नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय तह स्तरीय स्थानीय प्रतिकार्य द्रुत समिति र प्रतिकार्य टोली पुनर्गठन गरिएको छ । शुक्रबार आयोजित स्थानीय तह स्तरीय स्थानीय प्रतिकार्य द्रुत समिति र प्रतिकार्य टोली सम्बन्धि पैरवी कार्यक्रममा समिति र टोली पुनर्गठन गरिएको हो । पाँच सदस्यीय समिति संयोजकमा नगर प्रमुख प्रशान्त विष्ट तथा सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, विपद व्यवस्थापन शाखा प्रमुख दिपेन्द्र श्रेष्ठ, स्थानीय तहस्थित अस्पताल प्रमुख मेडिकल अधिकृत डा. शंकर केसी र सदस्य सचिवमा स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द छन् ।
यसैगरी ११ सदस्यीय द्रुत प्रतिकार्य टोलीमा स्वास्थ्य महाशाखा प्रमुख चन्द संयोजक तथा सदस्यहरुमा मेडिकल अधिकृत डा. केसी, जनस्वास्थ्य निरीक्षक राजन कुमारी शाही, सिनियर अहेब गोरखनाथ योगी, ल्याब टेक्निसियन गणेश थारु, सिनियर अनमी प्रेम कुमारी विसी, स्थानीय स्वास्थ्य संस्था प्रमुख प्रकाश श्रेष्ठ, वास प्रतिनिधि दिपेन्द्र श्रेष्ठ, तथ्यांक फोकल पर्सन विनोद कुमार विक, महिला स्वास्थ्य स्वयंसेविका अध्यक्ष प्रेमा शाही र जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत छन् ।
द्रुत प्रतिकार्य समिति र टोलीले विपद तथा महामारी व्यवस्थापन र अनुसन्धानमा काम गर्दछ । कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले विपद, महामारी, प्रतिकार्य योजना तथा काम, कर्तब्य र अधिकारबारे प्रस्तुतिकरण गरेका थिए । त्यस्तै विश्व स्वास्थ्य संगठनका फिल्ड अफिसर डा. गौरव डंगोलले प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रको प्रारुप, संरचना र काम, कर्तव्य तथा अधिकारबारे जानकारी गराएका थिए ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजना, द पेण्डेमिक फण्ड र विश्व स्वास्थ्य संगठनको सहकार्य तथा नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख चन्दले स्वागत गरेको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक शाहीले गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खड्का, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, वडा अध्यक्षहरु लगायत सरोकारवालाको उपस्थिति थियो ।