हासिल गरेका सहायक प्राध्यापक डाक्टर रञ्जीतकुमार शाह आएसँगै अब ग्लोकमाको सेवा आँखाका बिरामीले पाउने भएका हुन् ।
यस क्षेत्रका जलविन्दु भएका बिरामीहरू यसअघि उपचार गराउन अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालन भएका अस्पतालमा विशेषज्ञ सहित विशिष्टकृत सेवाअन्तर्गत जलविन्दुका बिरामीहरुका लागि अस्पतालमै शल्यक्रियाबाट उपचार गर्नका लागि जनशक्ति र आवश्यक उपकरणको व्यवस्थापन गरिएको बताए ।
अस्पतालका निमित्त प्रशासन प्रमुख शालिकराम गौतमका अनुसार अस्पतालमा दैनिक जलविन्दुका ८ देखि १० जनासम्म बिरामी चेकजाँचका लागि आउने गरेको बताए। उनका अनुसार अस्पतालमा दाङ जिल्लासहित सल्यान, रोल्पा, प्यूठान, रुकुम पूर्व, रुकुम पश्चिमका आँखाका बिरामी आउने गर्छन् । अस्पतालले यस अघि रेटिना, कर्नियाको विशिष्टकृत सेवा दिँदै आएको थियो ।
अस्पतालले एक वर्षको अवधिमा विशिष्टकृत सेवाअन्तर्गत रेटिनाको दुई हजार पाँच सय ४७, कर्नियाका एक हजार छ सय १७, आँखाको सौन्दर्य तथा क्यान्सरका आठ सय ६२ जना बिरामीलाई सेवा दिएको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिए।