जयन्दु बाल सुधार गृहमा बालबन्दी बीच भएको झडपपछि घाइते भएकाहरुको अवस्था के छ ?

    • स्वास्थ्य पेज

  • १ चैत्र २०८१, शनिबार

नेपालगन्जः बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरमा रहेको जयन्दु बाल सुधार गृहमा बालबन्दीहरूबीच झडप हुँदा १५ जना घाइते भएका छन् । बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार उनीहरु सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ । कुटाकुटका क्रममा उनीहरुको हातखुट्टा, टाउको लगायतका अंगहरुमा चोट लागेपनि खतरामुक्त रहेको चिकित्सकलाई उध्रृत गर्दै डीएसपी पातलीले स्वास्थ्य पेजलाई जानकारी दिए ।

उनीहरूबीच शुक्रबार रातिदेखि विवाद सुरु भएको थियो। बाल सुधार गृहमा उत्पन्न तनाव अहिले नियन्त्रणमा आएको डीएसपी पातलीले जानकारी दिए । ‘अहिलेपनि म घटनास्थलमै छु उनले भने–‘अवस्था सामान्य छ । बालबन्दीहरु खाना खाने तयारीमा छन् ।’ बालबन्दीहरूले सुरक्षाका लागि खटिएका प्रहरीमाथि समेत इँटा प्रहार गरेका थिए । इँटा प्रहारबाट केही प्रहरी समेत घाइते भएको छन् ।

अहिलेपनि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त सुधार गृहमा २५५ जना बालबन्दी छन् । घटनापछि प्रहरीले २२ जनालाई नियन्त्रणमा राखेको छ । ३५ जनालाई आजै नौवस्था कारागारमा पठाइएको डीएसपी पातलीले बताए । बाल सुधार गृहमा १२ जना प्रहरी बस्दै आएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार बाल सुधार गृहमा आगजनी हुँदा भवनको दोस्रो तलामा क्षति पुगेको छ ।

आगो दमकलको प्रयोग गरेर नियन्त्रणमा लिइएको छ। ‘आगजनीका कारण भवनको दोस्रो तला काम नलाग्ने अवस्थामा पुगेको छ’ उनले भने । उक्त बाल सुधार गृहमा हरेक वर्ष झडपका घटना हुँदै आएका छन् । गत वर्ष भएको झडपमा एक जनाको मृत्यु भएको थियो। ‘बालबिज्याइँ’ मुद्दामा अदालतबाट सजाय पाएकाहरूलाई १८ वर्ष उमेर पूरा भएपछि पनि बाल सुधार गृहमै राख्ने गरिएको छ। जसका कारण पटक–पटक झडपका घटना दोहोरिने गरेका छन्।

  • १ चैत्र २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech