हेमोग्लोविनोप्याथी रोग सम्वन्धी चिकित्सक र स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

    • स्वास्थ्य पेज

  • ५ बैशाख २०८२, शुक्रबार

नेपालगन्जः लुम्विनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको आयोजनामा बाँकेमा चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुलाई हेमोग्लोविनोप्याथी (सिकलसेल, बिटाथालेसिमिया) रोग सम्वन्धी अभिमुखीकरण गराइएको छ ।

भेरी अस्पताल नेपालगन्जमा शुक्रबार आयोजित कार्यक्रममा विज्ञ चिकित्सक अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले हेमोग्लोविनोप्याथी सम्वन्धी प्रशिक्षण दिएका थिए ।

हेमोग्लोविनोप्याथी सम्वन्धी स्वास्थ्यकर्मीहरुको ज्ञान, सीप र धारणा अभिवृद्धि गरि सेवा प्रवाहमा सुदृढ गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

हेमोग्लोविनोप्याथी सम्वन्धी जनचेतना बढाई यसको रोकथाम र व्यवस्थापनमा यो अभिमुखीकरण कार्यक्रमले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहजता प्रदान गर्ने उनको भनाइ थियो ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदीले हेमोग्लोविनोप्याथी सम्वन्धी रोग अहिले भयावह बन्दै गएकाले यसको पहिचान र रोकथाममा जोड दिन आवश्यक रहेको बताए ।

सिकलसेल एनिमिया, थालेसिमिया जस्ता रोगको प्रभाव बाँकेसहित आसपासका जिल्लाहरुमा बढी रहेको उनको भनाइ छ । उनले हेमोग्लोविनोप्याथी रोगको उपचारका लागि भेरी अस्पतालले विशेष प्राथमिकता दिएको उल्लेख गरे ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख अंगत बहादुर शाहीले हेमोग्लोविनोप्याथी सम्वन्धी रोगको समुदायमा पहिचान तथा व्यवस्थापनका लागि स्वास्थ्य कार्यालयले सहजीकरण गर्दै आएको बताए ।

कार्यक्रममा भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, पालिका अस्पतालहरुका चिकित्सक तथा स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए ।

  • ५ बैशाख २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech