‘क्यान्सर स्क्रिनिङको लागि ठूला अस्पताल जान पर्दैन’

    • डा.उज्वल चालिसे / वरिष्ठ क्यान्सर रोग विशेषज्ञ

  • ६ बैशाख २०८२, शनिबार

क्यान्सर रोग लाग्नुभन्दा अगाडि विभिन्न चरण हुन्छन्। जब रोग बढ्दै जान्छ, तब मात्रै त्यसका लक्षण देखिने हुन्छ। स्क्रिनिङ भनेको के हो भने ती लक्षण देखिनु अगावै हामीले पत्ता लगाउन गरिने विधि तथा जाँच हुन्। त्यसमा साधारण किसिमका जाँच हुन्छन्। धेरै जटिल जाँच हुँदैनन्।

मासमा गर्न मिल्ने, सबैलाई गर्न मिल्ने खालका जाँच हुन्छन्। कुनै कुनै क्यान्सरको हकमा एकदमै प्रभावकारी जाँच गर्न सकिन्छ। तर सबै क्यान्सरमा स्क्रिनिङ गर्न मिल्छ भन्ने अवस्था छैन। त्यसैले स्क्रिनिङ जाँच र इन्भेस्टिगेटिभ जाँचको हामीले भिन्नता बुझ्नुपर्ने हुन्छ। कसैले कुनै जाँच सिटी स्क्यान गरौं, पेटको स्क्यान गरौं भन्नुहुन्छ त्यसलाई हामीले स्क्रिनिङ भन्दैनौं। त्यसलाई हामी इन्भेस्टिगेटिभ जाँच भन्छौं।

स्क्रिनिङ भनेको समुदायमा गएर गर्न सकिने किसिमिका हुनुपर्छ भने जाँच गरेपछिको नतिजा पनि उपयुक्त हुनुपर्छ। महिलाको हकमा देखिने प्रमुख क्यान्सरमा स्तनको क्यान्सर र पाठेघरको मुखको क्यान्सर हो। यी दुइटा क्यान्सरको लागि एकदमै प्रभावकारी स्क्रिनिङका टेस्ट छन्।

पाठेघरको मुखको लागि प्याप स्मेयर, एलबिसी टेस्ट, भिआइए, कल्कोस्कोपी, एचपिभी र डिएनए टेस्टहरूलाई स्क्रिनिङ टेस्टको रूपमा लिइन्छ। कल्कोस्कोपी, भिआइए र प्याप स्मेयर समुदायमै गएर परीक्षण गर्न सकिने भएकाले हामीले विशेष जोड दिन्छौं।

त्यस्तै, स्तनको लागि पनि हातैले छामेर गर्न सकिने साधारण किसिमका जाँच हामीले गर्न सक्छौं। अल्ट्रा साउण्डको माध्यमबाट भित्र कुनै गाँठागुठी छन् कि अनि ती गाँठागुठीमा क्यान्सरका कुनै लक्षण  छन् कि भनेर हेरिने जाँच पर्छ।

४० वर्ष या त्योभन्दा माथिको महिलाहरूलाई मेमोग्राम भन्ने टेस्ट स्क्रिनिङ प्रचलनमा रहेको छ र अहिले नयाँ प्रविधि आएसँगै अरू टेस्ट पनि थपिएका छन्।

पाठेघर र स्तनको लागि प्रभावकारी देखिएको एमआरआई स्क्रिनिङ हो। तर त्यो धेरै खर्चिलो भएको हुनाले हामीले स्क्रिनिङको रूपमा प्रयोग गर्दैनौं। त्यसलाई इन्भेस्टिगेटिभको रूपमा प्रयोग गरिन्छ।अल्ट्रा साउण्ड र मेमोग्राम लगायतमा धेरै खर्च नहुने भएका स्क्रिनिङ पनि सजिलो हुन्छ। यो परीक्षण गर्दा अरू लक्षण देखियो भने थप परीक्षण गर्न सकिन्छ।

स्क्रिनिङ यसै गर्ने भन्ने हुँदैन। यसको लागि निश्चित उमेर, लिंग, जोखिम लगायतको पहिचान गर्नुपर्ने हुन्छ। जस्तो: प्याप स्मेयरको हकमा २१ वर्षपछि या शारीरिक सम्पर्क सुरू गरेपछि १ वर्षमा गर्ने भनेर भन्छौं। हरेक वर्ष गर्ने अनि लगातार तीन वर्षसम्म नेगेटिभ आयो भने प्रत्येक ३/३ वर्षमा गर्न सकिन्छ।

त्यस्तै, स्तन क्यान्सरको हकमा यदि परिवारमा कसैलाई पहिला क्यान्सर देखिएको छ भने उक्त व्यक्तिलाई क्यान्सर देखिएको उमेरभन्दा १० वर्ष अगाडि नै परीक्षण गर्न भनिन्छ भने अरू सामान्य महिलाहरूलाई कम्तीमा ४० वर्ष उमेर पुगेपछि गर्न भन्छौं।

वंशानुगत समस्या हुनसक्ने सम्भावना छ भने जुनसुकै उमेरमा पनि स्क्रिनिङ गर्नुपर्छ।

सुरूआती चरणमा थाहा पाइयो भने क्यान्सर पूर्ण रूपमै निको हुन्छ। तर धेरैजसो क्यान्सरहरू लक्षण देखिएपछि मात्र पत्ता लाग्छन्। त्यसैले यसको लागि स्क्रिनिङ गर्न जरूरी छ। क्यान्सरको स्क्रिनिङ टेस्ट मात्र होइन कि रूटिङ चेकअप पनि गर्नुपर्छ।

चुरोट आफैमा हानिकारक हो। यो कसैले पनि खान हुँदैन। अर्को कुरा कसैले चुरोट खान्छ भने उसलाई बेला मौकामा छातीको एक्सरे गर्नुपर्ने हुन्छ। यो पनि एक किसिमको स्क्रिनिङ नै हो।

४५-५० वर्षमा एकपटक आन्द्राको परीक्षण गर्नुपर्छ। यो उमेरमा गर्नुपर्ने अर्को परीक्षण भनेको क्लोनोस्कोपी हो। त्यस्तै छातीको एक्सरे गरेर फोक्सोको क्यान्सर हुन लागेको पत्ता लगाउन सकिन्छ।
सबै अंगको स्क्रिनिङ गर्ने भन्ने संसारमा कतै पनि सम्भव छैन तर कसलाई कति सम्भावना रहन्छ भनेर पत्ता लगाउन सकिन्छ। त्यस्तै वंशानुगत कारणले हुन सक्ने सम्भावित खतरालाई पनि पत्ता लगाउन सकिन्छ।

कुनै पनि रोगको चाहिनेभन्दा धेरै परीक्षण गर्न जरूरी छैन। हाम्रो खर्च गर्ने क्षमता कस्तो छ भन्नेमा भर पर्छ। हामीले स्क्रिनिङको लागि सुझाव दिँदा व्यक्तिको क्षमता अनि आवश्यकताको आधारमा दिन्छौं।

महिलाको हकमा पाठेघरको स्क्रिनिङ, स्तनको पनि गर्न सकिन्छ र यो प्रभावकारी समेत छ। महिलाको हकमा स्क्रिनिङ सबभन्दा प्रभावकारी हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरमा हो।
पुरूषको हकमा फोक्सो, जिब्रो, घाँटी र प्रोस्टेट क्यान्सरको स्क्रिनिङ गर्न सकिन्छ।

स्क्रिनिङको महत्व बुझाउनलाई हामी दूरदराजका ठाउँमा जान्छौं। हामी हालै मात्र सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा गएका थियौं। त्यहाँ हामीले महिलाको पाठेघर र स्तनको जाँच गरेका थियौं। हामीले उमेर समूह अनि जोखिमको आधारमा स्क्रिनिङ गरेका थियौं। हामीले स्याम्पल ल्याएका छौं। अब ल्याबमा परीक्षण गरेर यसको रिपोर्ट पठाउँछौं। हामीले त्यहाँ क्यान्सरभन्दा पनि संक्रमणको समस्या धेरै देख्यौं। आङ खस्ने लगायतका धेरै समस्या देख्यौं।

स्क्रिनिङ टेस्ट ठूला ठूला अस्पतालमै गर्नुपर्छ भन्ने छैन। धेरैजसो जिल्ला अस्पतालमै गर्न सकिन्छ। कतिपय जिल्लाभन्दा तल्ला तहका अस्पतालमा पनि स्क्रिनिङ गर्न सकिन्छ। भने कतिपय ठाउँमा अभियानका रूपमा गर्न सकिन्छ। स्क्रिनिङपछि थप उपचार जरूरी परेमा ठूला अस्पतालमा पठाउन सकिन्छ।

  • ६ बैशाख २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech