नेपालगन्जः नसर्ने रोग न्यूनीकरणका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित नागरिक आरोग्य सेवा केन्द्रको सेवा विस्तार गरिएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं.८ ढकेरीबाट सेवा प्रदान गर्दै आएको केन्द्रको सेवालाई वडा नं.५ बिनौनामा पनि विस्तार गरिएको गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले जानकारी दिइन् ।
विस्तारित सेवाको उपाध्यक्ष थारुले सुभारम्भ गरेकी थिइन् । उनले आयुर्वेद उपचारले पार्ने सकारात्मक प्रभावका बारेमा आम नागरिकलाई सचेतना फैलाउन आवश्यक रहेका बताइन् ।
बदलिदो जीवनशैलीका कारण मानिसहरु विभिन्न रोेगहरुको संक्रमण बोकेर हिड्ने अवस्थामा पुगेको भन्दै उनले जीवनशैलीमा सुधार ल्याउन पनि सुझाव दिइन् ।नसर्ने रोगको न्युनीकरणका लागि सेवा विस्तार गरिएको उनले बताइन् ।
वडा नं.५ का वडा अध्यक्ष झगरु थारुले आफ्नै वडाबाट वडाबासीलाई सेवा प्रवाह गर्न पाउँदा खुसी लागेको बताए । आयुर्वेद उपचार पद्धति अन्त्यन्तै कम खर्चिलो पनि हुने भएकाले वडाबासीले लाभ लिने उनको भनाइ छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ बैद्य निरीक्षक सिताराम चौधरीले आयुर्वेद उपचार पद्धतिबारे आम नागरिकलाई जानकारी दिनु आवश्यक रहेको बताए ।
अव प्रत्येक महिनाको १५ गते राप्तीसोनारी गाउँपालिका वडा नं.५ विनौनाको वडा कार्यालयबाट सेवा प्रवाह गरिने केन्द्र प्रमुख अन्जना थारुले जानकारी दिइन् । उनले उक्त केन्द्रले ओपिडीसँगै जेष्ठ नागरिक सेवा, सुत्केरी आमाहरुलाई (६ महिनासम्मका) निःशुल्क दुग्धप्रर्धक औषधि वितरण लगायतका सेवा प्रवाह गर्नेछ ।
सेवा विस्तारसँगै केन्द्रले नसर्ने रोग सम्वन्धी स्वास्थ्य शिविर समेत गरेको थियो । शिविरमा १७७ जनाले सेवा लिएका थिए । त्यसक्रममा ५१ जनामा सुगर र २५ जनामा प्रेसर देखिएको थारुले जानकारी दिइन् ।