भेरी अस्पतालमा भोलिदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुँदै

    • स्वास्थ्य पेज

  • ८ बैशाख २०८२, सोमबार

प्रियास्मृति ढकाल ।

नेपालगन्जः लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालका रुपमा रहेको भेरी अस्पतालमा भोलिदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुँदैछ ।

मानव अंग प्रत्यारोपण सेवा केन्द्रसँगको समन्वय र सहकार्यमा भेरी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन लागेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदीले जानकारी दिए ।

मिर्गौला प्रत्यारोपण सेवा सुरुवात गर्न मानव अंग प्रत्यारोपण केन्द्रबाट मिर्गौला प्रत्यारोपण विशेषज्ञ टोलि नेपालगन्ज आइसकेको छ ।

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा.पुकार श्रेष्ठको नेतृत्वमा सेवा प्रारम्भ हुने प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.सुवेदीले बताए । डा.श्रेष्ठ भने भोलि विहानमात्रै आउनेछन् ।

श्रेष्ठको नेतृत्वमा १४ जनाको टोलि परिचालन हुनेछ भने भेरी अस्पतालबाट युरोलोजिष्ट डा.दिपेश गुप्ताको नेतृत्वमा नेफ्रोलोजिष्ट डा.सौरभ सिंह हमाल लगायतका चिकित्सक प्रत्यारोपणमा परिचालन हुनेछन् ।

प्रत्यारोपणपछि युरोलोजिष्ट डा.गुप्ताकै निगरानीमा बिरामीको अनुगमन गरिनेछ । प्रारम्भमा महिनामा एक पटक मिर्गौला प्रत्यारोपण सेवा दिने गरी सेवा प्रारम्भ गर्न लागिएको पनि डा.सुवेदीले बताए ।

‘अहिले महिनामा एउटा प्रत्यारोपण गर्ने गरी सेवा विस्तार गर्दैछौं डा.सुवेदी भन्छन्–‘स्रोत साधन बढ्दै गए सेवालाई पनि विस्तार गरिनेछ ।’ प्रारम्भमा मानव अंग प्रत्यारोपण केन्द्रकै विशेषज्ञहरु सेवालाई निरन्तरता दिनेगरी तयारी थालिएको उनले बताए । स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गरिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एउटा प्रदेशमा कम्तीमा पनि एउटा संघीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने गरी काम अगाडि बढाउँदै लगिएको बताउँछन् ।

यसअघि भेरी अस्पतालमा आयोजित कार्यक्रममा पनि छिट्टै मिर्गौला प्रत्यारोपण सेवा संचालन गर्ने प्रतिवद्धता मन्त्री पौडेलले गरेका थिए । डा.सुवेदीले भेरी अस्पतालको कमाण्ड सम्हालेदेखि अस्पतालका सेवाहरु धमाधम स्तरवृद्धि र विस्तार भइरहेका छन् ।

‘सकेसम्म बिरामीहरुलाई स्तरीय सेवा दिनु पर्छ भन्ने मान्यताका साथ हाम्रो टिम लागिरहेको छ प्रमुख मेसु सुवेदी स्वास्थ्य पेजलाई भन्छन्–‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सिंगो टिमको साथ र अथक मिहिनेतलाई विर्सनु हुदैन ।’

भएका सेवाहरुलाई स्तरीय बनाउने र नभएका सेवाहरुलाई क्रमश थप्दै बिरामीलाई भेरी अस्पतालप्रतिको भरोसा बनाउने अर्जुन दृष्टिका साथ अस्पताल विकास समिति लागि परेको समितिका अध्यक्ष विरेन्द्र बहादुर शाह बताउँछन् ।

  • ८ बैशाख २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech