मनोसामाजिक परामर्श सेवाको दिगोपनाका लागि अन्तरक्रिया

    • स्वास्थ्य पेज

  • ७ चैत्र २०८१, शुक्रबार

नेपालगन्जः सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले मनोसामाजिक परामर्श सेवाको दिगोपनाका लागि स्थानीय सरकारसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपालगन्जमा शुक्रबार आयोजित कार्यक्रममा सामीका जिल्ला कार्यक्रम संयोजक कमल सिंह नेपालीले वैदेशिक रोजगारीबाट फर्केका ब्यक्ति तथा वैदेशिक रोजगारीका गएका व्यक्तिका परिवारलाई लक्षित गरी मनोसामाजिक परामर्श गर्दै आएको बताए । मनोसामाजिक परामर्शकर्ता पूजा भण्डारीले आफूले २७ वटा केश ह्याण्डल गरेको बताइन् ।

उनले मनोरोगको समस्या बढ्दै गएको भन्दै मनोपरामर्शले धेरै जना ’नर्मल’ अवस्थामा फर्किएको सुनाइन् । भण्डारीले मनोसामाजिक समस्या भएकाहरुसंग गोप्यरुपमा काउन्सिलिङ्ग गर्ने गरेको बताइन् । कार्यक्रमको अध्यक्षता वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबीले गरेका थिए । सामीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सूचनामा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श, न्यायमा पहुँच र निःशुल्क सीप सेवा प्रदान गरिरहेको छ ।

सामी कार्यक्रम ७७ जिल्लाका २६७ स्थानीय तहमा सञ्चालित छ । सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ । बाँकेमा हाल नेपालगन्ज, कोहलपुर, बैजनाथ र खजुरामा सामी कार्यक्रम सञ्चालनमा छ । नरैनापुर र जानकीमा अब सञ्चालनको तयारी गरिएको छ भने डुडुवा र राप्तीसोनारीमा सञ्चालनको प्रक्रिया थालिएको छ ।

  • ७ चैत्र २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech