काठमाडौं २३, असोज ।
नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको हो। पछिल्लो २४ घण्टामा मात्रै देशभर २ हजार ५९ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउने ६०० पुगेका हुन्।
२४ घण्टामा ९ पुरुष र एक महिलाको मृत्यु भएको हो। झापाका २९ र ५२ वर्षीय पुरुष, सुनसरी ४६, ५२ र ६८ वर्षीय पुरुष, काठमाडौँका ७१ वर्षीय पुरुष र ८७ वर्षीया महिला, ललितपुरका ८४ वर्षीय पुरुष तथा रुपन्देहीका ४७ र ८४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शुक्रबार १ हजार ६ सय ८० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको छ।