मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोग उपचार सेवा सुरु

    • स्वास्थ्य पेज

  • २७ फाल्गुन २०८१, मंगलवार

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ उपचार सेवाको शुभारम्भ गरिएको छ । सेवाको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मङ्गलबार एक कार्यक्रमका बिच शुभारम्भ गरेका छन् । सेवा शुभारम्भ गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकार स्थापना भएपछि हेटौँडा अस्पतालको सेवा सुविधा बढ्दै जानुले प्रदेश सरकारको औचित्यलाई स्वास्थ्य क्षेत्रमा भएको विकासले पुष्टि गरेको बताए।

उनले प्रदेश सरकार मातहत आएकै कारण १३ वटै जिल्लाका अस्पतालको अवस्थामा सुधार हुँदै गएको बताए । त्यस्तै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले सङ्घीयता लागु भएपछि विशेष गरी स्वास्थ्य, शिक्षा क्षेत्रले ठुलो फड्को मारेको बताए। उनले हेटौँडा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारले थप मेडिकल उपकरण समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले जनतालाई सहज हुनेगरी गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्दै स्वास्थ्यकर्मीलाई अनिवार्य रूपमा ड्रेस लगाउन पनि सुझाव दिए। स्वास्थ्य मन्त्रालय सचिव डा. सुमित्रा गौतमले स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री र अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिइन् । प्रदेशका १३ वटै अस्पताललाई आम नागरिकलाई उत्कृष्ट सेवा दिन उनले आग्रह गरिन् ।

टिचिङ कार्डियो मनमोहन भास्कुलरमा अध्ययन गर्नुभएका मुटु रोग विशेषज्ञ डा विकेश श्रेष्ठबाट हेटौँडा दैनिक रूपमा मुटु जाँच सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए । क्याथ ल्याबको अभावले गर्दा अप्रेसन बाहेकका सबै मुटुको उपचार सेवा इसिजी, इको, टीएमटी, हल्टर, एविपी जस्ता परीक्षण हेटौँडाबाटै हुने उनले बताए । अस्पतालमा मुटु रोग विशेषज्ञ आएपछि मुटुको इको, इसिजी, टिएमटी जस्ता परीक्षण गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ ।

  • २७ फाल्गुन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech