भारतबाट आएका ३९ जनामा मलेरियाको सङ्क्रमण

    • स्वास्थ्य पेज

  • ६ बैशाख २०८२, शनिबार

सर्लाहीः सर्लाहीमा भारतबाट आएका ३९ जनामा मलेरियाको सङ्क्रमण देखिएको छ । मलेरियालाई औलो पनि भनिन्छ । स्वास्थ्य कार्यालय सर्लाहीका भेक्टर कन्ट्रोल निरीक्षक मनोजकुमार झाले चालु आर्थिक वर्षमा ३९ जनामा मलेरियाको सङ्क्रमण पुष्टी भएको जानकारी दिए।

भारतको सुरत, मुम्बई, दिल्लीलगायतका स्थानमा मजदुरी गरेर फर्किएका बलरा, लालबन्दी, पर्सा, हरिपुरलगायत पालिकाका व्यक्तिमा मलेरिया देखिएको झाले बताए।

“३९ वटै केस भारतबाट आयातित केस हुन्” स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक झाले भने, “भारतमा काम गर्दागर्दै अत्यधिक ज्वरो आउने तथा अन्य लक्षण देखिएपछि उहाँहरू यहाँ आएर परीक्षण गराउँदा मलेरिया पुुष्टि भएको हो ।”

झाका अनुसार धेरैमात्रामा भारतको सुरतबाट आउनेहरूमा मलेरियाको सङ्क्रमण बढी देखिएको छ । जिल्लाभर फेला परेका ३९ जना मलेरियाका सङ्क्रमितमध्ये २० जनाभन्दा बढी सीमावर्ती बलरा नगरपालिका–२, हथियौल जमुनिया गाउँका रहेका छन् ।

भारतमा बिरामी परेर काम गर्न नसक्ने भएर आएपछि बलरास्थित प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा गएर स्वास्थ्य परीक्षण गराउँदा उनीहरूमा मलेरियाको पुुष्टि भएको हो ।

  • ६ बैशाख २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech