किन देखिन्छ युवा अवस्थामै क्यान्सर ?

    • डा. विनय ठाकुर/क्यान्सर रोग विशेषज्ञ

  • २३ फाल्गुन २०८१, शुक्रबार

आजकाल युवावस्थामै क्यान्सरको जोखिम बढेको पाइएको छ। बालबालिकामा पनि विभिन्न खालका क्यान्सर देखिने गरेको छ। जीवनशैलीमा लापरबाही र चेतनाको अभावले पनि युवावस्थामा क्यान्सर देखिन थालेको छ। जुनसुकै खालको क्यान्सर भए पनि सुरूमा वंशाणुगत कारणको कुरा हुन्छ। समग्रमा भन्ने हो भने क्यान्सर हुने १० प्रतिशत कारण वंशाणुगत नै हुन्छ।

फ्रान्सका चर्चित शासक नेपोलियन बोनापार्टलाई आमाशयको क्यान्सर भएको थियो। उनलाई वंशाणुगत कारणले क्यान्सर भएको पुष्टि भएको थियो। हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई क्यान्सर छैन। उनकी आमालाई डिम्बासयको क्यान्सर थियो। जोलीले जचाउँदा ९स्क्रिनिङ० वंशाणुगत कारणले उनलाई भविष्यमा क्यान्सर हुने सम्भावना ६० प्रतिशतसम्म देखिएको थियो। यो सम्भावना अन्त्य गर्न उनले स्तन र डिम्बासय निकाल्न शल्यक्रिया गराइन्।

यो एउटा ज्वलन्त उदाहरण हो वंशाणुगत कारणको।

वंशाणुगत कारणले क्यान्सर हुन सक्ने सम्भावना भएका व्यक्तिले बेलैमा स्क्रिनिङ गराउनुपर्छ। यसो गर्दा सम्भावित क्यान्सर रोकथाम गर्न सकिन्छ। वंशाणुगत कारणले २०–२५ वर्षको उमेरमै स्तन क्यान्सर भएका उदाहरणहरू नेपालमा पनि छन्। जोखिममा रहेका व्यक्तिले नियमित स्क्रिनिङ गर्नैपर्छ।

नेपालमा वंशाणुगत कारणले कति जनामा क्यान्सर भइरहेको छ भनेर यकिन बताउन सकिँदैन। नेपालमा यस किसिमको अनुसन्धान समेत छैन। विश्वको अनुसन्धानलाई आधार मान्ने हो भने क्यान्सरका बिरामीमध्ये १० प्रतिशतलाई वंशाणुगत कारण देखिएको छ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा आएका बिरामीलाई आधार मान्ने हो भने पाँच प्रतिशतसम्मलाई वंशाणुगत कारणले क्यान्सर हुन्छ भन्न सकिन्छ। यो तथ्यांकमा रक्त क्यान्सर समावेश छैन।

नेपालमा आमासयको, फोक्सोको र थाइरोइडको क्यान्सर हुनुमा वंशाणुगत कारण प्रमुख देखिएको छ। कसैलाई भाइरल हेपाटाइटिस भएको छ भने त्यस्ता व्यक्तिले बेलाबेला स्क्रिनिङ गराउनुपर्छ।

बाल्यकालमा हेपाटाइटिस भएको छ भने युवावस्थामा क्यान्सर हुन सक्ने भएकाले चिकित्सकको परामर्शमा स्क्रिनिङ गराउनुपर्छ। क्यान्सरको अर्को कारण वातावरण प्रदूषण पनि हो। प्रदूषणबाट बच्न व्यक्तिगत सतर्कता अपनाउनुपर्छ। प्रदूषण नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्छ।

कतिपय ठाउँको पानीमा एचपाइलोरी (हेलिकोब्याक्टर) हुन्छ। यस्तो पानी पिउँदा पेटमा अल्सर हुने र बेलैमा उपचार नभए क्यान्सर हुने सम्भावना हुन्छ।

भारतको गंगा नदीको पानीमा पित्तथैलीको क्यान्सर हुने जीवाणु पाइएको छ। यो नदीमा मिसिने खोलाहरूको पानी खानेलाई समेत क्यान्सर भएको पाइएको छ। बाल्यावस्थामै वा किशोरावस्थादेखि नै गुट्खा, पान, सूर्ति, चुरोट खाएका व्यक्तिलाई युवावस्थामै क्यान्सरको जोखिम हुन्छ। नेपालको तराई-मधेसका युवाहरूमा यस्तो जोखिम निकै बढी छ।

अमेरिकन क्यान्सर सोसाइटीले हरेक व्यक्तिले ५० वर्ष उमेर कटेपछि स्क्रिनिङ गराउनुपर्छ भनेको छ। महिलाको हकमा ४० वर्ष उमेरमै स्क्रिनिङ गराउन सल्लाह दिइएको छ।

महिलालाई पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको जोखिम बढी हुन्छ। यस्तो जोखिममा रहेका महिलाले २०–२५ वर्षको उमेरदेखि नै वा अझ कम उमेरमै पनि स्क्रिनिङ गराउनुपर्छ। अनुशासित जीवनशैली अपनाउने र बेलैमा स्क्रिनिङ गराउने हो भने ६५ प्रतिशत क्यान्सर रोकथाम गर्न सकिन्छ।

जोखिममा हुनेले कम उमेरमै र त्यसपछि समय–समयमा स्क्रिनिङ गराउनुपर्छ। सुरूआती अवस्थामै क्यान्सर पत्ता लगाउन सकियो भने उपचार गर्न सजिलो हुन्छ।

(वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विनय ठाकुर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनमा कार्यरत छन्।) 

  • २३ फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech