समयमै पत्ता लागेन र उपचार सम्भव भएन भने ‘मिर्गौला फेल’ पनि हुन सक्छ

    • डा. पुकारचन्द्र श्रेष्ठ/प्रत्यारोपण विशेषज्ञ

  • २ चैत्र २०८१, आईतवार

मिर्गौला रोग गम्भीर नहुँदै पत्ता लगाउन सकिन्छ । यदि समयमै पत्ता लागेन र उपचार सम्भव भएन भने दीर्घकालीन यो रोगबाट ‘मिर्गौला फेल’ पनि हुन सक्छ । जसले जटिलताका साथै अकाल मृत्यु पनि निम्त्याउन सक्छ । ‘मिर्गौला स्वास्थ्यबारे समयमै थाहा पाउँ, मिर्गौला बचाऔं’ भन्ने नाराका साथ आजकै दिन अर्थात् १३ मार्चमा विश्वभर विभिन्न कार्यक्रमका साथ मिर्गौला दिवस मनाइँदै छ ।

विश्वमा प्रत्येक १० जनामध्ये १ जनालाई मिर्गौलाको दीर्घकालीन रोग लाग्ने गर्छ । दक्षिण एसियाली मुलुकहरू जस्तै– भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायत मुलुकमा बढ्दो मधुमेह र उच्च रक्तचापका कारण पनि दीर्घकालीन मिर्गौला रोगको जोखिम बढी पाइएको छ ।

संसारभरि १० प्रतिशत जनसंख्या अर्थात् झन्डै ८५ करोडभन्दा बढीलाई दीर्घकालीन मिर्गौला रोग लागेको अनुमान छ । विशेष गरी वृद्धवृद्धा र मधुमेह लागेकाहरूमा ज्यादा देखिने यो रोगले न्यून र मध्यम आय भएका राष्ट्रमा पनि क्रमशः बढी आक्रान्त बनाउँदै गएको छ ।

सन् २००८ तिरको कुरा हो, विश्व स्वास्थ्य संगठनको एउटा अध्ययन प्रतिवेदनअनुसार नेपालजस्तो विकासोन्मुख मुलुकमा मिर्गौला फेल भएका मध्ये ९० प्रतिशतभन्दा बढीको केही महिनामै मृत्यु हुने गर्थ्यो । त्यसताका नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन र डायलसिस सेवा अत्यन्तै कम मात्रै उपलब्ध थियो । मिर्गौला प्रत्यारोपण गर्न छिमेकी देश जाने हैसियत नेपालीको पहुँचबाट बाहिर थियो भने सीमित मात्रै उपलब्ध डायलसिस सेवाको पनि पालो पाउनै असम्भवप्रायः थियो । बल्लतल्ल पालो पाएकाले पनि मासिक ४० देखि ५० हजार डायलसिसको खर्च धान्न सम्भव थिएन ।

सन् २००८ को अन्त्यतिर वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपणको सुरुवात भएसँगै मिर्गौला रोगीमा बाँच्ने आशा पलाउन थाल्यो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अंग फेल भएकाका लागि उपचार गर्ने छुट्टै विशिष्टीकृत अस्पताल खोल्ने निर्णयस्वरूप सन् २०१३ मा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्थापना भयो । यही नै देशभर डायलसिस र मिर्गौला प्रत्यारोपण विस्तार गर्ने आधार पनि बन्यो ।

देशका विभिन्न भागमा डायलसिस विस्तार गर्ने क्रममा पूर्वमा जनकपुर र पश्चिममा धनगढीको सरकारी अस्पतालमा केन्द्रले आफ्नै मेसिन तथा जनशक्ति उपलब्ध गराई डायलसिस सेवा स्थापना गर्‍यो । तत्पश्चात् डायलसिस मेसिन खरिद गर्न सरकारलाई सघायो र त्यसका लागि एक हजार जनाभन्दा बढी नर्स, चिकित्सक तथा अन्य प्राविधिकलाई तालिम दिई सेवा विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो ।

आज देशैभरि एक सयभन्दा बढी केन्द्रमा डायलसिस सेवा विस्तार भएको छ र करिब ८ हजार मिर्गौला फेल भएका बिरामीलाई नियमित डायलसिस गराई ज्यान बचाउन सम्भव भएको छ । यसरी नेपाल सरकारले मिर्गौला उपचारमा निःशुल्क सेवा उपलब्ध गराई देशवासीको ज्यान जोगाउने उदाहरणीय कार्य पनि गरेको छ ।

अंग दान र प्रत्यारोपणमा गम्भीर लैंगिक विभेद पाइएको छ । पंक्तिकारले वीर अस्पतालमा पहिलो ९९ जनाको मिर्गौला प्रत्यारोपण गर्दा ९० प्रतिशत दाता महिला र ९० प्रतिशत ग्रहणकर्ता पुरुष थिए । यति धेरै लैंगिक शोषण अरू क्षेत्रमा विरलै पाइन्छ । यसलाई न्यूनीकरण गर्न पुरुष अंगदातालाई आर्थिक सहायता दिने, महिला र पुरुष समाजको अस्तित्वमा समान हैसियत राख्छन् भनेर विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।

हाम्रो प्रत्यारोपणको नियमावलीमा मस्तिष्क मृत्युको अंगदाताबाट प्राप्त हुने मिर्गौला वितरणमा पुरुषलाई भन्दा महिलालाई ३ गुणा बढी अंग दिने व्यवस्था छ । हाल आएर अंग दान र प्रत्यारोपणको लैंगिक विभेदमा केही कमी अवश्य भएको छ । केन्द्रमा हालसम्मको तथ्यांक हेर्दा मिर्गौला प्रत्यारोपण भएकामा ग्रहणकर्ता ७९ प्रतिशत पुरुष छन् भने महिला २१ प्रतिशत रहेका छन् ।

मिर्गौलादातामा भने २८ प्रतिशत पुरुष र ७२ प्रतिशत महिला रहेका छन् । मस्तिष्क मृत्युबाट प्राप्त मिर्गौला वितरणमा महिलालाई प्राथमिकता दिइएको संसारमै अन्त कतै पनि छैन । यस्तो उदार कानुन र महिलाको स्वास्थ्यमा समान हक हित र अधिकारका लागि केन्द्रले निरन्तर प्रयास गर्दै आएको छ र सबैको सहयोग रहेमा मात्रै यो सम्भव हुन सक्छ ।

केन्द्र स्थापना भएको १२ वर्षमा १ हजार ४ सय जनाको मिर्गौला प्रत्यारोपण भई ९९ प्रतिशत सफलता हात परेको छ । हामीकहाँ मिर्गौला प्रत्यारोपण सेवा निःशुल्क छ । केन्द्रमा वार्षिक २ सय जनासम्मले यो सेवा पाइरहेका छन् । संसारकै धेरै प्रत्यारोपण हुनेमध्येमा नेपाल पनि पर्छ । मिर्गौला प्रत्यारोपणको वार्षिक माग करिब ३ हजारसम्म भएको तर उपलब्धता हेर्दा केन्द्रबाट ७० प्रतिशत (२ सय जना) र अरू अस्पतालबाट करिब एक सय जना गरी ३ सय संख्या मात्रै पुग्नु अत्यन्त न्यून संख्या हो ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकै अगुवाइमा देशका सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने कार्य भइरहेको छ । केन्द्रको नेतृत्वमा गण्डकीको पोखरामा र कर्णालीको सुर्खेतमा मिर्गौला प्रत्यारोपण सुचारु भइरहेको छ भने लुम्बिनीको नेपालगन्ज, सुदूरपश्चिमको धनगढी, बागमतीको हेटौंडा र भरतपुर, मधेशको वीरगन्ज र कोशीको विराटनगरमा पनि मिर्गौला प्रत्यारोपणका लागि तयारी भइरहेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको यस राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि उपयुक्त जमिन र आफ्नै भवनको खाँचो छ । देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नका लागि प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठानको मान्यता पाएमा प्रत्यारोपण केन्द्र पूर्ण रूपमा सक्षम बन्ने अपेक्षा गर्न सकिन्छ । सन् २००८ मा मिर्गौला फेल भएका मध्ये ९० प्रतिशतभन्दा धेरैको छोटो समयमै मृत्यु भएको तथ्यांकविपरीत यस केन्द्रमा मिर्गौला प्रत्यारोपण गरेका ९८ प्रतिशत र डायलसिसमा बसेका ९३ प्रतिशत बाँचिरहेका छन् । जसबाट नेपालमा मिर्गौला उपचारले फड्को मारेको प्रमाणित हुन्छ ।

मिर्गौला उपचारका केही निश्चित उपाय पनि रहेका छन् । जस्तो कि, नियमित शारीरिक व्यायाम गर्ने, शरीरलाई स्फूर्त राख्ने, खानामा पथ–परहेज गर्ने र शरीरको तौल नियन्त्रणमा राख्नु जरुरी छ । त्यसैगरी, धूमपान र मद्यपान नगर्ने, मधुमेह र उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने र चिकित्सकको परामर्शबिना एन्टिबायोटिक आदिको सेवन गर्नु हुँदैन । प्रशस्त मात्रामा पानी पिउने, कम्तीमा वर्षको एकचोटि मिर्गौला तथा अरू अंग स्वस्थ छन् कि छैनन् भनी चिकित्सकीय जाँच गर्ने बानी बसाल्न सक्यौं भने पनि केही हदसम्म यस रोगबाट बच्न सकिन्छ ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रले जग्गा प्राप्त गर्न सके ३ सयदेखि ५ सय बेडसम्मको भवन निर्माण गरी ५ गुणासम्म बढी डायलसिस र प्रत्यारोपण सेवा दिन सक्षम छ । यसका लागि स्वास्थ्य मन्त्रालयबाट अथक प्रयास नभएको होइन तर पनि किन हो कुन्नि संस्थाको भौतिक विकासका लागि सरकारी नेतृत्व उदासीन देखिन्छ । के कारणले बाधा अड्चन भएको हो, त्यो पहिल्याउनु पनि जरुरी छ ।

केन्द्रको सेवा विस्तार देशव्यापी बनाउन आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नका लागि प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन विगतका सरकारबाट पटक–पटक घोषणा नभएको पनि होइन तर पनि कार्यान्वयन भएको छैन । यति धेरै संख्यामा सेवा दिइरहेको संस्थाबाट जनशक्ति उत्पादन गर्न पूर्ण सक्षम भएको कसैबाट पनि नकार्न सकिँदैन । तर यस सेवालाई केन्द्रमा मात्र सीमित नराखी देशका सात वटै प्रदेशमा विस्तार गरी सबैको पहुँचमा ल्याउन सके मात्र सही अर्थमा गरिब नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उद्धार हुने थियो ।

  • २ चैत्र २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech