नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.१ दुवेरीमा समुदाय तहमा नसर्ने रोगको स्क्रिनिङ्ग शिबिर गरिएको छ । राप्तीसोनारी गाउँपालिका र स्वास्थ्य कार्यालय बाँकेको आयोजना र व्यवस्थापनमा गरिएको उक्त शिविरमा १२ जनामा मिर्गौलासँग सम्वन्धी समस्या भएका बिरामी भेटिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।
राप्ती नदी पारिका चुनाहा, खोकरी, सुनखरीलगायतका स्थानीयलाई दक्षित गरी शनिवार विकट दुवेरीमा शिविर गरिएको थियो । ६५ जनाको स्वास्थ्य चेकजाँच गरिएकोमा ६ जनामा सुगर र ११ जनामा प्रेसरको समस्या देखिएको पनि केसीले बताए । मिर्गौलाको समस्या देखिएका बिरामीहरुलाई थप परामर्शका लागि विशेषज्ञ चिकित्सकलाई भेट्न सुझाइएको पनि केसीले बताए ।
शिविरमा निःशुल्क रक्तचाप र मधुमेहको परिक्षण, मिर्गौला जाँच र उचाई अनुसारको तौल मापन गरि आवश्यक परामर्श सेवा प्रदान गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताए । पछिल्लो समय नसर्ने रोगको प्रभाव चुनौतिपूर्ण बनेपछि नेपाल सरकारले फागुन महिनालाई नसर्ने रोगको पहिचान र सचेतना फैलाउन अभियानकै रुपमा मनाउने घोषणा गरेको थियो ।
सोही कार्यक्रम अन्तगर्त नसर्ने रोगको स्क्रिनिङ्ग शिबिर गरिएको हो । शिविरमा स्वास्थ्य चौकी कुसुमका इन्चार्ज अमरसिंह महतरा, स्वास्थ्य कार्यालयका सीताराम थारु सिनियर अहेव हरिबहादुर वस्नेत लगायतका स्वास्थ्यकर्मीहरु परिचालन भएका थिए ।