बर्दिया – बर्दियाको कतर्नियामा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करिब ८ सय बिरामीले सेवा लिएका छन् ।
प्रज्ञा मेडिकल हल, जिके फर्मा र संयुक्त गाइने क्लिनिक नेपालगन्जको संयुक्त आयोजना र कतर्निया खानेपानी तथा सरसफाई उपभोक्ता समिति बर्दियाको सहकार्यमा स्थानिय धर्मभक्त मा.वि. कतर्निया बर्दियामा शिविर सम्पन्न भएको हो । शिविरमा उच्च रक्तचाप, मधुमेह, थाईराईड, कलेजोको समस्या सहित महिलाहरुमा देखिने विभिन्न समस्याका गरि करिब ८ सय भन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जिके फर्माका सञ्चालक अवधराज शर्मा ज्ञवालीले जानकारी दिए ।
स्वास्थ्य शिविरका सहभागीलाई संजिवनी कलेज अफ मेडिकल साइन्सेस नेपालगन्जमा कार्यरत कन्सल्टेन्ट फिजिसियज डा.मधु अर्याल, भेरी अस्पताल नेपालगन्जमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.नविन बुढाथोकी लगायतको टोलीले उपचार तथा परामर्श प्रदान गरेको थियो । शिविरमा २५८ जना बिरामीको मधुमेहको जाँच, १०८ जनाको फोक्सोको जाँच र १५ जनामा निशुल्क क्यान्सरको स्क्रिनिङ गरिएको थियो । अन्य विभिन्न समस्या लिएर आएका बिरामीहरुको समेत उपचार र परामर्श प्रदान गरिएको ज्ञवालीले स्वास्थ्य पेजलाई बताए ।
शिविरमा नि:शुल्क रुपमा पाठेघरको मुखको क्यान्सर जाँच, फोक्सोको जाँच, इसिजि र आवश्यक औषधी समेत नि:शुल्क प्रदान गरिएको थियो । गाउँघरमै विशेषज्ञ चिकित्सक सहितको शिविर आयोजना भएपछि बिरामीहरुले सहज रुपमा सेवा लिएको आयोजकले बताएको छ ।
बिरामीको उपचारमा संलग्न कन्सल्टेन्ट फिजिसियज डा.मधु अर्यालले मानव शरीरमा लाग्ने अधिकांश रोगको स्रोत खानपान र जीवनशैली भएको बताउँदै खानपिनमा अनुशासित हुन सके र नियमित व्यायाम गर्न सके स्वस्थ रहन र विभिन्न रोगबाट बच्न सकिने बताएका छन् ।