प्युठान अस्पतालको निर्माणाधीन पाँच तले भवन अलपत्र

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०८२, बिहीबार

प्युठानः प्युठान अस्पतालमा निर्माणाधीन पाँच तले भवन विगत छ महिनादेखि अलपत्र परेको छ । २१ करोड ३० लाख रुपियाँ लागतमा नेपालगन्जस्थित ग्रान्ड डिजाइन कन्स्ट्रक्सनले ठेक्का लिएर सुरु गरेको निर्माण कार्य हाल रोकिएको छ । १५ शय्याबाट ५० शय्यामा विस्तार गर्ने लक्ष्यसहित २०८० चैत ७ गते सुरु गरिएको निर्माण कार्य २०८३ जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य थियो ।

तर हालसम्म खास प्रगति नभएको अस्पताल प्रमुख डा. मनोज आचार्यले जानकारी दिए । “२०८१ फागुनमै निर्माणमा समस्या देखिएको भनेर सम्बन्धित निकायलाई जानकारी गराएका थियौं,” उनले भने, “तर ठेकेदार गणेश भुसाल सम्पर्कविहीन छन् ।” भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री, बालमैत्री र लिफ्टसहितको अन्डरग्राउन्ड पार्किङयुक्त भवन अलपत्र हुँदा स्थानीयवासी चिन्तित छन् ।

स्थानीय लवकुमार अधिकारीले विकासप्रतिको आशा फेरि अधुरो हुने आशङ्का व्यक्त गरे । प्युठान नगरपालिका–४, बिजुवारस्थित अस्पताल ३१ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ र २०४५ सालदेखि स्वास्थ्य सेवा दिँदै आएको छ ।

  • ४ बैशाख २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech