कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गरिमामय एक दशक, पछिल्लो ४ वर्षका ३४ उपलब्धि

स्थापनाको १३ वर्ष पार गर्दै गर्दा प्रतिष्ठानले अनेकौं आरोह-अवरोह पार गरेको छ । कर्णाली अञ्चल अस्पतालबाट विश्वविद्यालयको स्वरूप धारण गरिसकेको छ ।


    • डा. मंगल रावल

  • २४ चैत्र २०८१, सोमबार

जुम्लाः २०६८ सालसम्म राजधानी काठमाडौं र पोखराभन्दा पश्चिम चिकित्साशास्त्र अध्ययन गर्ने कुन पनि विश्वविद्यालय तथा प्रतिष्ठान थिएन । यो परिस्थितिमा वि.सं. २०६८ सालको तत्कालीन व्यवस्थापिका संसदले ऐन जारी गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भयो ।

स्थापनाको १३ वर्ष पार गर्दै गर्दा प्रतिष्ठानले अनेकौं आरोह-अवरोह पार गरेको छ । कर्णाली अञ्चल अस्पतालबाट विश्वविद्यालयको स्वरूप धारणा गरिसकेको छ ।

प्रतिष्ठान स्थापनाको केही वर्ष अगाडि कर्णालीका धेरै जिल्लाको औसत आयु ५० वर्ष भन्दा कम थियो । कर्णालीमा समान्य रोगको उपचार कठिन पनि कठिन थियो । यस्तो अवस्थामा विशेषज्ञ सेवा त ‘आकाशको फल आँखा तरी मर’ भनेझैँ थियो ।

भौगोलिक रूपले मात्र पछाडि नभई स्वास्थ्य उपचारको पहुँचबाट कर्णालीका बासिन्दा निकै टाढा थिए । उपचार गर्न शहर झर्नुपरेमा घरबारबिहीन हुनुपर्ने तितो यथार्थ हामीमाझ थियो । आज त्यही कर्णालीको जुम्ला जिल्लामा एमबीबीएस, एमडी-एमएस, एमएचपी, एम–फर्मा, एमएन लगायत चिकित्सा सम्बन्धी विषयमा अध्यापन सुचारु छ । यो सफलताका पछाडि निकै ठूलो त्याग र तपस्या जोडिएको छ ।

मैले उपकूलपतिका रुपमा तेस्रो कार्यकालको नियुक्ति लिनुपूर्व प्रतिष्ठानमा दुई जना उपकुलपतिले आफ्नो कार्यकाल पूरा गर्नुभएको थियो । प्रतिष्ठान सुरुवातको प्रथम ४ वर्षमा ३०० बेडको अस्पताल निर्माण, प्रतिष्ठान लागि आवश्यक पर्ने जनशक्तिका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)मा ७–९ जना विशेषज्ञ चिकित्सक उत्पादन गर्ने कार्य अघि बढाइएको थियो ।

यसैगरी पूर्व उपकुलपतिको दोस्रो ४ वर्षे कार्यकालमा स्नातकोत्तर तहमा एमडीपी लगायत विषयको कार्यक्रम शुरु भएको थियो ।

शैक्षिक कार्यक्रमलाई वृहत्तररुपमा सञ्चालन गर्ने हेतुले विगत ४ वर्षमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चारवटा स्कूल अन्तर्गत स्नातक र स्नातकोत्तर तहमा विभिन्न विषयको पाठ्यक्रम तर्जुमा गरी अध्यापन सञ्चालन गर्दै आएको छ ।

तसर्थ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस अवधिमा शिक्षा, स्वास्थ्य र अनुसन्धान क्षेत्रमा हासिल गरेका उपलब्धिहरू गर्व गर्न लायक छन् ।

विगत ४ वर्षे कार्यकाललाई सम्झँदै गर्दा कार्यकालको संक्षिप्त आरोह अवरोहका बारेमा कुरा नगर्दा ४ वर्षको प्रगतिमाथि अन्याय गरेको ठहरिनेछ ।

मैले निमित्त उपकुलपति भई कार्य गर्दा र उपकुलपतिको नियुक्ति पश्चात् संस्थामा कार्यरत एकजना प्राध्यापकले सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेपछि स्थानीय राजनीतिक प्रतिशोध साँध्ने केही व्याक्तिले त्यसैमाथि राजनीति गरेर मिडिया, अदालत, सामाजिक सञ्जाल लगायत सबैतिरबाट दुःख दिने काम भयो ।

यसले गर्दा पहिलो वर्ष निश्चिन्त र स्वतन्त्र ढंगले कार्य गर्न सकिएन ।

दोस्रो वर्षमा स्वास्थ्य मन्त्री विरोध खतिवडाले उपकुलपति लगायत सम्पूर्ण पदाधिकारीलाई राजनीतिक प्रतिशोधबाट प्रेरित भई बर्खास्त गर्दा उच्च अदालत पाटनबाट मुद्दाको फैसला जितेर पुनर्बहाली हुनुपर्‍यो । नियुक्ति लगत्तै सरकार परिवर्तनले सम्पूर्ण जोश जाँगरमा धक्का लागेको तितो यथार्थलाई नकार्न सकिन्न ।

मेरो चारवर्षे कार्यकालमा अन्तिम दुईवर्ष मात्र तुलनात्मक रुपमा अवरोध र असहयोगबिना काम गरिएको यथार्थ भएपनि जस्तोसुकै कठिन परिस्थितिमा पनि मेरो टिम अगाडि बढेर कार्य गरेकाले आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यो उचाइ प्राप्त गरेको हो ।

नेपालको संविधान २०७२ ले ग्यारेन्टी गरेको स्वास्थ्य सेवामा समान पहुँच र इमर्जेन्सी सेवा निःशुल्क हुने कुराको सुनिश्चितता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता संस्थाहरू बलियो र प्रभावकारी रुपमा सञ्चालन भएमा मात्र सम्भव छ ।

समग्र विकासका सूचांकहरू जस्तै मानव विकास सूचांकको महत्वपूर्ण भाग र अविकसितबाट विकासोन्मुख देशमा स्तरोन्नतिको प्रमुख आधारमध्ये कुल राष्ट्रिय आय र मानव सम्पत्ति सूचांकसँगै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर महत्वपूर्ण रहन्छ ।

गर्दै यी सबै खालका सूचांकमा पछि परेको कर्णाली क्षेत्रमार्फत सिंगो देशको मानव विकास र स्वास्थ्यस्तर माथि उठाउने अभिप्रायले विगत चार वर्षबाट निरन्तर कडा परिश्रम र संघर्ष गरी आएको सर्वविदितै छ ।

चार वर्ष अगाडि साविकको कर्णालीमा रहेको एक प्रतिष्ठानमार्फत स्वास्थ्य शिक्षा (विशेष गरी एमबीबीएस लगायत) सुरु गर्न धेरैको मनस्थितिमा असम्भव प्राःय थियो । आज कार्यकालको समाप्तितिर पाँचौ ब्याच एमबीबीएस विद्यार्थी भर्ना भएका छन् । सोको अध्ययन अध्यापनका लागि १०० भन्दा बढी एमडी/एमएस, एमएससी, पिएचडी गरेका उत्कृष्ट चिकित्सकहरू प्रतिष्ठानमा कार्यरत छन् ।

प्रतिष्ठानको स्थायित्वका लागि आवश्यक पर्ने आर्थिक श्रोत, स्थायी शिक्षक तथा कर्मचारी, पर्याप्त बिरामीको संख्या, आवतजावतमा सहजीकरण र राज्यको पर्याप्त र आवश्यक सहयोगका लागि कुनै पनि कसुर बाँकी नराखी विगत ४ वर्षे कार्यकालमा स्पष्ट देखिने गरी उपलब्धिहरू हासिल भएका छन् । तथापि, प्रतिष्ठान अझ उचाइमा जान सक्ने ठाउँ र सम्भावनाहरू पर्याप्त छन् ।

मेरो कार्यकाल सुरुवातको समयमा प्रतिष्ठानले केही बाधा, अवरोध सामना गर्नु परे पनि हाल आएर समिक्षा गर्दा आफ्नो तर्फबाट भएका प्रयास र उपलब्धिले सन्तुष्टी प्रदान गरेको छ ।

विगत ४ वर्षमा संस्थागत रुपमा सञ्चालन गरेका क्रियाकलापलसमग्र कर्णाली बासीलाई लाभ पुर्‍याएको छ भने प्रतिष्ठानको शिक्षा, स्वास्थ्य, अनुसन्धान, एड्भोकेसी र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा निम्नानुसार प्रगति भएका छन् ।

चिकित्सा शिक्षा र अनुसन्धानतर्फ उपलब्धि

१. प्रतिष्ठानको मेरुदण्ड भनिएको एमबीबीएस कार्यक्रमको सुरुवात भएको छ । चिकित्सा सेवा आयोगले इन्सपेक्सन गरी शुरुको वर्षमा २० सिट प्रदान गरेको थियो ।

दोस्रो ब्याजमा ३० सिट, तेस्रोमा ३० सिट, चौथो र पाँचौंमा ५०–५० सिट गरी विगत ४ वर्षमा गरी जम्मा १८० जना विद्यार्थी एमबीबीएस अध्ययनरत छन् ।

एमबीबीएस कार्यक्रमको समुद्घाटन तत्कालीन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामै उपस्थित भएर गर्नुभएको थियो ।

सँगै नियुक्ति भएर जिम्मेवारीमा रहेका र सँगै स्थापना भएका अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठानले यो वर्ष सन् २०२४ मा मात्रै एमबीबीएस सुरु गर्दा हामीले चालू वर्षसमेत गरी पाँचौं ब्याच भर्ना गर्नसक्नु महत्वपूर्ण उपलब्धिको रुपमा लिएका छौं ।

यो एमबीबीएस कार्यक्रमलाई प्रथमपटक सम्बन्धन दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने तत्कालीन चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्रधानमन्त्री के. पी. शर्मा ओली, तत्कालीन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी, निर्देशकहरू डा. दिलीप शर्मा, डा. आरती शाह, डा. रमेश आचार्य र डा. सुगरत्न बज्राचार्यलाई विशेष धन्यवाद दिन चाहन्छु ।

५० सिटमा अपग्रेड गर्न महत्वपूर्ण भूमिका खेल्ने हालका उपाध्यक्ष लगायत सम्पूर्णमा पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

२. प्रतिष्ठानमा चारवटा महाविद्यालय स्थापनापश्चात स्कुल अफ मेडिसिन, स्कुल अफ फार्मेसी, स्कुल अफ पब्लिक हेल्थ र स्कुल अफ नर्सिङ चारै विधामा स्नातकोत्तर कार्यक्रम सुरुवात गरिएको छ ।

स्कुल अफ मेडिसिन अन्तर्गत सन २०२१ मा एमडीजीपी, एमडीमा पेडियाट्रिक र एनेस्थेसिया सुरु भयो । २०२२ मा एमएस अर्थाोपेडिक र ट्रमा सर्जरी, एमडीमा मेडिसिन र एमबीबीएस सुरुभयो ।

२०२४ मा एमडी जनरल सर्जरी, एमडी एनाटोमी सुरु गरियो । स्कुल अफ पब्लिक हेल्थ अन्तर्गत २०२३ मा मास्टर इन पब्लिक हेल्थ(एमएचपी) सुरु गरियो ।

त्यसैगरी स्कुल अफ फार्मेसी अन्तर्गत २०२२ मा बी.फर्मा र मास्टर इन फर्माकोलोजी सुरु भयो । २०२४ मा मास्टर इन फर्माकोग्नोसी एण्ड फाइटोकेमेस्ट्री सुरुवात गरियो । स्कुल अफ नर्सिङ अन्तर्गत बीएसी नर्सिङको पढाइ सुरुभयो ।

२०२४ मा मास्टर इन डब्लुएचडी/मेन्टल हेल्थ नर्सिङ, मास्टर इन एडल्ट/मेडिकल सर्जरी, नर्सिङ र मास्टर इन पेडियाट्रिक/चाइल्ड हेल्थ नर्सिङ सुरु गरियो ।

यसरी ३ वटा स्कुल अन्तर्गत स्नातकोत्तर तहको ११ विषयमा ५ सिटबाट सुरु गरी २६ सिट अध्यापन गराउने स्तरसम्म प्रतिष्ठान पुगेको छ ।

३. प्रतिष्ठानको मेरुदण्डका रूपमा रहेका स्नातक तहका कार्यक्रममा पनि उल्लेख्य वृद्धि भएको छ ।

बीएन(मिडवाइफरी), जो अहिले बन्द हुने स्थितिमा छ, र बीपीएच मात्र अध्ययन भइरहेको प्रतिष्ठानमा विगतमा ४ वर्षमा मात्रै बीएससी नर्सिङ, बीएन लगायतका स्नातक कार्यक्रम सञ्चालनमा छन् । प्रतिष्ठानको बीपीएच र नर्सिङका विद्यार्थीले काउन्सिल लाइसेन्स परीक्षामा हालसम्म शतप्रतिशत नतिजा प्राप्त गरेका छन् । यसले प्रतिष्ठानको शैक्षिक गुणस्तर उत्कृष्ट रहेको प्रमाणित गर्दछ ।

४. प्रतिष्ठानमा करिब १५ भन्दा बढी कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको छ । करिब ४० को संख्यामा रहेका शिक्षकहरू अहिले १०४ भन्दा बढी पुगिसकेका छन् भने निकट भविष्यमा नै लोकसेवा आयोगबाट करिब ५० भन्दा बढी शिक्षकहरू स्थायी रुपमा नियुक्ति हुने सुनिश्चितता गरिएको छ ।

कठिन परिस्थितिमा पनि १६ वटा विभिन्न कार्यक्रम सञ्चालनार्थ सम्पूर्ण शिक्षकको व्यवस्था गर्न कम्ति चुनौतिपूर्ण थिएन ।आधारभूत विज्ञान विषयका आवश्यक फ्याकल्टीको व्यवस्थापन गर्नका लागि व्यक्तिगत पहल, भत्ता बढाउने व्यवस्था, स्थायी प्रक्रियाको सुरुवात, करारलाई कार्य सम्पादन करारमा लगिने व्यवस्था भएको छ ।

दुई वर्षे कबुलियतनामा गरेर मन्त्रालयबाट नेपाल सरकारको छात्रवृत्तिमा पढेका चिकित्सकहरूलाई प्रतिष्ठानको अनुरोध अनुसार पोष्टिङ हुने व्यवस्था मिलाइएको छ । यसै वर्ष मात्र १० जना छात्रवृत्तिमा अध्ययन पूरा गरेका विशेषज्ञ चिकित्सको प्रतिष्ठानमा पोष्टिङ भएको छ ।

नेपाल सरकारका स्थायी विशेषज्ञहरू पनि प्रतिष्ठानको आवश्यकताका आधारमा मन्त्रालयले पोष्टिङ गरी थप सहयोगको शुरुवात भएको छ जस्अनुसार केही न्युरो सर्जन र प्याथोलोजिस्ट लगायत जनशक्ति सेवा प्रतिष्ठानले प्राप्त गरेको छ ।

यति प्रयासमा पनि आवश्यक जनशक्ति, विशेषगरी (एमडी/एमएस गरेका बेसिक/क्लिनिकल साइन्सका चिकित्सकहरू) व्यवस्थापनमा कठिनाइ हुने हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायतका प्रतिष्ठानसँग हाम्रै पहलमा स्वास्थ्य मन्त्रालयमा औपचारिक एमओयू गरिएको छ । जसअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.शैलेश अधिकारीले लामो समय प्रतिष्ठानमा सर्जरी विभागमा सेवा र अध्यापन गर्नु भएको छ।

यसैगरी यस्तै प्रकृतिका एमओयू अन्य प्रतिष्ठानहरूका बीचमा पनि भइरहेको छ । यस किसिमको सहयोगको आदान–प्रदान गर्ने कार्यक्रमले भविष्यमा अन्य प्रतिष्ठानबाट पनि आवश्यक जनशक्ति उपलब्ध भई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा गर्ने अवसर प्राप्त हुनेछ ।

५.१४ वटा घर भाडामा लिएर सञ्चालनमा ल्याइएको शैक्षिक कार्यक्रमहरूलाई ३९ कोठा सहितको सात तलाको नवनिर्मित आधुनिक शैक्षिक भवनमा स्थानान्तरण गरिएको छ । अब हाम्रा विद्यार्थी आफ्नै भवनमा अध्ययनरत छन्, स्कूल अफ फार्मेसीका कार्यक्रम पनि प्रतिष्ठानको आधुनिक शैक्षिक भवनमा सुचारू गर्न पहल भइरहेको छ ।

६. प्रतिष्ठानको शिक्षणका लागि आवश्यक पर्ने बेसिक साइन्सका एनाटोमी, फिजियोलोजी, बायो केमेस्ट्री प्रयोगशाला स्थापना गरिएको छ । थप प्रयोगशाला स्तरोन्नतिका लागि यसै वर्ष बजेट सुनिश्चित भएको छ ।

७. प्रतिष्ठानका शिक्षक, विद्यार्थीका लागि ज्ञानसीप परिमार्जित र परिस्कृत गर्ने ध्येयले विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय तालिम, वर्कसप, सेमिनार तथा सम्मेलनहरू आयोजना गरिएको छ । महत्त्वपूर्ण तालिमहरू नियमित सञ्चालनमा छन् भने राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट ‘ट्रेनिङ साइट’ का रुपमा मान्यता पाउने अन्तिम चरणमा पुगेको छ । यसका अलावा ग्रामीण स्वास्थ्यको केन्द्र भएका हिसाबले ६ दिने ग्रामिण स्वास्थ्य कोर्स सुरु गरिएको छ ।

हावर्ड विश्वविद्यालयको म्यासाचुसेट्स जनरल अस्पतालको सहयोगमा नेपालमा पहिलो पटक सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरियो ।

रोयल कलेज अफ सर्जन अफ एडिनबर्ग र नेपाली डक्टर्स एसोसिएसन, युकेको सहकार्यमा आधारभूत शल्यक्रियाको सीप सम्बन्धी कोर्स तथा ल्याप्रोस्कोपिक कोर्स सञ्चालन गरिएको थियो । मेरुदण्डसँग सम्बन्धित चिकित्सकहरूको सम्मेलनदेखि विभिन्न विभागहरू मार्फत विभिन्न समयमा आवश्यक शैक्षिक गतिविधिहरू सुरुवात गरिएको छ ।

८. प्रतिष्ठानका विद्यार्थीहरूको छोटो अवधिको पोस्टिङका लागि र आवश्यक ज्ञान सेवा आदान-प्रदान गर्ने हेतुले विभिन्न अस्पताल, विश्वविद्यालय र संस्थाहरूसँग एमओयू सम्पन्न गरी आदान-प्रदान कार्य सुरुवात गरिएको छ । यसमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी तीन दर्जन भन्दा बढी, अस्पताल, विश्वविद्यालय र संस्था रहेका छन् ।

९. प्रतिष्ठानले आगामी दिनमा सुचारु गर्ने कार्यक्रम अन्तर्गत एमडीका केही विषय, एमडीएस, बीएमएलटी, ग्रामिण स्वास्थ् लगायत विषयको पाठ्क्रम निर्माण रहेका छन्। पाठ्यक्रम निर्माणका लागि गोष्ठीको समेत आयोजना गरिएको थियो ।

१०. प्रतिष्ठानमा क्लिनिकल फ्याकल्टीहरू टिकाइराख्न मुस्किल भएको कुरालाई मध्यनजर गरी डक्टर अफ नेपालको आर्थिक सहयोगमा माथिल्लो कर्णालीका ४ जना महिलालाई एमडी/एमएसको छात्रवृत्ति उपलब्ध गराइएको छ । जसमध्ये प्रसूति तथा स्त्री रोगमा जुम्ला निवासी डा. सिर्जना रावल र डा. नमिता कडेल, मनोचिकित्सामा कालिकोटबाट डा. ज्वाला र एमडीजीपीमा मुगुवाट डा. मिना काफ्लेलाई छनोट गरिएको छ ।

उहाँहरूले एमडी/एमएस पढाइपश्चात् कम्तिमा ३ वर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा गर्नु पर्नेछ ।प्रतिष्ठानमा क्लिनिकल विषयका विशेषज्ञ चिकित्सक टिकाउन यो महत्वपूर्ण प्रयास भएको छ ।

११. आजको समयमा नेटवर्किङबाट हुने अप्रत्यक्ष लाभ र विद्यार्थी बीचको सहकार्य बढाउने हिसाबले पहिलो राष्ट्रिय चिकित्सा खेलकुद प्रतियोगिता-२०२४ आयोजना गरियो । एक हप्तासम्म सातवटा विभिन्न मेडिकल कलेज, प्रतिष्ठानका विद्यार्थी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएर सहभागी भए ।

देशभरका करिब १००० भन्दा बढी विद्यार्थी सहभागी प्रतियोगिताले प्रतिष्ठानको पहिचानमा थप वृद्धि भएको छ । यस प्रतियोगिताले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास छ ।

१२. शैक्षिक ज्ञान आदान-प्रदान गर्नका लागि देशविदेशका शिक्षक तथा विद्यार्थीहरूलाई सर्ट टर्म, लङ टर्म पोस्टिङमा प्रतिष्ठानमा आउने प्रक्रिया सुरु भएको छ। जसमा हावर्ड विश्वविद्यालय अमेरिका, ब्राउन विश्वविद्यालय अमेरिका, ह्युस्टन मेडिकल स्कूल टेक्सास युनिभर्सिटी अमेरिका, युनिभर्सिटी अफ साउदर्न डेनमार्क, जोन हप्किन्सन युनिभर्सिटी, रोयल कलेज अफ सर्जन्स एडिनबर्ग, जेम्स ग्याजेट अस्पताल, युके युनिभर्सिटी अफ न्युफाउन्डल्यान्ड क्यानडा, क्लिकुट स्विजरल्यान्ड लगायत प्रतिष्ठित प्राध्यापक शिक्षक र चिकित्सा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएर गेष्ट लेक्चर लिने कार्यशालाहरूमा सहभागी भई ज्ञान आदान-प्रदान गरिएको थियो ।

यसैगरी प्रतिष्ठानको उपकुलपतिको हैसियतमा अमेरिका, मलेसिया, बेलायत, चीन लगायत विश्वका धेरै विश्वविद्यालयमा प्रतिष्ठानको बारेमा ज्ञान आदान-प्रदान गरिएको छ ।

१३.प्रतिष्ठानमा प्रथम पटक प्रथम दीक्षान्त समारोह यही २०८१ कार्तिक २८ गते आयोजना गरिएको थियो । जसमा प्रतिष्ठानका कुलपति सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा र हावर्ड युनिभर्सिटी क्याम्ब्रिज हेल्थ एलायन्सका पूर्व निर्देशक डाक्टर विस्टिन मेसेगरको प्रमुख अतिथ्यतामा ५८ जना विद्यार्थी दीक्षित भएका छन् ।

१४. प्रतिष्ठानमा फ्याकल्टी तथा कर्मचारीको स्थायित्व दिने हिसाबले कैयौंपटक लोकसेवा आयोगको पूर्णबैठक छलफल, स्वास्थ्य, सामान्य र अर्थ मन्त्रालयसँग समन्वय गरी प्रथम पटक १७३ जसमध्ये ७५ जना फ्याकल्टीको लोकसेवा मार्फत पदपूर्ति सुचारु गरियो ।

जसमा कार्य सम्पादन मूल्याङ्कन अन्तर्गतका शिक्षक कर्मचारीको बढुवाको प्रकृया अन्तिम चरणमा पुगेको छ । विगत ८-९ वर्षबाट अवरुद्ध बढुवा र पदपूर्ति प्रक्रिया सुचारु गर्नु महत्वपूर्ण उपलब्धि रहेको छ । नेपालमा रहेका प्रतिष्ठानहरूमध्ये पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि लोकसेवामार्फत स्थायी पदपूर्ति गर्ने दोस्रो प्रतिष्ठान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ ।

१५‍.प्राज्ञिक संगठनहरूको तर्फबाट प्राज्ञिक परिषद्को बैठक नियमित भइरहेको संस्थागत समीक्षा वोर्ड पुनर्गठन गरेर सक्रिय बनाएको, पाठ्यक्रम समिति र परीक्षा समिति बनाएर निरन्तर कार्यरत रहेको अवस्था छ ।

१६. प्रतिष्ठानको सभाको बैठक नियमित सञ्चालन भइरहेको छ । प्रतिष्ठानको सभा काठमाडौं र जुम्ला दुवै स्थानबाट नियमित सञ्चालन गरिएको छ ।

१७. प्रतिष्ठानको आफ्नै वैज्ञानिक जर्नल ‘जर्नल अफ कर्णाली एकेडेमी अफ हेल्थ साइन्स’ प्रत्येक ४-४ महिनामा नियमित प्रकाशित भइरहेको छ । प्रतिष्ठानका शिक्षकहरूले नियमित रुपमा अनुसन्धान कार्यहरू अगाडि बढाइएको छ । अनुसन्धानमा बढवा दिने हेतुले १५ लाख वार्षिक वजेट सहित प्रतिष्ठानमा रहेर अनुसन्धानमा संलग्न हुने शिक्षक कर्मचारीहरूका लागि रिसर्च ग्रान्टको व्यवस्था गरिएको छ ।

१८. कर्णाली क्षेत्र बहुमूल्य जडीबुटीको खानी रहेको कुरालाई मध्यनजर गर्दै औषधीय वनस्पति अनुसन्धान केन्द्र निर्माणका लागि प्रस्ताव तयार पारी बजेटका लागि विभिन्न निकायमा पहल भइरहेको छ।

१९. ५० जना क्षमताको कर्मचारी क्वाटर निर्माण सम्पन्न भएको छ । चैत मसान्तबाट प्रयोग गर्न सकिन्छ ।

अस्पतालतर्फ

१.अस्पतालमा थप छालारोग, नाक कान घाँटीरोग, वाल दन्तरोग विशेषज्ञ सेवा विस्तार गरिएको छ । नाक, कान घाँटीको अपरेसन सेवा सुचारु गरिएको छ ।

२.तिलगंगा नेत्र प्रतिष्ठानको समन्वयमा नेत्ररोग केन्द्र स्थापना गरिएको छ । तिलगंगा र रुडल फाउन्डेसनको आर्थिक सहयोगमा आउँदो वर्ष २ हजार जनाको मोतियाबिन्दुको नि:शुल्क अप्रेसन हुने सुनिश्चितता मिलेको छ । अस्पतालमा सर्जिकल रेटिना फेलोसिप प्राप्त गर्नका लागि चिकित्सकको व्यवस्था गरिएको छ ।

३. दोस्रो त्रैमासिकमा गरिने गर्भपतन सेवा निरन्तर सुचारु गरिएको छ ।

४. लामो समयदेखि समस्याको रूपमा रहेको फोहोर मैला व्यवस्थापन पूर्णरुपमा गरिएको छ भन्ने फोहोरको रिसाइकल गर्ने प्रक्रिया सुरुवात गरिएको छ ।

५. प्रतिष्ठानले कर्णाली प्रदेशका १० र सुदूरपश्चिमका ३ जिल्ला गरी कुल १३ जिल्लामा आवश्यकताका आधारमा विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ । यसमध्ये मुगु जिल्ला अस्पताल, हुम्ला, रुकुम, डोल्पा, दैलेख राकम, कालिकोट लगायतका अस्पतालमा प्रतिष्ठानका चिकित्सकहरू समय समयमा पुगेर निरन्तर रुपमा कुनै न कुनै समयमा सेवा दिइरहेका छन् ।

६.प्रतिष्ठानलाई पूर्ण डिजिटलाइजेसनतिर लानका लागि विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम जडान गरी प्रयोगमा ल्याइएको छ ।

७.प्रतिष्ठानमा प्रथमपटक पोषण विज्ञमार्फत पोषण विभाग निर्माण गरिएको छ, जसका कारण चलिरहेको पोषण केन्द्रलार्इ थप स्तरउन्नति गर्न सहज भएको छ । विभिन्न जिल्लामा पोषण सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

८.प्रयोगशालालाई पूर्ण स्वचालित बनाएको छ । इमर्जेन्सी ल्याबको स्थापना गरिएको छ । चौबिसै घण्टा ल्याब्रोरोटरी सेवा निर्वाध सञ्चालनमा ल्याइएको छ ।

९.आठ दीर्घ रोगहरू मुटुरोग, क्यान्सर, मृगौला रोग, अल्झजाइमर, पार्किन्सन, टाउको तथा मेरुदण्डको बिरामी, सिकलसेल एनेमिया र स्ट्रोक सूचीकृत गरिएको छ । जसअनुसार उक्त रोगहरूको सरकारको नियमानुसार निःशुल्क उपचार निरन्तर सुरु भएको छ ।

१०.१८० वटा बेडमा अक्सिजन पाइपलाइन विस्तार गरिएको छ र नयाँ अक्सिजन प्लान्ट जडान गरिएको छ।

११.नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने स्वास्थ्य सेवाहरू निरन्तर सुचारु गरिएको छ ।

१२.प्रतिष्ठानमा उपचार गराउन आउने अधिकांश बिरामीहरू गरिबीको रेखामुनि हुने हुँदा उपचार खर्च बेहोर्न नसक्ने बिरामीहरूको लागि सामाजिक सेवा इकाईलाई सक्रिय र प्रभावकारी बनाईएको छ । विगत चार वर्षमा करिब १.५ करोडसम्मको नि:शुल्क उपचार गरिएको छ ।

१३.प्रतिष्ठानको ड्रीम प्रोजेक्टको रूपमा रहेको राकम कर्णाली अस्पताललाई नेपाल सरकार मन्त्रिपरिषद्‍बाट निर्णय भई हाल स्थापित आधारभूत अस्पताल मार्फत नै सेवा सुचारु गराउने ऐतिहासिक निर्णय भएको छ । यो अस्पताल पूर्णरुपमा सञ्चालन हुन सकेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आत्मनिर्भर हुने विश्वास छ ।

१४.विश्व स्वास्थ्य संगठनको सहकार्यमा अत्याधुनिक स्कील ल्याब अस्पतालमा स्थापना गरिएको छ । जसले गर्दा विद्यार्थीको सिकाइमा महत्त्वपूर्ण योगदान पुगेको छ ।

१५. ब्लड बैंक स्थापनाका लागि प्रतिष्ठानका उपकुलपतिले अमेरिका नेपाल मेडिकल फाउन्डेशनको २८औ वार्षिक कार्यक्रममा सहभागी भई सो स्थापनाका लागि पहल गरी रू १ करोड ३३ लाख ८० हजार सहयोग प्राप्त भइ खरिद प्रक्रियमा रहेको छ।

चुनौतीहरू

१. प्रतिष्ठानको केन्द्रीय कार्यालयमा रहेको अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सकहरू उपलब्ध हुन नसक्नु मुख्य चुनौती हो। धेरै उपया प्रयोग गर्दा पनि आवश्यक विशेषज्ञ व्यवस्थापन गर्न गाह्रो भएको परिस्थितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सक्रिय सहयोगको अपेक्षा राखिएको छ ।

२. प्रतिष्ठानमा भौगोलिक परिस्थितिले यातायात र विशेषगरी बाहिरबाट जाने शिक्षक, विद्यार्थीका लागि पर्याप्त आवासको अभाव रहेको छ । भौतिक पूर्वाधारको अभाव प्रतिष्ठानले खेपिरहेको छ ।

३.आवश्यक सेवा जस्ता ल्भगचयकगचनभचथ, ऋबचमष्बअ क्गचनभचथ सेवाको लागि जनशक्ति उपलब्धता कठिन छ र सोको लागि आवश्यक पूर्वाधार क्याथ ल्याब, एमआरआई लगायत उपकरणहरू बजेट अभावले उपलब्ध हुन सकेको छैन ।

४.राजनीतिक अस्थिरताले प्रतिष्ठान पनि प्रत्यक्ष मारमा परेको छ । विगत चार वर्षे कार्यकालमा ११ जना स्वास्थ्यमन्त्री परिवर्तन हुनु भएको कारणले आवश्यक सहकार्य र सहयोगको लागि प्रतिष्ठानले कठिनाइ महशुस गरेको गरेको छ ।

५.रकम कर्णालीमा ५० रोपनी जग्गा दैलेखका जनताले निशुल्क प्रदान गरी १.७२ अर्बको डीपीआर सहितको संरचना निर्माणको प्रक्रियामा बजेट अभावले सम्पन्न भएको छैन । त्यसैगरी करिब ५०० रोपनी जग्गा जुम्लाको चेरेचौरमा जुम्लाबासीले निशुल्क प्रदान गरी करिब ६ अर्बको डिपिआर निर्माण भइसकेको ७ वर्ष पुग्दा पनि आवश्यक भौतिक संरचना निर्माण गर्न सकिएको छैन।

भावी योजना

१. प्रतिष्ठानमा बिरामीको संख्या वृद्धि गर्न प्राज्ञिक कार्यहरूमा स्तरउन्नति गर्न राकम कर्णालीको अस्पताल लगायतको संरचना निर्माण गरी, प्रतिष्ठानको स्याटेलाइट अस्पताल पूर्ण रुपमा सञ्चालन गर्ने,

२.जुम्लाको चेरेचौरमा ५०० रोपनीमा रहेको जग्गामा डिपिआर अनुसार संरचना निर्माण गर्ने,

३.अस्पताल अपग्रेड गर्नका निम्ति एमआरआई, क्याथ ल्याब लगायतका उपकरणको व्यवस्था गरी अस्पताल स्तरउन्नति गर्ने,

४.सुर्खेत प्रादेशिक अस्पतालमा कुनै पनि प्राज्ञिक कार्यक्रम सञ्चालनमा नरहेको बेला उक्त अस्पतालसँग समन्वय गरी प्रतिष्ठानमार्फत प्रागिक कार्यक्रम सुचारु गर्ने।

५.विश्वभरिका विश्वविद्यालयसँग समन्वय गरी स्थापना गरी ग्रामीण स्वास्थ्यमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, ग्रामीण स्वास्थ्य समानता केन्द्र स्थापना गरी उत्कृष्टता केन्द्रका रुपमा विकास गर्ने ।

अन्तमा
प्रतिष्ठानको लक्ष्य अनुरुप स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा सम्बन्धित क्षेत्रमा अनुसन्धान गर्दै आत्मनिर्भर हुनेतर्फ लम्किरहेको प्रतिष्ठानलाई आत्मनिर्भर बनाउन प्रतिष्ठानको भावी योजना अनुरुप सहयोग गरिदिनु हुन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सम्पूर्ण सरोकारवाला निकायहरूलाई अनुरोध गर्न चाहन्छु।

विविध समस्याका बावजुद आफ्नो अमूल्य समय व्यवस्थापन गरेर यो सभामा उपस्थित भई हामीलाई हौसला प्रदान गर्नुहुने सम्माननीय प्रधानमन्त्री तथा कुलपतिज्यू, माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा सहकुलपतिज्यू लगायत बिद्धान सभा सदस्य र आमन्त्रित सभा सदस्यज्यूहरूमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट हार्दिक कृतज्ञता सहित सधन्यवाद ज्ञापन गर्दछु ।

अनलाइन खवरबाट

  • २४ चैत्र २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech