नेपालगन्जः नेपालगन्जमा आज हेमोग्लोबिनोप्याथी रोगहरुबारे अभिमुखीकरण गरिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको आयोजनामा आज सिकलसेल एनिमिया, बिटाथालेसिमिया लगायतका रोगबारे स्वास्थ्यकर्मी र सरोकारवालालाई अभिमुखीकरण गरिएको हो ।
जिल्लाका आठ स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख लगायतसंग गरिएको अभिमुखीकरण कार्यक्रममा भेरी अस्पताल नेपालगञ्जमा कार्यरत प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले यी रोगहरुको पछिल्लो अवस्था, न्यूनीकरणका उपाय र अपनाउनुपर्ने स्वास्थ्य सजगताका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
उनले सिकलसेल एनिमिया विशेषगरी थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको बताए । उनले रोगी र बहाक तथा रोगीरोगीबीचको विवाह रोक्न सके मात्र सिकलसेल एनिमिया रोगको बृद्धिदर रोक्न सकिने बताए ।
स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जिल्लामा हेमोग्लोबिनोप्याथी रोगहरुको पहिचान र न्यूनीकरणका लागि भइरहेका प्रयासबारे जानकारी गराएका थिए ।
कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदी, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अंगतबहादुर शाहीलगायतले नसर्ने तथा वंशाणुगत रोग न्यूनीकरणका लागि सचेतना फैलाउन आवश्यक रहेको बताए ।