नेपालगन्जः सुर्खेत जिल्ला अदालतले २२ वर्षीया भिमा गुरुङ बलामीको उपचारमा कर्णाली प्रदेश अस्पतालले लापरबाही गरेको ठहर गरेको छ । गुरुङको २०८० चैत २९ गते अस्पतालमा निधन भएको थियो । साथै अदालतले पीडित परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश समेत दिएको छ।
घटनाको एक वर्षपछि २०८२ वैशाख ३ गते सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासबाट मृतकका श्रीमान् र छोरीले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराई पाउने अन्तिम फैसला आएको अदालतका सूचना अधिकारी उज्जलदेव रावलले जानकारी दिए।
भिमाका ससुरा धनबहादुर मगरले उपचारका क्रममा भएको त्रुटी, हेलचेक्राईं र लापरबाहीबाट नै मृत्यु भएको र क्षतिपूर्ति भराई पाउँ भन्दै ०८१ वैशाख १७ गते प्रदेश अस्पताल, अस्पतालका तत्कालीन निर्देशक डा. डम्बर खड्का र उपचारमा संलग्न डाक्टर ललितजंग शाहीविरुद्ध अन्तरकालीन आदेशको माग गर्दै मुद्दा दायर गराएका थिए।
०८१ वैशाख २१ गते उक्त मुद्दा उपर सनुवाई गर्दै भिमाको शव परीक्षण (पोष्टमार्टम) फरेन्सिक मेडिसिनका विशेषज्ञबाट गर्न अदालतको आदेश थियो। पछि फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती सुर्खेत आएर पोष्टमार्टमको नमुना संकलन गरी नेपालगञ्ज मेडिकल कलेजमा पठाएका थिए। सोही रिपोर्टलाई अदालतले आधार मानेको छ। पीडित पक्षबाट अधिवक्ता शेरबहादुर खत्रीले वहस गरेका थिए। फैसलापछि भिमाका श्रीमान् नवराज बलामीले चिकित्सकको लापरवाहीले भएको घटनालाई अदालतले न्याय दिएको बताए।
घटना विवरणः
तल्लो पेट दुखेपछि ०८० चैत २६ गते दैलेखको आठबीस नगरपालिका ५ पिपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामी दैलेखबाट सुर्खेत झरेकी थिइन्। २७ गते प्रदेश अस्पतालमा पुगेर भिमाले चिकित्सकलाई देखाइन्। चिकित्सकले पाठेघरमा सफा गर्न अप्रेसन गर्नुपर्ने भन्दै २८ गते आउन भने। भिमाका श्रीमान् नवराज नेपाली सेनामा बुटवलमा कार्यरत थिए। २८ गते नवराज पनि सुर्खेत पुगे। सोही दिन भिमा र नवराज अस्पताल पुगे। भिमा अस्पताल भर्ना भइन्। चैत २९ गते १ बजे उनको अप्रेसन गर्ने समय थियो। ठिक भइहाल्छ भन्दै चिकित्सकले सान्त्वना दिए।
रगत लगायत अप्रेसनमा चाहिने सामग्रीको बन्दोबस्त गरे नवराजले। १ बजे अप्रेसन कक्षमा लगिएकी भिमाको बारेमा चिकित्सकहरूले २ः ४५ बजे अवस्था अलि जटिल रहेको बताए। जब श्रीमतीको अवस्था बुझ्न नवराज भित्र जाँदा भिमाको श्वासप्रश्वास रोकिएर कृत्रिम श्वासप्रश्वास दिएको देखे। त्यसको १५ मिनेटमै अस्पतालले भिमालाई मृत घोषणा गर्यो। शव बुझ्न परिवारले मानेन।
चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै एक महिनासम्म उनका आफन्तले आन्दोलन गरे। एक महिनापछि मात्रै अदालतले विज्ञ टोलीबाट पोष्टमार्टम गर्ने अन्तरकालीन आदेश दिएपछि भिमाका आफन्तले शव बुझेर दाहसंस्कार गरेका थिए।