नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले बिश्व मिर्गौला दिवसको अवसरमा सचेतना र्याली गरेको छ । साथै नसर्ने रोगको एक महिने अभियानको समेत आजै समापन गरिएको नेपालगन्ज उमपहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर वस्नेतलले बताए । नेपालगन्ज उपमहानगरपालिका कार्यालयबाट सुरु भएको र्याली बीपी चोक हुँदै नेपालगन्ज शिक्षण अस्पताल पुगि पुनः नेपालगन्ज उपमहानगरमा आएर समापन भएको थियो ।
पछिल्लो समय मिर्गौला स्वास्थ्य समस्या विकराल बन्दै गएको भन्दै स्वास्थ्यकर्मीहरुले सचेत हुन जरुरी रहेको औंल्याएका छन् । बदलिँदो जीवनशैली र खराब खानपिनका कारण मिर्गौला जोखिममा परिरहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । नियमित स्वास्थ्य चेकजाँचको अभावमा मिर्गौला फेल हुने समस्या जटिल स्वास्थ्य समस्याको रुपमा बढेको उनीहरुको तर्क छ ।
भेरी अस्पताल नेपालगन्जका मिर्गौला रोग विशेषज्ञ डा.सौरभ सिंह हमालले नियमित चेकजाँच गर्ने हो भने मिर्गौलालाई खराव हुनबाट जोगाउन सकिने बताए । त्यस्तै नेपालगन्ज उपमहानगरपालिका-२० का वडा अध्यक्ष कौशल धोबीले आफ्नो स्वास्थ्यबारे व्यक्ति आफै सचेत हुनु पर्ने बताएका छन् ।
त्यस अवसरमा जनप्रतिनिधि तथा कर्मचारीहरुको नि:शुल्क रक्तचाप र मधुमेहको परिक्षण,मिर्गौला जाँच र उचाई अनुसारको तौल मापन गरि आवश्यक परामर्श समेत प्रदान गरिएको थियो । मिर्गौला दिवसका दिन आयोजित उक्त कार्यक्रममा सरकारले फागुन महिनाभर चलाएको नसर्ने रोग पहिचानका लागि एक महिने अभियानको समेत समापन गरिएको थियो ।